कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विगतदेखि वर्तमानसम्म आईपुग्दा हासिल भएका प्रगतिको साथै भोगेका समस्या र चुनौतीहरु संक्षेपमा निवेदन गर्न चाहन्छु।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशको अत्यन्तै विकट भौगोलिक स्थानमा अवस्थित रही स्वास्थोपचार सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य सम्वन्धी अनुसन्धानको क्षेत्रमा अनवरत रुपमा कार्यरत रहेको छ। कर्णाली प्रदेशका १० जिल्ला र पिछडिएको क्षेत्र अन्तर्गत सुदूर–पश्चिम प्रदेशका ३ जिल्ला क्रमशः अछाम, बझाङ र बाजुरा गरी कुल १३ जिल्ला यस प्रतिष्ठानको कार्यक्षेत्र भित्र समावेश छ। यी जिल्लाहरुमा विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताहरुलाई प्रदान गरिदै आएको स्वास्थोपचार सेवाबाट यस क्षेत्रमा बसोबास गर्ने समुदायहरु प्रत्यक्ष लाभान्वित भएका छन्। वास्तवमा भन्ने हो भने वर्तमानमा देखिएको आशा र भरोसाले हिजोका दिनका व्यवधान र असम्भाव्यता चिर्न सफल भएको छ। निरासा र अनिश्चिततालाई पार गर्दै यस प्रतिष्ठानले वर्तमानमा आफ्नो प्रभाव बढाउदै लक्ष्यतर्फ उन्मुख रहेको छ। कार्यक्रमगत रुपमा उल्लेख गर्दा हालसम्म चिकित्सा सम्वन्धी १३ विषयगत विद्याहरुमा कार्यक्रम सञ्चालन गरी आत्मनिर्भरताको पथमा प्रतिष्ठान लम्कदैछ। तसर्थ, यस गरिमामय सभामा प्रतिष्ठानको बिगतः ३ बर्षको प्रगति बिबरण संक्षेपमा बर्णन गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु।
कर्णालीको विगतको ईतिहास नियाल्ने हो भने जिल्लाको लागि कमसेकम एकजना चिकित्सक व्यवस्थापन गरी खटाउन सम्भव नरहेको अवस्था पार गर्दै प्रतिष्ठान स्थापना भए पश्चात् आवश्यक स्थानमा चिकित्सकहरु खटाउने व्यवस्थालाई सहज बनाउने प्रयास भईरहेको छ। यस प्रतिष्ठानमा पठन पाठनको निम्ति देशैभरीबाट विद्यार्थीहरुको उपस्थिति रहेको छ भने यस बर्ष एमवीवीएस अध्ययनको निम्ति भारतीय विद्यार्थी समेत भर्ना गर्न सफल भएको हुदा प्रतिष्ठान गर्व गर्दछ। यो प्रतिष्ठानको कार्यक्षेत्र रहेको जिल्लाहरुको समग्र रुपमा स्वास्थ्यका सूचकांकहरु कमजोर स्थितिमा रहेकोमा प्रतिष्ठानको स्थापना पश्चात् ती सूचकांकहरुमा उल्लेखनीय सुधार भएको पाईएको छ। जसले नेपालको मानव विकास सूचकांकमा नै सकरात्मक परिर्वतन ल्याउन सक्ने संस्थाको रुपमा यसलाई राज्यले अंगीकार गर्नु पर्दछ।
जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान कसरी सम्भव छ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा राज्यले गरेका लगानी खेर जान्छ? सरकारी कुनैचिकित्सक खटी जान ईच्छुक नहुने ठाउँमा चिकित्सकीय पठन पाठन कसरी सम्भव छ? यी आदि असम्भव र निराशाजन्य प्रश्नहरुको उत्तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्वलन्त उदारहरण प्रस्तुत गरेको छ। प्रतिष्ठानले विगत ३ वर्षमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको समीक्षा निम्नानुसार छ–
