नेपालको संविधान, जनस्वास्थ्य ऐन र नियमावली र स्वास्थ्य नीतिमा उल्लेख भएका विषय अनुसार नै सोवा रिग्पालाई सरकारी अस्पतालमा विस्तार गर्न र यस सम्बन्धी शिक्षालाई अन्य चिकित्सा शिक्षा अध्ययन गरेका जनशक्ति जस्तै दर्ता गराउने विषय अगाडि बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोवा रिग्पा विधाको दर्ताका विषयमा अध्ययन गरी सुझाव सहित प्रतिवेदन बुझाउन समिति नै गठन गरेको थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वैकल्पिक चिकित्सा महाशाखाका प्रमुखको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा दर्ता हुन सकिने सुझाव दिएको छ। सोही अनुसार हाल आवश्यक प्रक्रिया अगाडि बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले जानकारी दिए।
डा सिंहले यो उपचार पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरकारका तर्फबाट आवश्यक काम अगाडि बढिरहेको बताए। ‘सोवा रिग्पा प्राचीन उपचार पद्धति हो। यो उपचार पद्धति निकै पुरानो भए पनि व्यवस्थित रुपमा अभिलेखीकरण भएको पद्धति हो,’ उनले भने, ‘यसलाई स्वास्थ्यका आधुनिक चिकित्सा पद्धति जस्तै मुल प्रवाहमा समयमा नै ल्याउन नसकेको साँचो हो। तर अब मुल प्रवाहमा ल्याउनेतर्फ हामीले काम अगाडि बढाइरहेका छौं। दर्ताको लागि आवश्यक कदम चालिसकेको अवस्था छ।’ उनले सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने समन्वय र सहयोग गर्दै अगाडि बढ्ने पनि बताए।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सोवा रिग्पालाई वैकल्पिक उपचार पद्धति नभई मौलिक उपचार पद्धतिका रुपमा लिनुपर्ने बताए। उनले यो उपचार पद्धति र यस क्षेत्रको अध्ययन अध्यापनमा देखिएको समस्या समाधानका लागि आफू लागिरहेको जानकारी दिए।
‘यो मौलिक चिकित्सा पद्धति हो। यसलाई वैकल्पिक नभनौं। हामीसँग हजारौं वर्ष पुराना राम्रा र मौलिक कुराहरु छन्। त्यसलाई समयमा नै अगाडि लान नसक्दा नै अहिले समस्या देखिएको हो। आधुनिक चिकित्सातर्फ बढी नै झुकाव हुँदा हामी बीचमा हरायौं,’ उनले भने, ‘नेपालमा राम्रा कुरा हुँदाहुँदै पनि हामी अफ ट्र्याक भएका हौँ। तर अहिले हाम्रा नीति तथा रणनीतिहरुले यो उपचार पद्धतिलाई धेरै स्थानमा छोएको छ। प्राथमिकता दिएको छ। कार्यान्वयनका क्रममा कमजोरी भएको हो।’
उनले सोवा रिग्पाका विषयमा पछिल्लो समयमा शैक्षिक कार्यक्रममा नै केही समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए। ‘कलेज खुलेर अध्यापन भइसकेको छ। विद्यार्थी पास भएर दीक्षित नै भइसकेको अवस्था छ,’ उनले भने, ‘यसमा केही कानुनी अड्चन फुकाउन बाँकी छ। यसमा स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्न सकिने प्रक्रिया अगाडि बढेको छ। योतर्फ देखिएका गाँठो फुकाउन आवश्यक छ। त्यसका लागि मन्त्रालय आवश्यक समन्वय गर्न तयार छ।’ उनले सोवा रिग्पा उपचार पद्धतिलाई सरकारकै अस्पताल तथा आयुर्वेद उपचार केन्द्रमा जोडेर लैजान सकिने विषयमा पनि छलफल चलिरहेको जानकारी दिए। यसका साथै स्थानीय तहले पनि आवश्यकता पहिचान गरेर सेवा विस्तार गर्न सक्ने विषय पनि रहेको उनले जानकारी दिए।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्माले सोवा रिग्पा उपचार पद्धतिका विषयमा अध्ययन गरेका विद्यार्थीको दर्ताको विषयमा विधि र कानुनले भने अनुसार काम अगाडि बढाउन आफू तयार रहेको बताए। ‘परिषद्को अध्यक्षको जिम्मेवारीमा आफू भर्खरै आएको र सोवा रिग्पा अध्ययन गरेका विद्यार्थीको दर्ताका विषयमा एक अध्ययन समितिले प्रतिवेदन बनाएर बुझाएको जानकारी पाएको छु,’ उनले भने, ‘उक्त प्रतिवेदन अध्ययनपछि विधि र कानुनले दिए अनुसार काम अगाडि बढाउन म तयार छु।’
