जोर्नी प्रत्यारोपण सेवा अझै पनि निम्न आय भएका मानिसको पहुँच बाहिर नै छ। सरकारी तथा गैरसरकारी संघ–संस्था तथा स्वास्थ्य बीमाको पहुँच भित्र पुगेको अवस्थामा जोर्नी प्रत्यारोपण सेवा सरल हुन सक्छ।
जब विभिन्न कारणले मानिसको जोर्नीले काम गर्न सक्दैन तब विकल्पको रुपमा जोर्नी प्रत्यारोपणलाई लिन सकिन्छ। जोर्नी खिइएको अवस्थामा अत्यन्तै पीडादायी पनि हुने गर्छ। यस अवस्थाले मानिसको दिनचर्यालाई ठूलै असर गरिरहेको हुन्छ। यसरी मानिसको दैनिक क्रियाकलापमा नै असर गरेको अवस्थामा जोर्नी प्रत्यारोपण अत्यावश्यक हुन्छ।
जोर्नी प्रत्यारोपणको अवस्था किन आउँछ ?
जोर्नी बन्नका लागि कम्तीमा पनि दुई वटा हाड हुनुपर्छ। जोर्नीको बीच भागमा कुरकुरे हाडको चिल्लो सतह वा पत्र हुन्छ। उक्त पत्र उमेर, चोट–पटक, इन्फेक्सन जस्ता विभिन्न कारणले बिग्रने गर्छ। यसरी जोर्नी खिइँदै जाँदा कालान्तरमा दुख्ने समेत हुन्छ। सामान्य हिँडडुलमा तथा जोर्नीलाई भार पर्ने विभिन्न काम गर्दा पनि जोर्नी दुख्छ। यस अवस्थामा जोर्नी जति चल्नुपर्ने हो त्यति नचल्न पनि सक्छ। यसरी दुखाइ बढ्दै गएर कालान्तरमा दैनिक दिनचर्यामा नै असर पर्ने अवस्था आएपछि जोर्नीको प्रत्यारोपण गर्ने गरिन्छ।
जोर्नी प्रत्यारोपणका विधि तथा प्रक्रिया
जोर्नी प्रत्यारोपणको क्रममा सामान्य शल्यक्रियाको आवश्यकता पर्छ। प्रत्यारोपणको क्रममा जोर्नीको बीच भागमा कुरकुरे हाडको चिल्लो सतह वा पत्रलाई काटेर त्यसको ठाउँमा कृत्रिम जोर्नी राखिन्छ। यस क्रममा बिग्रेको जति भागलाई काटेर फाल्ने गरिन्छ। प्रत्यारोपणका लागि प्रयोग हुने धातु महँगो हुने भएकोले उपचार विधि केही महँगो भने छ। उक्त धातु युरोप, अमेरिका, जापान लगायतका मुलुकबाट आयात गर्नुपर्ने भएकोले पनि जोर्नी प्रत्यारोपणको उपचार केही महँगो हुन गएको हो।
जोर्नी प्रत्यारोपण कुन–कुन अंगमा गर्न सकिन्छ?
सामान्यतया जोर्नी प्रत्यारोपण हिपको जोर्नी, घुँडाको जोर्नी, कुमको जोर्नी, कुइँनो लगायतमा गर्न गरिन्छ। विदेशमा भने हातको मसिनो जोर्नीहरुमा समेत प्रत्यारोपण गर्ने प्रचलन रहेको छ। यद्यपि, जोर्नी प्रत्यारोपण शरीरका जुनसुकै जोर्नीमा गर्न सकिँदैन। निश्चित प्रकारका जोर्नीहरुको मात्रै प्रत्यारोपण गर्न सकिन्छ।
जोर्नी प्रत्यारोपण सेवा अझै पनि निम्न आय भएका मानिसको पहुँच बाहिर नै छ। सरकारी तथा गैरसरकारी संघ–संस्था तथा स्वास्थ्य बीमाको पहुँच भित्र पुगेको अवस्थामा जोर्नी प्रत्यारोपण सेवा सरल हुन सक्छ। जोर्नी प्रत्यारोपणका लागि करिब ४–५ लाख रुपैयाँ खर्च हुने भएकोले मध्यम तथा उच्चवर्गीय मानिसहरु समेत यो सेवा लिनका लागि एक पटक सोच्ने गर्छन्।
के प्रत्यारोपण गरिएको जोर्नीले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ?
शल्यक्रिया तथा यसपछिका उपचार विधिहरुलाई राम्रोसँग पालना गरेको अवस्थामा यसले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ। यद्यपि, केही अवस्थामा भने प्राकृतिक जोर्नी जस्तै प्रत्यारोपणपछिको जोर्नी नहुन पनि सक्छ। जस्तै, घुँडाको जोर्नी प्रत्यारोपणपश्चात् टुक्रुक्क बस्ने तथा पँलेटी कस्ने जस्ता काम गर्नु हुँदैन।
जोर्नी प्रत्यारोपण सेवालाई कसरी सहज बनाउन सकिन्छ?
स्वास्थ्य बीमाको कार्यक्रमलाई बृहत बनाउने, जोर्नी प्रत्यारोपणको सेवा दिने अस्पताललाई विभिन्न सहुलियत दिन सकेमा, निजी अस्पतालहरुले समेत विशेष कोषको स्थापना गरी निम्न आय भएका तथा सीमान्तकृत वर्गलाई लक्षित कार्यक्रम ल्याएको अवस्थामा जोर्नी प्रत्यारोपण सेवा सहज हुन सक्छ।
जोर्नी प्रत्यारोपण सेवा अन्य शल्यक्रिया जस्तै सुरक्षित छ। जोर्नी प्रत्यारोपण सेवा समय अनुकुल र प्रविधिमैत्री हुँदै गइरहेको छ। यद्यपि, उमेर ढल्किँदै जाँदा गरिएको जोर्नी प्रत्यारोपणको प्रभावकारिता भने कम नै हुने गर्छ। कम उमेरमा गरिएको जोर्नी प्रत्यारोपणको प्रभावकारिता बढी हुन्छ। तर उमेर ढल्किँदै गएपछि त्यसको प्रभावकारिता भने घट्दै जान्छ।
जोर्नी प्रत्यारोपणका लागि सामान्यतया १÷२ घन्टासम्मको शल्यक्रिया आवश्यक हुन्छ। शल्यक्रियापछि भने नियमित फिजियोथेरापीको प्रक्रियामा जानुपर्ने हुन्छ। नियमित फिजियोथेरापी तथा शारीरिक अभ्यासपश्चात् सामान्य क्रियाकलापहरुलाई अगाडि बढाउन सकिन्छ। प्रत्यारोपणको केही दिन भित्र नै उक्त जोर्नीको उपयोग गर्न सकिन्छ। विशेष फिजियोथेरापी एक सातासम्मको भए पनि सामान्य थेरापी भने सधैं नै चाहिन्छ।
(अर्थोपेडिक सर्जन डा खरेलसँग स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)