करिब २० प्रतिशत जनतामा कुनै न कुनै खालको जोर्नीको समस्या हुन सक्ने अध्ययनहरुले देखाएका छन्। संसारभरी विभिन्न अस्पतालमा गरिएका अनुसन्धानका आधारमा हरेकवर्ष जस्तो घुँडा र अन्य जोर्नीको समस्या लिएर आउने बिरामीको चाप बढ्दो छ। जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये घुँडाको हड्डी खिइनु मुख्य कारण हो। जसलाई ओस्टियोआर्थराइटिस भनिन्छ र प्राय: बुढ्यौलीको रोग पनि भनिन्छ जुन महिलामा र अधिक वजनका मानिसमा बढी देखिन्छ। सामान्यतया यो समस्या ५०-६० वर्ष काटेकाहरुमा बढी देखिन्छ।
जाडो बढ्दैछ - यतिबेला जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ ।
जाडोमा हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ।
यसैगरी चिसोले गर्दा रगतका नलीहरू साँघुरिने गर्छन् । त्यसरी रगतका नसाहरू साँघुरिँदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोग हुने गर्छ । चिसोमा जोर्नीहरू कट्कट्ती खाने र दुख्ने हुन्छ । त्यस क्रममा पहिला हातका पञ्जाको जोर्नी सुनिन्छ । त्यसैले जाडोमा बाथको समस्या बढ्ने गर्छ।
घुँडा कस्तो जोर्नी हो ?
घुँडा भनेको तिनवोटा हड्डीले बनेको मिश्रित साइनोविअल जोर्नी हो, जुन फिमर, पटेला, टिबिया मिलेर बनेको हुन्छ । घुँडा सबैभन्दा ठुलो जोर्नी भएकोले मुख्य काम शरीरको भार लिएर एक पाइलाबाट अर्को पाइला सार्नमा महत्वपुर्ण भूमिका रहेको हुन्छ। मान्छेको ठाडो शारीरिक बनावटले गर्दा हिँड्ने बेलामा शरीरको भार एक खुट्टाबाट अर्को खुट्टामा हुदै भुइँमा जाने भएकोले शारीरिक तौल बढी भएको मान्छेमा घुँडाको हड्डी चाँडै खिएर घुँडा दुख्ने समस्या धेरै देखिन्छ।
घुडाको जोर्नी खिइने ३ चरणहरु हुनछन्, माइल्ड, मोडरेट र सिभियर।
माइल्ड स्टेज- पहिलो चरण: उकालो ओरालो हिड्दा बढी दुख्ने, समथर ठाउँमा हिँड्दा अलि कम दुख्ने, पलेँटी कस्न र टुक्रुक्क बस्न गाह्रो हुने, निन्द्रामा पनि दुख्ने जस्तो अनुभव हुने।
मोडरेट स्टेज- दोस्रो चरण: समथर ठाउँमा हिँड्दा पनि बढी दुख्ने, उकालो ओरालो गर्न गार्हो हुने, पलेँटी कस्न र टुक्रुक्क बस्न अझै गाह्रो हुने ।
सिभियर स्टेज- तेस्रो चरण: उकालो ओरालोमा लट्ठीको सहायताले पनि हिँड्न गाह्रो हुने, पलेँटी कस्न र टुक्रुक्क बस्न नसकिने, घुँडा बांगो हुँदै जाने।
घुँडा दुखेको कसरी थाहा पाउने ?
हिड्दा गाह्रो हुने वा घुँडामा दुख्ने
बसेर उभिँदा घुँडामा असजिलो हुने
एकछिन हिँडेपछि घुँडामा पोल्ने वा दुखेर हिँड्न गाह्रो हुने
उकालो चढ्दा, ओरालो झर्दा, भर्याङ चढ्दा वा झर्दा घुँडा दुखेमा
घुँडामा जाम भएको अनुभव हुने
निरन्तर घुँडाको दुखाइ बढ्यो, घुँडा कडा हुँदै गयो र दैनिक कार्यमा बाधा आउन सुरू भयो भने जँचाएर उपचार सुरु गरिहाल्नुपर्छ।
घुँडा दुख्ने कारणहरु के के हुन् ?
