काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपाल पराजित भएको छ। नेपालका उम्मेदवार शम्भु आचार्यले १० मध्ये २ मत मात्र पाए। बंगलादेशका प्रधानमन्त्रीकी छोरी समेत रहेकी सैमा वाजिद निर्वाचित भएकी छिन्।
भारतको नयाँदिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए।
वाजिदले १० मध्ये ८ भोट पाउँदै निर्देशकमा चयन भएकी छन्। नयाँ निर्देशकमा चयन भएकी वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत थिइन्। उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ। हाल भारतले दक्षिण एसिया निर्देशक चलाइरहेका छ।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्। यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गरेका थिए।