शैक्षिक कार्यक्रमतर्फ
प्रतिष्ठानको स्थापनासंगै एचए र स्टाफ नर्सबाट आफ्नो शैक्षिक कार्यक्रमहरु शुरु गर्दै हाल आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चारवटा स्कुल मार्फत विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ। जसमध्ये–
प्रतिष्ठानले बिभिन्न चिकित्सा सम्बन्धी शैक्षिक कार्यक्रमहरुको विस्तारसंगै गुणस्तरीय स्वास्थ्य शिक्षामा समेत विशेष ध्यान दिईरहेको छ। गतः आर्थिक बर्षको तथ्यांक हेर्ने हो भने स्वास्थ्य व्यवसायी परिषद्बाट लिएको बीपीएच लाईसेन्स परीक्षामा देशैभरीबाट ५४.४ प्रतिशत पास हुँदा प्रतिष्ठानबाट सम्मिलित परीक्षार्थीहरु शतप्रतिशत (१००%) उत्तीर्ण हुनु र सोही अनुरुप नर्सिङ लाइसेन्स परीक्षामा पनि हाम्रा विद्यार्थी शतप्रतिशत (१००%) उत्तीर्ण हुनुले गुणस्तरीय स्वास्थ्य शिक्षाको बलियो प्रमाणको रुपमा लिन सकिन्छ। गुणस्तर कायम गर्न अहोरात्र खटी योगदान पुर्याउने ९१ जना विशेषज्ञ शिक्षकहरु धन्यवादका पात्र हुनुहुन्छ।
स्वास्थ्य सेवातर्फ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३०० शैयाको केन्द्रीय अस्पताल मार्फत स्वास्थ्य सेवा प्रबाह गरिरहेको छ भने अर्को कर्णाली प्रदेशका १० वटा जिल्ला र पिछडिएको क्षेत्र अन्तर्गत रहेका ३ जिल्ला (अछाम, बझाङ र बाजुरा) मा आवश्यक विशेषज्ञ चिकित्सक मार्फत आवश्यकतानुसार स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बिशेषज्ञ चिकित्सकहरुको चरम अभावका बीचमा पनि स्वास्थ्य सेवा अन्तर्गत प्रतिष्ठानको प्राङ्गण भित्र रहेको केन्द्रीय अस्पतालबाट सेवा लिनेहरुको सख्या बिगतदेखि नियमित रुपमा बढ्दो क्रममा रहेको छ। सेवा प्रवाहको विस्तार संगै विरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। प्रतिष्ठानले विगत ३ बर्षदेखि उपचार स्वास्थ्य सेवा प्रदान गरेको तथ्याङ्क तल प्रस्तुत छ –
नेपालका अन्य सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरुको कुरा गर्ने हो भने आधारभूत तलवमान प्रतिष्ठानको भन्दा कम देखिएतापनि अस्पताल बाहिर Private Practice बाट हुने आम्दानी जोड्ने हो भने प्रतिष्ठानका क्लिनिकल डाक्टरले कमाउने मासिक आम्दानी भन्दा सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको आम्दानी कयौ गुणा बढी रहेको यथार्थता सभा समक्ष निवेदन गर्दछु। प्रतिष्ठानको अर्को वास्तविकता के छ भने संस्थाले विगत ५ वर्षदेखि शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता बढाउन नसक्नु, स्थायी प्रक्रिया अघि बढ्न नसक्नु आदि कारणले असल शिक्षक तथा कर्मचारीहरु टिकाउन चुनौतीको विषय बनेको छ।
