काठमाडौं- धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशुली नदीमा खसेको थियो।
दुर्घटनामा एक जना महिला सहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए। मृतकको सनाखत हुन बाँकी छ।
दुर्घटनामा ३७ जनाको जीवितै उद्धार गरिएको थयो। घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्। उद्धार जारी छ। बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ। बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।