काठमाडौं-शाहरुख खान र राजकुमार हिरानीले हालै रिलिज भएको फिल्म ‘डंकी’मा पहिलोपटक सँगै काम गरे। एक अन्तर्वार्तामा शाहरुखले यसअघि आफू हिरानीसँग ‘मुन्नाभाई एमबीबीएस’ र ‘थ्री इडियट्स’मा समेत काम गर्न खोजेको बताएका छन्।
साउदी अरेबियाको प्लेटफर्म एमबीसी ग्रुपलाई अन्तर्वार्ता दिँदै शाहरुखले आफ्नो र हिरानीको सम्बन्धबारे कुरा गरे। शाहरुखले ‘मुन्नाभाई एमबीबीएस’का लागि आफू पहिलो रोजाइ भएको बताए। उक्त फिल्मको स्क्रिप्ट नसुनेरै उनले राजकुमारसँग फिल्म खेल्ने पक्का गरेका थिए।
स्पाइनल कर्ड इन्जुरी र ‘मुन्नाभाइ एमबीबीएस’
चिकित्सा शिक्षामाथि व्यंग्य गरिएको फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ स्पाइनल कर्ड इन्जुरीका कारण आफूले गुमाएको उनले बताएका हुन्। उनका अनुसार राजकुमारले ‘देवदास’को सेटमा फिल्मको स्क्रिप्ट सुनाएका थिए। शाहरुखले भने, ‘राजकुमार र म धेरै पुराना साथी हौँ।
जब उनी सम्पादक थिए, उनले 'मुन्नाभाई एमबीबीएस'को स्क्रिप्ट लेखेका थिए। मलाई अझै याद छ, म फिल्म ‘देवदास’ मा मेरो मृत्युको दृश्य छायांकन गरिरहेको थिएँ। हिरानीले मसँग स्क्रिप्ट छ भने। मैले भनेँ- ठीक छ भोलि कुरा गरौँ। यो मेरो अर्को फिल्म हुनेछ।’
त्यतिबेला हिरानीले छक्क पर्दै भने, ‘तपाईंले अहिलेसम्म स्क्रिप्ट सुन्नु भएको छैन।’शाहरुखको जवाफ थियो, ‘मलाई यो फिल्मको शीर्षक मन पर्यो।’
शाहरुखका अनुसार त्यसपछि उनीहरूले ६ देखि ७ महिनासम्म यो फिल्ममा काम गरेका थिए। त्यहीबखत एकदिन अचानक शाहरुखको मेरुदण्डमा चोट लाग्यो। ‘मलाई निको हुन कति समय लाग्ने थाहा थिएन। र, यो फिल्म मेरो हातबाट बाहिर गयो,’ शाहरुखले भने।
थ्री इडियट्स समयका कारण गुम्यो
त्यस्तै शाहरुखले आफू 'थ्री इडियट्स'मा पनि काम गर्न तयार रहेको बताए। उनले हिरानीसँग फिल्मको स्क्रिप्ट र कास्टिङमा काम गरे तर अन्तिम समयमा उनी व्यस्त भए। राजकुमारले चलचित्रलाई ढिलो गर्न नचाहेकाले शाहरुखले यो प्रोजेक्ट छाड्ने निर्णय गरे। पछि यो फिल्म आमिर खानले खेले। आमिरको करिअरको सबैभन्दा सफल फिल्म ‘थ्री इडियट्स’ बन्न पुग्यो।
अन्ततः ‘डंकी’ हिरानी र शाहरुखको सहकार्यको पहिलो फिल्म बन्यो। फिल्मले हालसम्म देशमा १ सय ४५ करोड र विश्वभर २ सय ८३ करोडभन्दा बढी कलेक्सन गरिसकेको छ।