प्रतिष्ठानको स्वास्थ्य सेवा सहज रुपमा उपलव्ध हुँदा यस भेगमा बसोबास गर्ने सर्वसाधारण जनता विशेषगरी निम्न आय भएका समुदाय उपचारको लागि बाहिरिन पर्ने वाध्याताको अन्त भई ठूलो धनराशी खर्च हुनबाट जोगिएको छ। यसैगरी मातृ मृत्युदर, वाल मृत्युदर हुदै स्वास्थ्यको विभिन्न सूचकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको कुरा राज्यले महशुस गरी सोही अनुसार प्रतिष्ठानलाई अव केही बर्ष (आत्मनिर्भर नभए) सम्मका लागि बजेट र नीतिगत सहयोग गर्नुपर्ने अवस्था रहेको छ। अन्यथा यसरी लोभलाग्दो रुपमा अगाडि बढिरहेको प्रतिष्ठानको भविष्यमा कुनै पनि समयमा प्रश्न चिन्ह उठ्न सक्ने बिषयमा सरोकारबालाहरुको गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहन्छु।
प्रतिष्ठानले विगत ३ वर्षमा पल्मोनोलोजी, इएनटी, डर्माटोलोजी, आँखा, डेन्टल, लगायतका थप सेवाहरु सञ्चालनमा आएका छन् भने चलिरहेका सेवाहरुको गुणस्तरमा वृद्धि गर्ने प्रयास भईरहेको छ। जस्तो कि हाडजोर्नी विभागमा मेरुदण्डको शल्यक्रिया र स्त्रीरोग विभागमा ल्यप्रोस्कोपिक सर्जरी सेवा केही उदारण मात्र हुन्। तथापि, आज पनि एउटा एमआरआई गर्न नेपालगंज पुग्दा विरामीले लाखौं खर्च गर्नुपरेको छ। सवैसाधारण जनताको त कुरै छाडौ दुर्गम भेगमा काम गर्ने कर्मचारीलाई मुटु सम्बन्धी समस्या आईलाग्यो भने सेवा प्राप्त गर्ने ठाउँ पुग्न घण्टौ लाग्ने हुदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता विद्यमान छ। अतः तत्कालीन रुपमा नै क्याथल्याब÷एमआरआईको व्यवस्था मिलाउन अपरिहार्य ठानिएको छ। यसको लागि पटक पटक स्वास्थ्य र अर्थ मन्त्रालय समक्ष माग गरिएको तर कार्यान्वयन हुन नसकेको विषय समेत यस गरिमामय सभालाई जानकारी गराउन चाहन्छु।
अनुसन्धान तर्फ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रत्येकजसो महिना आफ्नो वैज्ञानिक जर्नल प्रकाशित गर्दै आएको छ। रुरल हेल्थ, माउन्टेन मेडिसिन, हेल्थ इकोनोमिक्स सम्बन्धी उच्चस्तरीय अनुसन्धानको विश्वमा नै उत्कृष्ट थलो हुन सक्ने महत्वलाई मध्यनजर गरी KAHS Research Vision for Next 5 Years को मस्यौदा बनाउने क्रममा लागेका छौं। मेडिसिनल प्लान्ट, जडिबुटी (चिकित्सकीय महत्व) को खानीको रुपमा रहेको कर्णाली प्रदेशमा यहाँ उत्पादित जडिबुटीको प्रयोग गरी औषधि उत्पादनसम्मको योजना सहितको Medicinal Plant Research Center स्थापनार्थ १८ पृष्ठको अवधारणा पत्र यसै वर्ष विश्वविद्यालय अनुदान आयोगमा पेश गरेका छौं। कर्णाली क्षेत्रमा पाईने तर उचित प्रयोग हुन नसकेका बहुमूल्य जडिबुटीहरु आवश्यक प्रशोधन गरी प्रयोगमा ल्याउन सकिने प्रवल सम्भावना रहेको छ। प्रतिष्ठानले गुणस्तरयुक्त औषधि प्रशोधनतर्फ योगदान पुर्याउन सकेको खण्डमा उत्पादित हुने बहुमूल्य औषधिले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बिषय यस गरिमामय सभालाई जानकारी गराउन चाहन्छु। बिगतः ३ बर्षमा प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले १३० भन्दा बढी अनुसन्धानमूलक लेख रचना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएका छन्।
