ढाका- यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन्।
स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो आँकडाअनुसार यो वर्ष डेंगुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ। नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ संक्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ।
महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेंगुबाट मृत्यु भएको जनाएको छ। गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेंगु सङ्क्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना संक्रमित भएका छन्।
बङ्गलादेशमा सेप्टेम्बरमा डेंगुका केसमा उच्च वृद्धि भएको थियो। उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ सङ्क्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो। व्यापकरूपमा डेंगु फैलिएपछि चीनले मङ्गलबार बङ्गलादेशलाई डेंगु विरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ। रासस