एजेन्सी- सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ। मुटु प्रत्यारोपण गरेको ६ हप्तामा ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो। शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो। तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरले बताएको हो।
हर्ट फेलियर भएपछि उनलाई सेप्टेम्बर १४ मा फसेट अस्पतालमा भर्ना गरिएको थियो। मुटुको पुरानो रोगका कारण उनमा परम्परागत रुपमा मानव मुटु हाल्न नमिल्ने भएको थियो। यस्तोमा उनीसामु जेनोट्रान्सप्लान्ट अर्थात् सुँगुरको मुटु हाल्नुको विकल्प थिएन। सुरुमा उनमा राम्रो प्रगति देखियो। एक महिनासम्मको प्रगति हेरेर मुटुको कार्य सञ्चालनलाई टेवा दिने औषधि पनि बन्द गरियो।
तर पछि ‘अर्गन रिजेक्शन’ देखिन थाल्यो। अमेरिकामा मात्रै हरेक दिन अंग दाता नपाएर १७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। मानव अंगको विकल्प खोज्दै वैज्ञानिकहरूले सुँगुर लगायत जनावरहरूको जिनमा संशोधन गरेर यसलाई मानवमा प्रत्यारोपण गर्ने प्रयास गरिरहेका छन्।
यस अघि सन् २०२२ को जनवरीमा ५७ वर्षका डेभिड बेन्नेटमा पनि सुँगुरको मुटु हालिएको थियो। सुरुमा केही समस्या नदेखिएपनि मुटु प्रत्यारोपण गरेको २ महिनामा उनको मृत्यु भएको थियो।