काठमाडौं- कविहरुबीच प्रतिष्पकर्धा हुने रियालिटी शो पोएट आइडलमा यसपल्ट चिकित्सा अध्ययन गरेकी डा मुस्कान पोखरेलले पनि भाग लिएकी छिन्। बंगलादेशबाट एमबिबिएस पढेकी उनले उक्त प्रतियोगितामा वाहवाही कमाइरहेकी छिन्।
दोस्रो चरणमा पुगेकी उनको प्रस्तुतिपछि निर्णायकहरु अनुप बराल र उपेन्द्र सुब्बाले फाइनलमा देख्न चाहेको बताएका छन्। मुस्कानले दोस्रो चरणको प्रस्तुतिमा आफू बंगलादेशमा पढिरहँदा देशबारे गरेको अनुभूतिलाई कविताका रुपमा प्रस्तुत गरेकी थिइन्।
चिकित्साका शब्द र विम्बको सहायता लिएकी उनी बिचमा सोध्छिन्- मान्छे जस्तै देश पनि बिरामी हुन्छ होला है! देशको डक्टर को?
उनले कवितामै आफूले पढ्ने मेडिकल किताब ह्यारिसन्स र डेभिडसन्स जोडेकी छिन्।
उनको कविताको अंश छ :
जबजब जिन्दगीले पाठ्यक्रमबाहिरको प्रश्न फाल्यो
तबतब जिन्दगीको मार्कसिट सप्लिमेन्ट्रीको दाग थपियो
प्रत्येक गाँस निल्न गाह्रो
यो प्रदेशको जिन्दगी पनि मलाई 'डिस्फेजिया' जस्तै लाग्छ
कुनै 'ह्यारिसन'ले नभनेपनि थाहा छ जिन्दगी पनि एउटा रोग हो
उनले खुलाइन्, 'परदेशिने जीवनको उपचार पद्धति र औषधि त्यहाँ उल्लेख भएको भए उपचार गर्न सक्थें भन्ने विषयमा मेडिसिनका शब्दावलीलाई जोडेकी हुँ।'
यसैगरी घाँटीको नलीबाट गाँस निल्न गाह्रो हुने रोग 'डिस्फेजिया'लाई पनि कविताभित्र घुसाएकी छिन्। विदेशको जीवनमा अनेकपटक घरगाउँको सम्झनाले गाँस निल्न गाह्रो हुने कुलाई त्यसमार्फत् प्रस्तुत गरेको बताइन्।
निर्णायक विप्लव प्रतिकले साहित्यको पृष्ठभूमिबाट कविता लेख्नुपर्छ भन्ने मान्यता सही हो भन्ने आफुलाई नलाग्ने बताए। एउटा पढेर अर्को गर्दा त्यो डायनामिक हुने उल्लेख गर्दै भने, 'कविता रुचिकर लाग्यो । डाक्टरी पनि नछाड्नु र कविता पनि नछाड्नु।'
साहित्यकार सुविन भट्टराईले कवितामा विभिन्न मेडिकल शब्दहरु रहेको उल्लेख गर्दै अध्ययनले साथ दिएको बताए। कवि उपेन्द्र सुब्बाले कविता सुन्दै गर्दा भावुक भएको बताए। उनले भने, 'म भावुक भएछु । विषयगत शब्दहरुले कविता एक किसिमको बन्छ । यो नै ब्युटी हो । सधैं यस्तो नगर्नुहोला। आज रमाइलो लाग्यो।'
उनले जिन्दगीमा जति महत्वले सिक्नुपर्ने हो, त्यो नसिकाइने पनि बताए। 'नानीले कविता भनिरहँदा म त घोत्लीबसेछु । जिन्दगीमा चाहिने कुरा पढाइ नहुँदो रहेछ । त्यो सम्झिबसें । ५२ वर्षमा बल्ल मैले सम्बन्धहरुबारे सिक्दैछु । जीवनबारे त कहिले बुझिभ्याउनु । प्रेम कसरी गर्ने पनि सिकाइदैन। कविताले भावुक बनायो। प्रस्तुति बबाल थियो। फाइनलिस्टका रुपमा हेर्न चाहन्छु,' उनले भने।
यसैगरी अभिनेता अनुप बरालले विदेश भन्नेबित्तिकै समृद्धिको बनाइने बताए। तर कतिको बिजोक भएको भन्दै कविता अर्ग्यानिक लागेको उल्लेख गरे र फाइनलमा पुग्ने शुभेच्छा प्रकट गरे।
निर्णायककै कुर्सीमा रहेकी अभिनेत्री केकी अधिकारीले उनलाई प्रश्न गरिन्, 'तपाईं डाक्टर र कवि?'
उनले उत्तर दिइन्- म दुईटै बन्न चाहन्छु।