रसायन तथा मेडिकल आपूर्ती संघ नेपालको उद्देश्य भनेको व्यवसायीबीच आपसी समन्वय, सदभाव अभिवृद्धि गर्दै व्यवसायीक हितको संरक्षण र सम्वद्वन गर्दै यसै संग सम्बन्धित क्षेत्रको विकास र सो क्षेत्रमा रचनात्मक भूमिका गर्न, संस्थागत व्यवसायिक वातावरणको सृजना गर्न, कार्यरत जनशक्तिको वृद्विविकास गरी सवल बनाउन, सर्वसाधारण जनतालाई सहज तथा सरल रुपमा न्यून मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने वातावरणको सृजना गर्न, नेपाल सरकारको नीति नियमको पालना गरी पारदर्शी रुपमा व्यवसाय गर्न तथा संवेदनशील क्षेत्रको व्यवसायको चिनारी बनाई यस क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले वि. स. २०६१ साल आश्विन २० गते नेपाल सरकारको सम्बन्धित निकाएमा विधिवत रुपमा दर्ता भै यस रसायन तथा मेडिकल आपूर्ती संघ नेपालको नामवाट कार्य गर्दै आईरहेको व्यवहोरा यहाँहरु सवैलाई जानकारी गराउदछु।
स्वास्थ्य सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित उपकरण सामाग्रीको उत्पादन गरि व्यवसाय गर्ने व्यवसायीहरु तथा सोको प्रयोग गर्ने अस्पताल, मेडिकल कलेज, नसिङ्ग होम, विभिन्न स्वास्थ्य संस्था तथा चिकित्सकहरुले विश्वका विभिन्न देशमा उत्पादन तथा आविस्कार गरिएका मेडिकल उपकरण तथा औजारहरु एउटै छाता मुनी ल्याएर जानकारी दिने उद्देश्यले यस नेपाल मेडिकल एक्स्पो २०२४ को आयोजना गरिएको हो र सोको सह–आयोजकको रुपमा यस सँघले कार्य गरिरहेको छ र सोको लागि सदै प्रयत्नरत्त एसडि प्रोमोका अध्यक्ष श्री विवेक र उहाँको सहयोगी साथिं सबैलाई धन्यवाद दिन चाहन्छु।
यो प्रदर्शनीको आयोजना २०१६ देखि गर्न थालिएको हो। आज बाट तीन दिन सम्म चल्ने छ र आशा छ यस एक्स्पोबाट सम्बन्धित सवैले लाभ लिनु हुन्छ।
स्वास्थ्य सामाग्रीहरुको प्रदर्शनी भएको र माननीय उपप्रधान तथा गृह मन्त्रीज्यूको उपस्थितिलाई मौकाको रुपमा प्रयोग गर्दै यस क्षेत्रमा भएका र रहेका समस्याहरुको सन्क्षेपमा जानकारी गराउने अनुमति चाहान्छु। हुनत माननीय मन्त्रीज्यूको डायानामिक लिडरसिपले रहेक क्षेत्रका समस्या बुझनु भएको छ र समाधान पनि गर्दै आउनु भएको छ, आशा छ यस क्षेत्रको समस्यालाई पनि मन्त्रीज्यूले गहन रुपमा लिनु हुन्छ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र जहाँ सानो भूल तथा असावधानी तथा गलत उपकरण तथा सो को गलत प्रयोगले मानव ज्यान नै धरापमा पर्ने जाने तथ्यलाई यस संघले गम्भिरतापूर्वक लिएको छ।
केवल नाफाका लागी गरिने व्यवसाय मात्र व्यवसायनभै सेवा भावमा समर्पित यस क्षेत्रका व्यवसायीहरु रात दिन नभनी, बन्द, हड्ताल छिचोल्दै, ज्यानको वाजी राखेर पनि आफ्ना जिम्मेवारी वहन गर्दै आएका छन्।