प्रतिष्ठानले राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती प्राप्त स्वास्थ्य विधाका संघ सस्थाहरुसँग सम्झौता सम्पन्न गरि सहकार्यको थालनी गरिएको छ जसमा अन्तराष्ट्रिय स्तरमा क्यानडाको मेमोरियल यूनिभर्सिटी अफ न्यूफाउण्डल्याण्डसंग एमडीजीपी र अनुसन्धानमा सहकार्य भएको छ भने चीनको चेउच्याङ यूनिभर्सिटीसंग मेडिकल प्लान्ट रिसर्च सम्बन्धी सहकार्य सुरु गरेका छौं भने मलेसियाको सनवे मेडिकल सेन्टरसंग चिकित्सक, नर्स र कर्मचारी आदान प्रदानमा सहकार्य सुरु भएको छ। निकट भविश्यमा अमेरिकाको ह्यूस्टन मेडिकल कलेजसंग सहकार्य सुरु हुदै छ भने आगामी महिनामै प्रतिष्ठित हार्वड विश्विद्यालयको ग्लोवल हेल्थ डिपार्टमेन्टमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम रहेको छ र संम्भवतः सोहि डिपार्टमेन्टको सहकार्यमा प्रतिष्ठानमा ‘फोलोसिप इन रुरल हेल्थ’ कार्यक्रम सुचारु गर्ने प्रयास रहेको पनि यस गरिमामय सभालाई जानकारी गराउन चहान्छु। राष्ट्रिय स्तरमा तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, गंगालाल हृदय केन्द्र लगायतका विभिन्न अस्पताल र स्थानीय निकायहरुसंग साझेदारी कार्यक्रम सुरु गरेका छौं।
अनगिन्ती चुनौतीका बीच हुर्कदै प्रतिष्ठान
यो प्रतिष्ठान कर्णाली जस्तो दुर्गम स्थानमा स्थापना भएर पनि अन्य प्रतिष्ठान सरह शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। बिडम्वना के छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ मा विद्यार्थी भर्नामा दुर्गम तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समावेशीता सहित स्वस्थ्य सेवामा पहुँच पु¥याउने हेतुले आरक्षणको व्यवस्था गरिएको तर चिकित्सा शिक्षा ऐन, २०७५ ले एकीकृत चिकित्सा शिक्षा नियमावली लागू भई प्रतिष्ठानको ऐनमा भएको आरक्षण सम्वन्धी व्यवस्थाको कटौती भएबाट स्थानीय जनशक्ति उत्पादनमा ह्रास आएको छ। तसर्थ, आरक्षण सम्बन्धी व्यवस्था कायम गर्न चिकित्सा शिक्षा ऐन र नियमावलीमा आवश्यक संशोधनको लागि जोडदार रुपमा ध्यानाकर्षण गर्दछौं।
बिरामीको संख्यामा उल्लेख्य बृद्धि भईरहदा आन्तरिक आयमा पनि विगत ३ वर्षमा ५ गुणा वृद्धि भएको छ। तर आम्दानीमा उल्लेखनीय वृद्धि भएतापनि सोही अनुपातमा खर्च बढ्नाले प्रतिष्ठान पुरै आत्मनिर्भर हुन सकेको भने छैन। प्रतिष्ठानको यथार्थ वित्तीय स्थिति तल प्रस्तुत छ –
