काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा मतदानका लागि आएका गाउँपालिका अध्यक्ष बेहोस भएका छन्। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बुधबार राति बेहोस भएका हुन्।
बिहीबार हुने मतदानका लागि थारु बुधबार नै विराटनगर पुगेका थिए। नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका थारु राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएका थिए। होटल इस्टर्न स्टारमा भएको छलफलमा सहभागी भएपछि उनी बेहोस भएर ढलेका थिए।
बुधबार राति बेहोस भएका उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ।
छलफल कार्यक्रम सकिएपछि खाना खानेबेला थारु बेहोस भएका थिए। उपचारका लागि सुरुमा पारस अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल मेडिकल कलेज लगिएको हो।
अस्पताल स्रोतका अनुसार थारुलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बिहीबार बिहानसम्म पनि उनी अचेत अवस्थामा नै रहेका जनाइएको छ।