उमेर समूह :- उमेर ढल्किदै जाँदा जोर्नी खिइने समस्या पुरुषमा भन्दा महिलामा १५ देखि २० वर्ष पहिलानै सुरु हुन्छ । त्यसमा दुई तिनवटा कारणहरु छन् । महिलाहरु घरायसी काम धेरै सक्रिय हुन्छन् । सँगसँगै महिलाहरुको शरीरमा हुने एक किसिमको हर्मन (एस्ट्रोजन) हुन्छ ।
महिनावारी रोकिने बेलामा त्यो हर्मनको मात्रा घट्छ । महिनावारी रोकिए पछि त्यसको मात्रा एकदमै घट्ने भएको हुँदा प्रत्यक्ष असर हड्डी तथा जोर्नीमा पर्छ र खिइने समस्या हुन्छ । त्यसैले महिलाहरुमा जोर्नी खिइने समस्या पुरुषमा भन्दा पहिला सुरु हुन्छ र धेरै मात्रामा छ ।
बाथ :- घुँडा दुख्ने कारणहरु मध्ये धेरै जसो विभिन्न प्रकारका बाथ रोगले गर्दा दुखेको पाइन्छ जसलाई आर्थराइटिस पनि भनिन्छ ।
हड्डी खिइएर :- बृद्धा अवस्थामा हड्डीमा क्याल्सियम वा अन्य पदार्थ र चिल्लो पदार्थको मात्रा कमीले गर्दा हड्डी खिएर घुँडा दुख्ने समस्या उत्पन्न हुन्छ जस्तै- ओस्टियोआर्थराइटिस ।
नशा च्यापिएर :- कहिले काही ढाडमा नशा च्यापिएको कारणले पनि घुँडा धुख्ने समस्या देखिन्छ ।
मांशपेशी वा लिगामेन्ट च्यातिने :- घुँडा वरिपरिका मांसपेशीहरु वा लिगामेंटहरु च्यातिने भएर पनि घुँडा दुख्ने हुन्छ। बिशेषगरी खेलाडीहरुमा सामान्य हुन्छ जस्तै एनटेरिअरक्रूसीएट(एसीएल) लिगामेंट टिअर भएको देखिन्छ ।
मांशपेशी कमजोर वा कडा भएर : चोटपटक लागेर वा नशामा कुनै समस्या भएर घुँडा चलाउन सहयोग गर्ने मांशपेशीहरु कमजोर भएकोले गर्दा पनि घुँडा दुख्ने हुन्छ । घुँडा चलाउन सघाउने गर्ने मांशपेशीहरुको जाम वा कडा भएमा पनि घुँडा दुख्ने समस्या देखिन्छ । खासगरी जाडोमा चिसोले गर्दा मांशपेशीको कडापन बढी देखिन्छ।
संक्रमण :- घुँडाको जोर्नीमा संक्रमणहरु जस्तै साइनोबाइटिस, इफ्युजन, पटेलर टेन्डनाइटिस् इत्यादी भएकोले गर्दा पनि घुँडा दुखेको पाइन्छ।
अन्य कारणहरु :- हड्डीको घनत्व कम भएर हुने समस्या जसलाई ओस्टोपोरोसिस भनिन्छ। चोटपटक लागेर, दुर्घटना भएर, खुट्टाको हड्डी भाँचिएर प्लास्टर लगाउनु परेमा त्यसपश्चात घुँडाको जोर्नी जाम भएर पनि घुँडा दुख्ने हुन्छ ।
उपचार बिधिहरु: उपचारको उद्देश्य रोग निको गर्नु, शरीरको क्षमता सुधार गर्नु र बिरामीको क्रियाशीलता बढाउनु हुन्छ। उपचारमा निम्न मध्येका एक वा धेरै तरिकाको आवश्यकता पर्न सक्दछ ।
१.औषधि: बिरामीको र रोगको अवस्था बुझेर उपयुक्त औषधिको उचित मात्रामा प्रयोग गर्नु पर्दछ । दुखाइ कम गर्ने औषधिको मात्र प्रयोग गरेर रोग निको हुँदैन। शरीरमा हानी नहोस् र रोग निको होस् भन्नका लागि चिकित्सकको सल्लाह बमोजिम उपयुक्त तोकिएका औषधि मात्र प्रयोग गर्नु पर्दछ ।