सोवा रिग्पा पदद्धि अन्तर्गत हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट एचए र सिएमए सरहको पढाइ र विश्वविद्यालय स्तरमा स्नातक तहमा लुम्बिनी वौद्ध विश्वविद्यालय अन्तर्गत बिएसआरएमएस कार्यक्रम सञ्चालन भइरहेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेशराज भुजुले विश्वविद्यालयको सम्बन्धनमा सोवा रिग्पा इन्टरनेसनल कलेजबाट पहिलो ब्याचमा स्नातक तहतर्फ १७ जना विद्यार्थी दीक्षित भइसकेको र अन्य ब्याचमा पनि विद्यार्थी पढिरहेको जानकारी दिए। उनले परिषद्मा दर्ताको कानुनी बाटो खुला भएमा उत्पादित जनशक्तिले दरबन्दी अनुसार काम पनि पाउने बताए।
परिषद्मा दर्ता हुने व्यवस्था लागू नहुँदा आयुर्वेद विभागमा दरबन्दी नै हुँदा पनि आम्चीको पदपूर्ति गर्न समस्या भएको विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले जानकारी दिए। ‘संघीय संरचना अनुसार सरकारी कार्यालयहरुको नयाँ संरचना बनाउने क्रममा विभागमा पनि आम्चीका लागि दरबन्दी सहित शाखाको व्यवस्था गरिएको छ,’ उनले भने, ‘तर जनशक्तिको दर्ता नहुँदा लोकसेवा खुल्न समस्या भइरहेको अवस्था छ।’ उनले सोवा रिग्पा अध्ययन गरेका जनशक्तिको दर्ताको प्रक्रिया अगाडि बढेकाले छिट्टै समस्या समाधान हुने पनि बताए।
अडारा विकासका कन्ट्री डिरेक्टर प्रल्हाद ढकालले सोवा रिग्पा पद्धतिबाट धेरै बिरामीहरु लाभान्वित भइरहेको अध्ययन प्रतिवेदनले देखाएको जानकारी दिए। उनले चिकित्सा क्षेत्रका सबै उपचार पद्धतिलाई समावेशी बनाउँदै लैजानु पर्नेमा जोड दिए। ‘सोवा रिग्पा उपचार पद्धति प्रभावकारी हो भन्ने कुरा अभ्यास र अनुसन्धानले देखाइसकेको छ,’ उनले भने, ‘यसलाई अब सरकारी प्रणालीमा पनि समावेश गर्दै समावेशी बनाउन आवश्यक छ। हिमाली जिल्लामा मात्र नभई देशभरका संस्थामा विस्तार गर्नुपर्छ।’ उनले सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन सक्दा यहाँका जडिबुटीको उचित उपोग हुने हुँदा नेपालको आर्थिक विकास पनि हुने जानकारी दिए।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा प्रमुख डा माधवप्रसाद लम्सालले राजनीतिक र नीतिगत रुपमा सोवा रिग्पा उपचार पद्धतिको विषय प्रष्ट रहेको भन्दै कार्यान्वयनतर्फ जोड दिन आवश्यक रहेको बताए। ‘संविधानदेखि स्वास्थ्य नीतिसम्म यो विषय परेको छ। त्यस कारण राजनीतिक र नीतिगत रुपमा प्रष्ट भइसकेको विषय अब व्यवहारमा आउनु पर्यो। कार्यान्वयनतर्फ जानु पर्यो भन्ने नै हो,’ उनले भने। उनले सिंहदरबार वैद्यखानालाई यो उपचार पद्धति अनुसार हुने उपचारमा प्रयोग हुने औषधिको उत्पादनका लागि एउटा युनिट नै बनाउन पनि सुझाव दिए।
सिंहदरबार वैद्यखानाका पूर्व अध्यक्ष बाबुराजा अमात्यले सरकारले प्राथमिकता नदिँदा नै यो उपचार पद्धति ओझेलमा परेको बताए। उनले भारत, चीन र भुटानले यो पद्धतिलाई धेरै माथि लगिरहेको भन्दै नेपालले पनि यसतर्फ तत्कालै कदम चाल्ने समय आइसकेको जानकारी दिए।
आयुर्वेद काउन्सिलका अध्यक्ष डा निर्मल भुसालले स्वास्थ्य मन्त्रालयकै अगुवाइमा मात्र यो उपचार पद्धति अगाडि बढ्न सक्नेमा जोड दिए।
के हो सोवा रिग्पा?
सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा तेन्जिङ धार्के गुरुङका अनुसार सोवा रिग्पा चिकित्सा विज्ञान भनेको प्राचीन उपचार पद्धति हो। यसलाई बुद्धकालीन उपचार पद्धतिका रुपमा चिनिन्छ। नेपालमा विशेषगरी यो उपचार पद्धतिबाट हिमाली क्षेत्रमा लामो समयदेखि उपचार गराउँदै आइरहेको अवस्था छ।
एसोसिएसनकी सदस्य डा पेम्बा डोल्मा लामाका अनुसार शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष जोड दिने यस चिकित्सा पद्धतिलाई साइन्स अफ हिलिङ (स्वास्थ्य उपचार विज्ञान) पनि भनिन्छ। जसमा प्राकृतिक परम्परागत उपचार विधिका बारेमा वैज्ञानिक तरिकाबाट गहन अध्ययन र व्याख्या गरिएको छ। ‘सोवा रिग्पा पद्धति अनुसार उपचार गर्ने जनशक्तिलाई आम्ची भनिन्छ। विशेषगरी सोवा रिक्पा चिकित्सकहरु रोग निदानमा नाडी र पिसाबको परीक्षण गर्ने गर्छन्। नाडी परीक्षणको सहायताले बिरामीमा भएको पञ्च तत्वको असन्तुलन पत्ता लगाई त्यसै अनुरुप उपचार विधि अपनाउने गरिन्छ,’ उनले भनिन्।
यस पद्धतिको उपचारमा विभिन्न प्रकारका प्राकृतिक वनस्पतिजन्य जडिबुटीहरुको प्रयोग गरिन्छ। मुख्यतया तीन हजार मिटरभन्दा माथि पाइने हिमाली जडिबुटीलाई औषधि बनाउन प्रयोग गरिन्छ। यस पद्धतिमा खनिज र जनावरका अवशेषलाई पनि औषधिका रुपमा प्रयोग हुन्छ। यस प्रणालीमा करिब पाँच सय किसिमका जडिबुटी, ५४ किसिमका खनिज र ३८ प्रजातिका जनावरका हड्डी तथा अवशेषबाट औषधि तयार गर्ने प्रचलन छ।
सोवा रिग्पा पद्धतिमा रोगको पहिचान लक्षणका आधारमा र परीक्षण दुवै तरिकाबाट गरिन्छ। सोवा रिग्पा पद्धतिमा रोग अनुसारका औषधि प्रयोग गरिन्छन्, जुन वनस्पति, जीव र खनिजबाट निर्माण गरिएका हुन्छन्। यस पद्धतिमा जुन मानिस जस्तो पर्यावरणीय तथा वातावरणीय क्षेत्रमा बसोबास गर्छन्, त्यही क्षेत्रमा पाइने जडीबुटी, जीव र खनिजलाई औषधिका रुपमा प्रयोग गर्ने परम्परा छ।
सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा गुरुङका अनुसार नेपालमा सोवा रिग्पाको विकास बुद्धको पालादेखि नै भएको हो। त्यसपछि क्रमस विस्तार हुँदै गइरहेको छ। यो उपचार पद्धतिको मान्यता नेपाल, भारत, भुटान, चीन सहित विकसित देशमा पनि छ।
भारतमा सोवा रिग्पालाई सन् २०१० देखि आधिकारिक रूपमा भारतीय औषधि प्रणालीको रूपमा मान्यता दिइएको छ। सन् २०१२ देखि भारतीय केन्द्रीय औषधालयको परिषद्मा समावेश गरिएको छ। चीनमा सन् २०१८ मा युनेस्कोले परम्परागत तिब्बेतियन सोवा रिस्पा मेडिकल प्रणाली भनेर मान्यता दिएको छ। भुटानमा सन् १६१६ देखि नै सोवा रिग्पा चिकित्सा पद्धतिको सुरुवात भएको पाइन्छ। भुटानमा सोवा सिग्पा सम्बन्धी पढाइ पनि हुने गर्छ।
स्वीट्जरल्याण्डमा सन् १९६९ मा सोवा रिग्पा मेडिसिन उत्पादन गर्ने पद्मा कम्पनी स्थापना भएको छ। सन् १९७७ मा सरकारले स्वीकृति दिएको यस कम्पनिबाट उच्चस्तरीय विभिन्न औषधिहरू उत्पादन हुने गर्छ। अमेरिकामा साङसुङ इन्स्टिच्युट अन्तर्गत स्कुल अफ सोवा रिग्पा मेडिसिन रहेको छ। यस्तै सोवा रिग्पा चिकित्साको प्रवद्र्धन, संरक्षण र सुधारका लागि अमेरिकन सोवा रिग्पा मेडिकल एसोसिएसन क्रियाशील छ। युरोपमा पनि युरोपिएन एसोसिएसन फर सोवा रिग्पा ट्र्याडिसनले अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिरहेको छ।