अछाम- अछाम जिल्लाको बयालपाटा अस्पतालमा २ महिने मिड लेभल प्राक्टिकम अर्थात मध्यम स्तर अभ्यास (एमएलपी) तालिम सुरु भएको छ। नयाँ पाठ्यक्रममा आधारित तालिम नेपालमै पहिलोे पटक बयालपाटा अस्पतालमा सुरु भएको हो।
नयाँ पाठ्यक्रमको पहिलो तथा एमएलपी निरन्तरताको २४ औँ व्याचका रुपमा बयलापाटा अस्पतालमा तालिम सुरु भएको स्वास्थ्य तालिम केन्द्र धनगढीका स्वास्थ्य शिक्षा प्राविधिक हरिष बहादुर चन्दले बताए।
स्वास्थ्य तालिम केन्द्र सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग, निक साइमन्स इन्स्टिच्युटसँगको सहकार्य तथा बयालपाटा अस्पतालको व्यवस्थापनमा तालिम सुरु भएको र यसपछि सेती अस्पतालमा समेत तालिम सञ्चालन गरिने उनले बताए।
पारामेडिक्सहरुको दक्षता बृद्धिका लागि तयार पारिएको तालिम देशका अन्य प्रदेशमा समेत सञ्चालन हुने भए पनि नयाँ पाठ्यक्रमको तालिम भने पहिलो पटक सोमबार बयालपाटा अस्पतालबाट सुरु भएको चन्दले बताए।
सरकारी स्वास्थ्य सेवामा रहेका एचए तथा सिएमहरुको स्वास्थ्य दक्षता बृद्धि गरी नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यले एमएलपी तालिम सञ्चालन भइरहेको छ। यसअघि बयालपाटा अस्पतालमा एमएलपी तालिमका २३ औँ व्याच सम्पन्न भसकेका छन्।
बयालपाटा अस्पतालका शल्यचिकित्सा निर्देशक डा मन्दिप पाठकको अध्यक्षतामा कार्यक्रम गरी तालिको सुरुवात गरिएको हो। कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र धननगढीका स्वास्थ्य शिक्षा प्राविधिक हरिष बहादुर चन्द, निक साईमन ईसिच्युटका तालिम अधिकृत अर्चना बोहरा, डाक्टर अतुल भारद्धाज, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।