काठमाडौं- नक्कली डाक्टर बनेर एक भारतीय युवकले ७ युवतीसँग विवाह गर्नुका साथै करौडौं ठगी गरेका छन्। ओडिशा पुलिसको स्पेशल टास्क फोर्सले उनलाई जाजपुर जिल्लाबाट पक्राउ गरेको छ।
सैयद ईशान बुखारी नामका ३७ वर्षका युवाले आर्मीको चिकित्सक, न्युरोसर्जन आदि बताएर ठगी गर्ने गरेका थिए। काश्मिर निवासी उनी सन् २०१८ देखि भारतको ओडिशामा थिए।
उनले पहिचान बदलेर काश्मिर, उत्तर प्रदेश, महाराष्ट्र र ओडिशालगायतका राज्यमा ठगी गरेका छन्। उनले ७ जना युवतीसँग विवाह समेत गरेको बताइएको छ। उनी डेटिङ एप्सबाट आफूलाई डाक्टरका रुपमा चिनाएर युवतीसँग नजिकिदै पैसा असुल्नुका साथै विवाह समेत गर्ने गर्थे।
उनीसँग विभिन्न अन्तर्राष्ट्रिय युनिभर्सिटीका नक्कली मेडिकल डिग्री भेटिएका छन्। अमेरिकाको कार्नेल युनिभर्सिटी, क्यानेडियन हेल्थ सर्भिसेज इन्सिच्युटलगायतका मेडिकल डिग्रीका सर्टिफिकेट जफत गरिएका छन्।