बाथ ज्वरो र बाथ मुटुको रोगको परिचय
३ देखी १५ वर्ष कलिलो उमेरमा बराबर घाँटी दुख्ने हुनसक्छ। घाँटी दुख्ने गरेका केटाकेटीहरुलाई घाँटी दुखेको १ देखी ४ हप्ताभित्र एक किसिमको ज्वरो आउन सक्छ। यो ज्वरो आउँदा एक पछि अर्काै गरी गोडामा ठूलो जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन्।
यसरी जोर्नीहरु प्रभावित हुने ज्वरोलाई बाथ ज्वरो भनिन्छ। यस ज्वरोको कारणले पछि गएर ५० प्रतिशत भन्दा बढी बालबालिकाहरुलाई मुटुको भल्भहरु खराब हुने रोग लाग्छ। यसलाई बाथ मुटु रोग भनिन्छ। बाथ ज्वरो र बाथ मुटु रोग एकै रोगका दुई अवस्थाहरु हुन्।
बाथ ज्वरोबाट बच्न के गर्ने ?
कुनै पनि अवस्थामा घाँटी दुख्ने , ज्वरो आउने भएको बेलामानै यसको उपचार गर्नु बाथ ज्वरो हुन सक्ने सम्भावनालाई रोक्ने सबैभन्दा राम्रो उपाय हो। यसलाई प्राथमिक रोकथाम पनि भनिन्छ। विभिन्न जातका किटाणुहरु मध्ये "स्टेइटोकोकस ग्रुप ए" जातका किटाणुहरुको संक्रमणबाट घाँटी दुख्ने भएकाहरु मध्ये ३ प्रतिशतलाई बाथ ज्वरो उत्पन्न हुने सम्भावना रहन्छ। यदि बालबालिकाहरुलाई बारम्बार घाँटी दुख्ने गरेको छ भने तुरुन्त पत्ता लगाई औषधि उपचार गर्नुपर्ने हुन्छ।
घाँटी दुखेको सुरुकै अवस्थामा पत्ता लगाई उपचार गर्न सकेको अवस्थामा बाथ ज्वरो उत्पन्न हुने समस्यालाई १० गुणाले घटाउन सकिन्छ। घाँटी दुखेर ज्वरो आउँदा तुरुन्तै एन्टिबायोटिक खाएर उपचार गराउनुपर्ने हुन्छ।एन्टीबायोटिकले बाथ ज्वरो उत्पन्न गराउने किटाणुलाई नष्ट पार्छ र रोग उत्पन्न हुनबाट जोगाउँछ।
बाथ ज्वरो रोग लागिहालेमा के गर्ने ?
बाथ ज्वरो एकपटक लागेपछि पटक पटक फर्कन पनि सक्छ। जसरी यो रोग लाग्दा मुटुलाई नोक्सानी पुग्छ, त्यसरी नै पटक पटक बाथ ज्वरो आएमा त्यसले मुटुलाई नोक्सान गर्ने गर्छ। त्यसैले पटक बाथ रोग नआओस् भन्नका लागि यसको रोकथाम आवश्यक छ। करिब १ महिनासम्म शरीरमा रहिरहने पेनिसिलिनको सुई प्रत्येक प्रत्येक ३ ३ हप्तामा उक्त सुई लगाइरहेमा शररिमा बाथ ज्वरो पुन आउने सम्भावना कम हुन्छ।
बाथ मुटु रोगको उपचार मानिसलाई रोग तथा उत्सुकता भएरमा उक्त रोगलाई निको पार्न सकिन्छ भन्ने उदाहरण पनि हो। बाथ मुटुको रोग एक पटक लागेपछि पूर्णरुपमा निको पार्न सकिदैंन। किनभने यसले मुटुको भल्भलाई बिग्रारिसकेको हुन्छ। यस रोग लागि सकेपछि रोग निर्मुल पार्नभन्दा पनि यसलाई कसरी रोकथाम गर्ने भन्नेतर्फ ध्यान केन्द्रित रहने गर्छ। उपचार गरिसकेपछि पनि बाथ ज्वरो बल्झन सक्छ। त्यसकारण लामो समयसम्म बाथ रोग नदोहोरियोस् भन्नका लागि लामो समयसम्म बेन्जाथिन पेनिसिलीन ईन्जेक्सन लिई राख्नुपर्ने हुन्छ। यस रोगबाट पिडित भएका बिरामीहरुको उपचारको लागि नेपाल सरकारको अनुदानमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानले केन्द्रीय अस्पताल, अञ्चल अस्पताल तथा केही सामुदायिक अस्पतालहरुमा पेनिसिलिन सुई निशुल्क वितरण गरिराखेको छ।
यस रोगबाट पीडितहरुले नजिकैको अस्पतालबाट उक्त सुई निशुल्क रुपमा प्राप्त गर्न सक्छन्। निशुल्क रुपमा सुई पाइने व्यवस्थाले नेपालमा बाथ ज्वरो तथा बाथ ज्वरोको समस्या केही हदसम्म भएपनि कम हुँदै जान्छ भन्ने विश्वास गर्न सकिन्छ।
यदि कोही कसैलाई तल उल्लेख गरिएकाहरु मध्ये कुनै एक वा एकभन्दा बढी लक्षणहरु देखिएमा यो हृदयघात हुनु भन्दा अगाडिका लक्षण हुनसक्छन्, त्यसैले बिरामीको स्थिती अझै बिग्रन नदिनका लागि जति सकदो चाँडो अस्पताल लानुपर्ने हुन्छ।
-हिँड्दा वा सिँढी चढ्दा छातीको बीच भागमा दुख्ने वा बोझिलो र कस्सिएको जस्तो असजिलो हुने तर आराम गरेमा नदुख्ने भएमा।
-छातीको दुखाईको साथ साथै वाकवाकी लाग्ने, छाती दुख्ने तथा चक्कर लाग्ने भएमा।
-खलखल पसिना आएमा।
यस प्रकारको लक्षण तपाई हामी कसैलाई पनि जुनसुकै बेला हुनसक्छ। त्यसैले कुनै रोग नलागेपनि वर्षको एक पटक स्वास्थ्य परीक्षण गराउने बानी बसाल्नु आवश्यक हुन्छ।
(नेपाल हृदयरोग प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकबाट साभार)