काठमाडौं- चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि सर्ट लिस्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भएको छ।
नाम सिफारसि समितिले आज तीन चरणमा लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो। तर अन्तिम समयमा आएर स्थगित गरिएको छ। प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगन गर्नुको कारण भने खुलाइएको छैन।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सर्ट लिस्टको नाममा नै विरोध गर्दै आइतबार नै उच्च अदालत पाटनमा मुद्दा परेपछि अदालतको आदेश कुर्नका लागि स्थगन गरिएको हो।
नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिस्ट गरेको थियो। सर्ट लिस्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
हेरौं सर्ट लिस्टमा परेकाहरुको नाम
![short list.jpg](https://swasthyakhabar.com/uploads/editor/2023-08-02/short list.jpg)