यसैगरी दैलेख जिल्लाको आठबिस नगरपालिका अन्तर्गत राकममा १०० शैयाको स्याटेलाईट अस्पताल निर्माण गरी सेवा सुचारु गर्न सकेमा प्रतिष्ठान स्वनिर्भर हुनसक्ने सम्भावना रहेको हुँदा राज्यबाट सो निर्माणका लागि आवश्यक श्रोत व्यवस्थापन गरिदिन सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्णमा विनम्र अनुरोध गर्न चाहन्छु। यस प्रस्तावित अस्पताल निर्माणका लागि प्रतिष्ठानको नाममा ४४ रोपनी जग्गा नामसारी भईसकेको अवस्था छ।
नेपाल सरकारले प्रतिष्ठानको लागि विगत ७ वर्षदेखि बार्षिक ४४ करोड चालू खर्च बजेट उपलब्ध गराउदै आएकोमा चालू आ.ब २०८०÷०८१ का लागि करिब २८ करोड ४७ लाख (त्यसैमा पनि ६ करोड ७९ लाख ४१ हजार नेपाल सरकारको नियमित कार्यक्रमको लागि विनियोजन भएको) बाँकी जम्मा २१ करोड ६७ लाख ५९ हजार सञ्चालन खर्च उपलब्ध हुँदा प्रतिष्ठानमा अहोरात्र खटिने चिकित्सक लगायतका कर्मचारीहरुलाई तलव खुवाउन चुनौती थपिएको छ।
मुलुकले ग्रामीण भेगमा चिकित्सकहरु विशेषतः विशेषज्ञ चिकित्सकहरु टिकाउन गाह्रो भइरहेको परिस्थिति छ। यसमा पनि जुम्लाको परिवेशमा विशेषज्ञ चिकित्सकहरु टिकाउन अत्यन्त कठिन भएको छ। बस्ने आवास सम्मको पनि व्यवस्था नहुनु, विगत ५ वर्षदेखि सेवा सुविधा वृद्धि नहुनु, स्थायी प्रक्रियाका काम लोकसेवा आयोगबाट ढिला हुनुले गुणस्तरीय जनशक्ति उपलब्ध हुन सर्वाधिक चुनौती रहेको छ। तसर्थ, यस विषयमा गरिमामय सभाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
जुम्लास्थित प्रतिष्ठानमा २०७२ सालमा ३०० शैयाको अस्पताल भवन बाहेक अरु भौतिक संरचना बनाउन नसक्दा सम्पूर्ण शिक्षक तथा कर्मचारी भाडामा बस्न बाध्य छन् र अध्ययनका लागि प्रतिष्ठानमा आउने विद्यार्थीहरुलाई छात्र÷छात्राबास नहुँदा अध्ययन÷अध्यापनमा समेत गम्भिर असर पुगेको छ।
प्रतिष्ठानको भावी योजनाः संक्षेपमा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीर्घकालिन योजना अन्तर्गत चेरेचौरमा ५०० रोपनीमा बनेको वहुवर्षीय योजनाको लागि बजेट अभावले सम्पन्न हुन नसकेको परिप्रेक्ष्यमा प्रतिष्ठानलाई आत्मनिर्भर गर्ने मूलध्येयका साथ पञ्चवर्षीय योजना निर्माण गरिनेछ। यस अतिरिक्त आगामी एक वर्ष भित्र सम्पन्न गर्ने गरी निम्नानुसारका कार्यहरु समाबिष्ट गर्ने प्रस्ताव गरेको छु–
प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन राकम कर्णालीको प्रस्तावित १०० शैयाको स्याटेलाइट अस्पतालको निर्माण शुरु गर्न नेपाल सरकारलाई अनुरोध गरी उक्त अस्पताल निर्माण गर्न सकेको खण्डमा प्रतिष्ठान आत्मनिर्भरताको बाटोमा जानेछ। जस्को लागि आवश्यक डीपीआर अनुमोदनका लागि यस नवौं सभामा प्रस्तावको रुपमा प्रस्तुत गरिएको छ।
प्रतिष्ठानमा एमबीबीएस लगायत १३ वटा कार्यक्रम सुचारु भइरहेको बर्तमान परिस्थितिमा आगमी वर्षबाट School of Medicine तर्फMMS (Surgery), MD (Obs & Gyne), MD (Anatomy) MD (Physiology), MD (Biochemistry), MD (Microbiology), MD (Pathology), Master in Dental Surgery, MD (Pharmacology), Bachelor in Physiotherapy, BMLT BMLT त्यस्तै School of Public Health तर्फ PhD, Fellowship in Rural Health, Bachelor in Nutrition and Dietetics, School of Nursing तर्फ Master of Nursing लगायतका थप शैक्षिक कार्यक्रमहरु संचालन गरिनेछ।
