प्रश्न: शरीरमा चिसो हुँदै गएपछि रक्तनली खुम्चिन समस्या के हो? कसरी जोगिने? चिसोमा आगो, ग्यास गिजर र हिटर बाल्दा के कुरामा ध्यान दिने?
डा लोचन कार्कीको उत्तर:
शरीरको निश्चित तापक्रम हुन्छ। सामान्य तापक्रम भनेको ९६ डिग्री सेल्सियसदेखि ९९ बीचमा हो। ९६ भन्दा कम हुँदै गयो भने हाइपोथर्मिया हुन्छ। ९९ भन्दा धेरै भयो भने ज्वरो हुन्छ। मुटुले रगत पम्प गर्छ र हेमोग्लोबिनले अक्सिजन लिएर शरीरभरि फैलिन्छ।शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन्। चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन। अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छ, जसलाई हामी साइनोसिस भन्छौं। अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
अर्काेतिर, चिसोले श्वासप्रश्वास नली पनि खुम्चिन थाल्छ। त्यसले फोक्सोमा अक्सिजनको मात्रा कम पुग्ने भयो। मुटुलाई पनि अक्सिजन चाहिन्छ र पम्प गर्न निश्चित रक्तसञ्चार चाहिन्छ। रक्तसञ्चार नभएपछि मुटु आफैं पनि काम गर्न छाड्छ। जसलाई कार्डियाक अरेस्ट भनिन्छ। रक्सी खाएको मान्छे चिसोमा लडेर मृत्यु भएको सुनिन्छ। अहिले जाजरकोटमा भूकम्पपीडितहरुको पनि हाइपोथर्मियाका कारण मृत्यु भइरहेको सुनिन्छ। सडकमा रात बिताउनेहरुको पनि यही कारणले मृत्यु हुने गरेको छ।
त्यस्तो भेटियो भने तातो ब्ल्यांकेट ओढाउनुपर्छ। तातोपानी खुवाउनुपपर्छ। यदि हाइपोथर्मियाबाट निकाल्न सकिएन भने मृत्युसम्म हुन जान्छ।
चिसोमा आगो, ग्यास गिजर र कार्बनमोनोअक्साइड
चिसोमा आगो वा हिटर बालेर सुतेकाहरु त्यहीँ बेहोस भएर मृत्यु भएका खबरहरु आइरहन्छन्। नुहाउँदा ग्यास गिजर प्रयोग गरेका कारण बेहोस भएर मृत्यु हुने गरेको सुनिन्छ। जाडोमा कोठा न्यानो बनाउन प्रयोग गरिने तापबाट कार्बनमोनोअक्साइड भन्ने तत्व निस्किन्छ। यो देख्न पनि सकिँदैन र गन्ध पनि हुँदैन। जस्तो, खाना पकाउने एलपी ग्यास लिक भयो भने गन्हाउँछ। हामी होसियार हुन्छौं। कार्बनमोनोअक्साइड त हामीले श्वासप्रश्वासमार्फत लिइरहेको थाहा नै हुँदैन। यसलाई हामी साइलेन्ट किलर मान्छौं। हामी थाहा नपाएर एक प्रकारको विष लिइरहेका हुन्छौं। एकछिनसम्म त शरीरले पचाउँछ। लामो समयसम्म लिइरहँदा कार्बनमोनोअक्साइड पोइजनिङको तहमा पुग्छ। ब्रेन र अन्य विभिन्न अंगमा पुगेपछि निद्राकै समयमा मानिस बेहोस भइसकेको हुन्छ। यदि कसैले थाहा पाएर निकाल्न सकेन भने उसको मृत्यु हुन्छ।
त्यसैले आगो वा हिटर बाल्दा हावा आउने–जाने प्रणाली (भेन्टिलेसन)को ख्याल गर्नुपर्छ। गिजर चलाउँदा पनि होस गर्नुपर्छ। लामो समयसम्म हिटिङ सिस्टम चालु राख्नु हुँदैन। सुत्दा हिटर लगायत तातोपन दिने कुरा बन्द गर्नुपर्छ ।