हाम्रो देश स्वास्थ्य सामाग्री उपकरणहरुको क्षेत्रमा करिब करिब सत प्रतिशत नै आयातमूखी छ। देशमा आफ्नै उत्पादन हुने वस्तु अतिनै न्यून रुपमा रहेका छन्।
आयातमूखि अर्थतन्त्रको मार अन्य क्षेत्रको तुलनामा यस क्षेत्रले अझ बढि महसुस गर्नु पर्याे। विगतमा भएका लामो नाकाबन्दीको तथा कोभिड २०१९ जस्तो महामारीको समयमा देश गुज्रिँदा यस क्षेत्रले अझ पीडा खप्न बाध्य भयो। तात्कालिन कठिन क्षणमा संघको उद्देश्य भनेको कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थामा सामाग्रीको अभावले उपचार गर्न वन्चित हुन नपरोस भन्ने नै थियो। र त करिब ६ महिना लामो नाकाबन्दीमा समेत सामग्री अभावको महसुस कुनै पनि स्वास्थ्य संस्थाले गर्नु परेन।
स्वास्थ्य सामाग्री उपकरण तथा यस संग सम्वन्धित अन्य वस्तुहरुको आयात करिब २५ अर्बको हुने गरेको छ र सो आयातमा सरकारले राजश्व करिब ५ अर्ब प्राप्त गर्ने गरेको छ। यति ठूलो रकमको आयात गर्ने तथा राजश्व तिर्ने व्यवसायीहरु प्रति हेरिने सरकारी दृष्टिकोण आज पनि सकारात्मक छैन। नकारात्मक दृष्टिकोण परिवर्तन गरि जबसम्म सकारात्मक रुपले हेरिँदैन तबसम्म व्यवसायीले खुल्ला दिलले आफ्नो व्यवसायिक कार्य गर्न सक्दैनन्।
अब म यस संघले भोगेका तथा भोग्ने गरेका समस्याहरुको चर्चा गर्न चाहन्छु। सर्वप्रथम त नेपाल र भारतबीच खुला सिमाना रहेको र सो को प्रयोग गरि अनाधिकृत रुपमा हाल पनि न्यून मूल्यमा भंसारबाट सामग्री भित्रिइ सोको प्रयोग अधिकांस तराई क्षेत्रमै हुने गरेको छ। अतःत्यस्ता वस्तु तथा सामग्री आयातलाई नियमनगरि सहि मूल्यमा आयात गर्ने वातावरण वनाइनु पर्दछ। जसले गर्दा राजश्वमा पनि बृद्विभै स्वच्छ व्यवसायिक प्रतिस्पर्धा हुन जान्छ।
खुला सिमानाको दुरुपयोग गरि भित्रिएका सामग्रीको गुणस्तर माथी सधैँ प्रश्न रहने र सोले प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमाथि असर पार्ने हुँदा सो को नियन्त्रण हुनु जरुरी छ।
विगतका वर्षहरु देखि नै यस संघले स्वास्थ्य सामग्रीहरुको नियमनको लागि आवाज उठाउँदै आएको छ। तर विडम्वना हालसम्म औषधी ऐन २०३५ पनि संशोधन हुन सकेको छैन् भने स्वास्थ्य सामग्रीहरु पनि सोहि ऐनले नियमन गर्ने कुराहरु हालको औषधि व्यवस्थापन विभागको संरक्षणमा असम्भव पर्या छ।
अतःत्यस्ता ऐन/नियमहरु बनाउँदा सम्बन्धित सरोकारवालाहरु संग गृहकार्य गर्ने वातावरण बनाउन पनि म माननीयमन्त्रीज्यूलाई अनुरोध गर्दछु।
नेपाल सरकारवाट हुने सम्पूर्ण खरिद, सार्वजनीक खरिद नियमावली भित्र बसेर गर्नु पर्ने र जून नियमावली दाल चामल खरिददेखि स्वास्थ्य जस्तो संवेदनशील सामग्रीमा समेत एकै रहेको र त्यस प्रणालीबाट न्यून मूल्यमा प्रस्तावित प्रस्तावलाई स्वीकार्नु पर्ने कानुनी वाध्यता रहेको र न्यून मूल्यमा गुणस्तरीय सामग्री खरिद गर्न एक दिवा स्वप्न मात्र हुन जाने हुँदा उक्त प्रणालीलाई परिमार्जन गर्नु अत्यावश्यक रहेको छ।