२. पञ्चतत्त्व थेरापी : रोग र बिरामीको अवस्था बमोजिम चिकित्सकको सल्लाह अनुसारको उपयुक्त उपचार गर्नु पर्दछ जसले गर्दा रोगबाट चाँडै मुक्ति पाउन सकिन्छ । यस्ता विधिमा उपयुक्त जडिबुटी वा औषधिको प्रयोग गर्ने, सेक्ने, उपयुक्त किसिमले मालिस गर्ने तथा चलाउने गर्ने गरिन्छ । सामान्यतया यस्ता समस्याहरुमा अस्पतालहरुमा उपलब्ध प्रचलित पञ्चतत्त्व थेरापीहरुमा जल, आप, तेज, वायु, आकाश आदिको विशेष प्रयोगद्वारा उपचार गरिन्छ।
३ आधुनिक हाइड्रोथेरापी : शरीर शुद्धिकरणको लागि कुन्जल, एनिम, वास्प स्नान, प्याक, आदिको प्रयोग हुन्छ। चिकित्सकको सल्लाहमा रोग अनुसार उपयुक्त किसिमको पन्च थेरापी गरेर शरीरको क्षमता वृद्धि गर्न र रोग निवारण गर्न सकिन्छ । साथै मोटोपनको समस्या भए तौल नियन्त्रण, साथै फिजियोथेरापी, अकुपञ्चर, खानपान, जीवनशैली अत्यन्त्य महत्वपूर्ण हुन्छ ।
४. योग आसन: उपयुक्त किसिमको योग गर्ने, नियमित मध्यम खालको उपयुक्त आसन, प्राणायाम र ध्यानलाई सन्तुलित ढंगले गरेर, तोकिए बमोजिम प्रयोग गरेर सम्बन्धित भागलाई बलियो पार्न, सामान्य किसिमले सञ्चालान गर्न र रोगबाट मुक्ति पाउन सकिन्छ । यस्तो योगहरु गर्दा जोर्नी तथा नशामा हानी नहुने किसिमले चिकित्सक वा सम्बन्धित शिक्षक (थेरापिस्ट)ले बताए बमोजिम सम्यकपुर्वक गर्नु पर्दछ।
खानपिन र सप्लिमेन्ट: सन्तुलित उपयुक्त आहार सेवन गर्नु पर्दछ। रोग लागेको छ भने चिकित्सकको सल्लाह अनुसार हानी गर्न सक्ने खाने कुराहरुबाट बच्नु पर्दछ।
भान्छा नै औषधालय हो – हाम्रो किचेनमा भएका औषधीय गुण भएको यी खानेकुरालाइ प्रयोग गरि स्वाथ्य बन्न सकिन्छ ।
अदुवाः अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।
कागतीः कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ।
तोरीको तेलः तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ।
सिधे नुनः घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।
बेसारः घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।
मेवाको बिजः मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।
गाजरः गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।
मेथीको बिजः घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ।
प्याजः प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।
नरिवलको तेलः खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
रातो खुर्सानीः रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा रहेको केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।
ओमेगा ३ फ्याटी एसिडः यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाइ समाप्त हुन्छ ।
क्याल्सियमयुक्त खानाः क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।
रोकथाम