१३ वटा ब्याचलर र मास्टर्सका कार्यक्रम र त्यस्तै संख्यामा फ्याकल्टिज, कर्मचारीहरु रहेको प्रतिष्ठानमा सम्पूर्ण बिद्यार्थीहरुका लागि अतिआवश्यक छात्र÷छात्राबास निर्माणका लागि आवश्यक डीपीआरसहित निर्माण गर्न योजना रहेको छ।
वहुवर्षीय योजना अन्तर्गत चौथो सभाबाट पारित डीपीआर चेरेचौर स्थित स्थानीय समुदायले निशुल्क प्रदान गरेको ५०० रोपनी जग्गामा बन्ने प्रस्ताव कार्यान्वयन हुन सकेको छैन। उक्त भौतिक संरचना निर्माणका लागि यस गरिमामय सभामा बिनम्र अनुरोध गर्दछु।
स्थायी कर्मचारीको ६ वर्षमा बढुवा हुन नसकेको र करार कर्मचारीको स्थायी प्रक्रिया लोक सेवाको समन्वयमा प्रक्रिया यथाशिघ्र अघि बढ्ने वातावरण सृजना हुन माग गर्दछु।
Medicinal Plant Research Center स्थापनाका लागि विश्वविद्यालय अनुदान आयोग, नेपाल सरकार र अन्तर्राष्ट्रिय क्षेत्रसम्म समन्वय र सहकार्य अघि बढाउन प्रस्ताव गर्दछु।
तथ्य र तथ्यांक अनुसार नै यहि ३ वर्षभित्रै प्रतिष्ठानको कुल आय वार्षिक ६ गुणाले बढ्नु, सेवाग्राहीको संख्या दोब्बरभन्दा बढीले बढ्नु, एमबीबीएस लगाएत १३ वटा कार्यक्रम पूर्णरुपमा संचालन गरिनु, विभिन्न काउन्सिलबाट लिइने परीक्षाहरुमा हाम्रा विधार्थीले सतप्रतिसत पास नतिजा निकाल्नु, संसारभर प्रतिष्ठानको सम्बन्ध विस्तार हुनु , सस्थालाई पूर्ण आत्मनिर्भर बनाउन राकम कर्णालीको पूर्ण योजना अगाडि बढाउनु हाम्रो कार्यकालको एतिहासिक उपलब्धि एकातिर छन् भने भौतिक संरचना, उपकरण र चालु खर्चमा सरकारले गरेको न्यून र घटाउँदै गरेको लगानीले सम्माननीय प्रधानमन्त्रीज्यु हामी उत्साहित छैनौं।
अन्तमा प्रतिष्ठानको लक्ष्य अनुरुप स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्दै आत्मनिर्भर हुने तर्फ लम्किरहेको प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानको भावी योजना अनुरुप सहयोग गरिदिनु हुन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरोकारबाला निकायहरुलाई अनुरोध गर्न चाहन्छु। विविध समस्याका बावजुद आफ्नो अमूल्य समय व्यवस्थापन गरेर यो सभामा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यू, माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपतिज्यू लगायत विद्धान सभा सदस्य र आमन्त्रित सभा सदस्यज्यूहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट हार्दिक कृतज्ञता सहित सधन्यवाद ज्ञापन गर्दछु।
(कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले प्रतिष्ठानको सिनेट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्तुत गरेको विवरण)