काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेकपा एमाले र एकीकृत समाजवादी दुवैको दाबी परेको छ। दुवैको दाबी कारण मन्त्रालय टुंग्याउन अझै केही समय लाग्ने स्रोतले बताएको छ।
स्रोतका अनुसार नेकपा एमालेबाट हिजै सपथ लिएका गिरीलाई अध्यक्ष ओलीले स्वास्थ्य मन्त्रालयमा दोहोरिनुपर्ने संकेत गरेका थिए। तर, एकीकृत समाजवादीले अन्तिममा आएर उक्त मन्त्रालय आफूलाई चाहिने बताएपछि टुंगो लाग्न समस्या भएको हो।
गठबन्धनको मन्त्रालय भागबन्डामा सहभागी एक नेताका अनुसार यी दुईमध्ये एक पार्टीले पाउने भने पक्का भइसकेको छ। एकीकृत समाजवादीले अझै मन्त्रीको नाम टुंग्याएको छैन। मेटमणी चौधरी मन्त्री बन्ने सम्भावना उच्च छ र उनले स्वास्थ्य मन्त्रालयका लागि अध्यक्ष माधव नेपालसँग लबिङ गरिरहेका छन्।
नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाइसकेको छ। माओवादीका केन्द्रका मन्त्रीमा ३ जनाले निरन्तरता पाउनेछन्। नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन्।
शक्तिबहादुर बस्नेत, रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन्। उनीहरुको मन्त्रालय भने टुंगिएको छैन। माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय टुंगो लागेको छैन।
नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्दै छन्। ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई पनि मन्त्री बन्ने भएका छन्।
बैतडीबाट निर्वाचित दामोदर भण्डारी र कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बलराम अधिकारी, सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव जितेकी भगवती चौधरी र सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित हरिप्रसाद उप्रेती मन्त्री बन्ने भएका छन्।
रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका हुन्। त्यस्तै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन्।
त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने भएको छ। रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।
सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन्।