उपयुक्त किसिमको खानपिन गरेर, नियमित मध्यम खालको उपयुक्त योग व्यायाम लाई सन्तुलित ढंगले गरेर, सकारात्मक जीवन शैली अपनाएर (बस्ने, सुत्ने, काम र व्यायाम गर्ने तरिकामा ख्याल गरेर), समय समयमा स्वास्थ्य जाँच गरेर यस्ता समस्याबाट बच्न सकिन्छ ।जोर्नी दुख्ने समस्याको रोकथाम गर्ने र रोग मुक्तिका लागि प्रमुख उपायहरु यस प्रकारका छन् :
१ जीवनशैली: शरीरलाई असन्तुलित हुने किसिमले बस्ने, सुत्ने, कामधन्दा गर्ने र व्यायाम गर्ने गर्नु हुँदैन । नियमित हल्का ढंगले शरीर संचालन गर्नु पर्दछ । समस्या भएकाले तोकिएका अभ्यास/थेरापी/कर्म/आसन गर्नु पर्दछ । निको नहुन्जेल गाह्रो काम गर्न तर्फ लाग्नु हुँदैन । (जस्तै: घुँडा खिइएकाहरुले थचक्क वा पलेटी कसेर बस्नु हुँदैन, उकालो ओरालोमा धेरै भारी बोकेर हिडडुल गर्नु हुदैन, कुर्सीमा बस्नु राम्रो हुन्छ, चर्पी पनि कमोड प्रकारको भएमा बिरामीलाई सहज हुन्छ । त्यस्तै ढाड दुख्ने हरुले धेरै निहुरिने गर्नु हुँदैन, अग्लो शिरानी राख्ने गर्नु हुदैन आदि ।)
२. तौल नियन्त्रण: अधिक तौल भएका व्यक्तिले तौल कम गर्ने उपाय अबलम्बन गर्नु पर्दछ।
यसरी बच्ने ?
- 'नी क्याप'को प्रयोग गर्ने - बिहान १५–२० मिनेट घाममा बस्ने । जाडोमा आफूलाई न्यानो बनाउने ।
- भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा सेवन गर्ने ।
- कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आटामा आधारित उत्पादन नखाने ।
- हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने ।
- समयमै उपचार गर्ने ।
- न्यानो भएर नियमित व्यायाम गर्ने । योग बिधि आसन, प्राणायाम गर्ने ।
- रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने ।
- युरिक एसिडका बिरामीले रातो मासु,गेडागुडीको कम प्रयोग गर्ने ।
- पर्याप्त पानी खाने ।- हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।
घुँडा दुख्ने व्यक्त्तिले गर्नुपर्ने र गर्न नहुने कुराहरु :
१ गर्नुपर्ने
दुखाई कम गर्न र घुडा बलियो बनाउन नियमित प्राकृतिक पञ्चतत्व उपचार गर्ने।
दुखाई कम भए पछि सिकाईएको ब्यायामहरु नियमित घरमा गर्ने ।
हिँड्दा वा काम गर्दा नि-क्याप लगाउने ।
काम गर्दा कुर्सीमा बसेर गर्ने ।
स्पोर्ट्स सु वा नरम सोल भएको जुत्ताको प्रयोग गर्ने ।
दुखाई भएकोमा तातोले सेक्ने ।
सामान्य शारीरिक तौल कायम राख्ने ।
२ गर्न नहुने :
टुक्रुक्क नबस्ने ।
पलेँटी मरेर नबस्ने ।
उकालो,ओरालो र भर्यांगमा कम हिड्ने वा सावधानी अपनाउने।
लामो समयसम्म लगातार नहिँड्ने ।
हिल जुत्ताको प्रयोग नगर्ने ।
चोटपटक लगेर वा कुनै कारणले गर्दा घुँडाको सल्यक्रिया गर्नु परेमा वा घुँडा फेर्नु परेमा त्यसपछि पनि प्राकृतिक उपचार र पुनर्स्थापना गर्नु उपयुक्त हुन्छ।
(डा राई जी एन पी हस्पिटल ललितपुरका निर्देशक हुन्। )