नेपाल सरकारले २०५९ सालमै राजपत्रमा सूचना प्रकाशित गरि सर्जिकल सामाग्रीहरुमा भन्सार तथा मू. अ. कर छुट गरेको थियो तर त्यस पछि पूनः सो सो कर लगाउने गरिएको छ र भन्सार अत्यधिक रुपमा लगाई मु. अ. कर समेत लगाइएको छ र जसले गर्दा स्वास्थ्य सामाग्री २०—५० प्रतिशत सम्म महँगो पर्ने गरेका छन्। अतः स्वास्थ्य सामग्रीमा भन्सार औषधि सरह १ प्रतिशत गरि मु. अ. कर छुट गरिनुपर्दछ।
आ. व. २०७३/७४ को बजेटदेखि नेपाल सरकारबाट स्वीकृत प्राप्त स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाले सामग्री तथा उपकरण सिधै झिकाउँदा भंसार तथा मू. अ. कर पूरै छुट गरिएको छ। जसले गर्दा व्यवसायिक कम्पनीको भन्दा स्वास्थ्य सेवा प्रदायक संस्थाको लागत न्यून हुन जान्छ र हामीजस्ता व्यवसायीक संस्थाहरु जसले बार्षिक हजारौं मानिसलाई रोजगारी दिई वर्षौंदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई प्रत्यक्ष असर पर्न गएको छ र व्यवसाय नै धरापमा पर्न जाने स्थिति छ। यो कहाँ, कुन अभिप्रायले गरिएको हो? यदि छुट गर्ने हो भने उक्त सामग्रीहरु व्यवसायीक कम्पनीले झिकाउँदा पनि छुट हुनुपर्यो होइन भने व्यवसायीक कम्पनीलाई छुट नदिई सिधै प्रयोगकर्तालाई मात्र छुट दिनुको औचित्य बुझ्न सकिएन। त्यति मात्र नभइ यसको दुरुपयोग हुने खतरा पनि त्यतिकै रहेको छ।
साथै हामीले ९९ प्रतिशतभन्दा बढि स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने गरेका छौँ। के ति सामाग्री देश भित्रै उत्पादन गर्न संभव छैन्? अवश्य छ। सम्पूर्ण नभएपनि करिब ३०/४० प्रतिशत सामग्री हामी यहीँ उत्पादन गर्न सक्छौं। जसले गर्दा हजारौँको रोजगारी सृजना हुने र सरकारको राजश्वमा पनि सकारात्मक सहयोग हुने देखिन्छ। तसर्थ अब हामी सो दिशातर्फ पनि अगाडि बढ्न सोच्ने हो की? त्यसका लागी सरकारको सहयोग महत्वपूर्ण हुन्छ र सो वातावरण अबको दिनमा बनाउन पहलकदमी हुनेछ भन्ने आशा र विश्वास पनि लिएका छौं।
अहिलेको समय हामी व्यवसायीहरु असाध्यै अप्ठेरो समयमा छौं, चर्को ब्याज दर र वक्यौता उठ्ने समस्या विकराल रुपमा बढदै गइरहेको छ जसले गर्दा तरलताको समस्या पनि ठूलो रुपमा देखा परेको छ।
अतःमाननीय मन्त्रीज्यूले उधारो बिक्रि पछि भुक्तानी पाउने समस्या समाधानको लागि क्रेडिट एक्ट जति सक्दो छिटो ल्याउने व्यवस्था गर्नु हुनपनि अनुरोध गर्दछु। जसले गर्दा नेपाल सरकारले पनि राजश्व समयमानै प्राप्त गर्न सक्ने, अनावश्यक बैकिङ्ग झन्झटबाट पनि निकासी पाउने र बजार चलाएमान हुन सक्दछ।
नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०२४ को उद्घाटन समारोहमा रसायन तथा मेडिकल आपूर्ती संघ (केम्सान)का अध्यक्ष भक्त हमालले दिएको मन्तव्यको अंश