काठमाडौं- जारी प्रिमियर लिगका क्रममा ल्युटन टाउनका कप्तान टम लकएरलाई हृदयाघात भएको छ। इन्गल्यान्डको डार्सेटमा रहेको फुटबल मैदानमा शनिबार राति बोर्नमाउथसँको खेलमा उनलाई हृदयाघात भएपछि खेल नै रोकिएको हो।
एक-एक गोलको बराबरीमा खेलिरहेको अवस्थामा दोस्रो हाफमा उनलाई हृदयाघात भएको हझ। खेलमा अग्रता लिइरहेको ल्युटनसँग मोर्नमाउथले बराबरी गोल गरेको एक मिनेटपछि हृदयाघात भएको बताइएको छ। उनी ५९ औं मिनेटमा मैदानमै ढलेका थिए।
उनी मैदानमा ढलेपछि ल्युटनका म्यानेजर रब एडवर्डस्ले तुरुन्तै मैदानमा पुगेर फर्स्ट एड दिन सुरु गरेका थिए। त्यसपछि उनलाई स्ट्रेचरमा राखेर अस्पताल पठाएको थियो। उनको अवस्था स्थिर रहेको बताइएको छ।
ल्युटनका खेलाडीले मैदानमा आफ्नो कप्तानका लागि प्रार्थना गरेका थिए। फ्यानहरु भने भावुक भएर रोएका थिए।
मेडिकल स्टाफले उनको अवस्था स्थिर रहेको बताउँदै परिवारको निगरानीमा उपचार भइरहेको बताएका छन्। मेडिकल स्टाफले भनेका छन्, 'तुरुन्तै मैदान पुगेर फर्स्टएड दिइएकोमा धन्यावाद दिन चाहन्छौं।'