काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठ डा रामेश कोइरालाले ट्विटमा दिएको जवाफलाई लिएर नेपाल मेडिकल काउन्सिल पुगेकी छिन्। बिरामीको उपचारको क्रममा मृत्युलाई 'सहज मान्दियौं' भनेको कुरालाई नेपालमा अस्पतालहरूमा बिरामीको मृत्युपश्चात् कारण खोज्ने प्रकृया बारे बुझ्न चाहेको बताएकी छिन्।
उनले भनेकी छिन्, 'के यहाँ भनिएका चार मृत्युलाई साच्चै नै 'सहज' नै मानिएको हो? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुऱ्याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रष्ट पार्न अनुरोध छ।'
डा मलखलाल श्रेष्ठले लेखेको 'नेपालबाट किन बिदेशिरहेका छन् डाक्टर? लेखलाई सांसद् सुमनाले 'फर्किने वातावरण बनाउनुपर्छ' भन्दै रिट्विट गरेकी थिइन्। त्यसैम गंगालाल अस्पतालका चिकित्सक रामेशले कोट ट्विट गरेका हुन्। जहाँ उनी लेख्छन्, '२००२ मा म गंगालालको सर्जरी विभागको संयोजकमात्र थिएँ र हाम्रामा सो समय लोकसेवा वा मेडिकल अधिकृतबाटै जागिर गर्नु पर्दैनथ्यो। पछि डा. साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि। प्लिज्, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु। फर्किने हो?'
सांसद सुमनाले काउन्सिल समक्ष राखेका तीन विषय यसप्रकार छन् :
१) हरेक १०० केटी बच्चाको अनुपातमा ११२ केटा बच्चा जन्मिने तथ्याङ्क सन् २०२२को जनगणनाले देखाउनुले लिङ्गभेदी भ्रुण हत्या भैरहेको छ भन्ने प्रष्ट हुन्छ । नेपाल मेडिकल काउन्सिलले स्त्री भ्रुण हत्याबारे के कस्तो अध्ययन सुरु गरेको छ? छोरालाई काखा र छोरीलाई पाखा गर्ने चलन रहेको यस्तो पुरुषप्रधान समाजमा यहाँहरूले क्लीनिकहरुले / चिकित्सकरुले भ्रुण हत्या गरे/नगरेको बारे के कस्ता अनुसन्धान वा अनुगमन गर्नु भएको छ? भ्रुणको लिङ्ग पहिचान कानूनी रुपमा अवैध हुँदा पनि यो कसरी सम्भव भैरहेको छ ? अहिले सम्म यस्तो कसुरमा कति जनालाई के प्रकारको कारवाही भएको छ? कहिले र कुन ठाउँमा ? विस्तृत विवरण उपलब्ध गराईदिनुहोला।
२) यहाँ संलग्न ट्वीटमा प्रतिष्ठित अस्पतालका एक वरिष्ठ डाक्टरले चार बिरामीको उपचारको क्रममा मृत्युलाई "सहज मान्दियौ" भन्नु भएको सन्दर्भमा नेपालमा अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे बुझ्न चाहे । के यहाँ भनिएका चार मृत्युलाई साच्चै नै "सहज" नै मानिएको हो? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुऱ्याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रष्ट पार्न अनुरोध छ।
३) स्वास्थ्यकर्मीको लापरवाहीले गर्दा बिरामीको स्वास्थ्य वा जीवन तलमाथि पर्न गएको भनेर बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा नेपाल मेडिकल काउन्सिलले कथित लापरवाही (malpractice) भएको हो वा होइन भनेर कसरी निक्र्यौल गर्छ ? यो प्रक्रियामा आम मानिसले सजिलै उजुरी गर्न सक्छ? सम्बन्धित स्वास्थ्यकर्मीले स्वतन्त्ररुपमा आफ्नो बचाउ गर्न पाउछ कि पाउदैन ? यस्ता विवाद सुल्झाउन कस्तो समन्वयकारी भूमिका निर्वाह गर्छ भन्ने बारे बताउन हुन तथा यस्ता मुद्दामा हालसम्म कति वटा केस काउन्सिललाई उजुरी परेको छ र त्यस्समा काउन्सिलले के कस्तो कदम लिएको छ भन्ने तथ्याङ्क पनि उपलब्ध गराई दिन अनुरोध छ ।