नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् एपोन महासचिव सुर्दशन खेगुली। नेपाल औषधि उत्पादक संघको आयोजनामा चितवनमा यही फागुन २५ देखि २७ गतेसम्म नवौं नेपाल फर्मा एक्स्पो हुँदैछ। अहिले एक्स्पोको तयारी तीव्र गतिले बढिरहेको छ। एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने छ। यहि एक्स्पोका सम्बन्धमा संघ (एपोन) का महासचिव खेगुलीसँग गरिएको कुराकानी :
नेपालमा औषधि उद्योगको अवस्था कस्तो छ?
नेपाल औषधि अवस्था अहिलेसम्म राम्रै भन्नुपर्ने अवस्था छैन। आर्थिक मन्दीको अवस्था रहेको नेपाली औषधिको बजार खस्कँदो अवस्थामा रहेको छ। नेपालमा ९० अर्ब रुपियाँ बराबरको औषधीको बजार रहेको छ। त्यसमध्ये नेपाली औषधिको ३४ देखि ३५ अर्ब बराबरको बजार रहेको छ।
समग्र औषधिको हिसाव गर्ने हो भने ५० प्रतिशत औषधिको हिस्सा नेपालमा नै उत्पादन भएका औषधिहरुको रहेको छ। हामी अहिले सरकारको सहयोग विना नै आफ्नै मिहनेतले नेपाली औषधि उद्योगलाई अगाडि बढाइरहेका छौँ। नेपाली औषधि उद्योगको मुलुकका लागि आवश्यक ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता रहेको छ। तर उद्योगहरु पूर्ण क्षमतामा संचालनमा आउन सकेका छैन। अहिले ३० देखि ३५ प्रतिशत क्षमतामा मात्र संचालन रहेका छन्।
सरकारले नेपाली औषधि उद्योगका लागि के गर्नुपर्यो?
नेपाली औषधि उद्योगमैत्री खालका कार्यक्रम सरकारले ल्याउनु पर्दछ। नीजि उद्योगले एक हदसम्म लगानी गरिरहेका छन्। अर्को कुरा बाहिरी मुलुकबाट औषधि नेपाल आइरहेका छन्। त्यसैगरी सरकारले बाहिर मुलुकमा पनि हामीलाई औषधि निर्यात गर्न सक्ने वातावरण बनाइदिनु पर्दछ।सरकारले सरकारी तवरबाट खरिद गर्ने औषधि स्वदेश उद्योगले उत्पादन गरेका औषधि खरिद गरिदियो भने हामीलाई उद्योग संचालन गर्न सहज हुने र मुलुकलाई चाहिने औषधि पनि उत्पादन गर्न सक्छौ।
नेपाल फर्मा एक्स्पो किन आवश्यक पर्यो?
एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने नै हो। नेपालमा करिव ८४ वटा औषधि उद्योग रहेका छन्। नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन भनेर सर्वसाधारणलाई जानकारी दिनका हामीले हरेक दुई–दुई बर्षमा एक्स्पो गर्न थालेका हौ।
नेपालका औषधि भारत लगायत विदेशी औषधिको तुलनामा कतिको गुणस्तर र सस्तो छन्?
कुनै पनि नेपाली उद्योगले उत्पादन गरेको औषधि नराम्रा छैनन्। यहाँका औषधि विश्व स्वास्थ्य संगठनको जिएमपीमा नै रहेको छ। नेपाली उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन्।
यस्तै अहिले औषधिको बजारभाउ धेरै नै माथि पुगि सकेको छ। तर हामीले अझै पनि पुरानै मूल्यमा सस्तो दरमा औषधि उपलब्ध गराएका छौ २०६४ सालदेखि हामीले औषधिको मूल्य समायोजन गर्न पाएका छैनौ। हामीले मुलुकको अवस्था हेरेर अहिले सस्तो दरमा औषधि उपलब्ध गराएका छौ। यहाँका सर्वसाधारणको पर क्यापिटा इनकम हेरेर र भारतसंग दाँजेर नै हामीले सस्तोमा औषधि उपलब्ध गराएका हौ।
भारतमा एक अर्ब ३० करोड मानिस रहेका छन्। भारतले त्यही अनुपातमा औषधि उत्पादन गर्दछ। तर पनि महंगोमा नै वेच्ने गर्दछ। हामी तीन करोड जनसंख्यालाई लक्षित गरेर औषधि उत्पादन गर्दछौ तर पनि हामी सस्तो र गुणस्तरिय औषधि उत्पादन गरिरहेका छौ।
औषधि व्यवस्था विभागबाट हाम्रो बारम्बार अनुगमन हुन्छ। विभागको मापदण्ड विश्वस्तरिय रहेको छ। त्यसैले हामी गुणस्तरमा ध्यान दिन्छौ। हाम्रो औषधिका क्यालिटी विश्वका अन्य औषधिको तुलनामा नै रहेको छ।
औषधि खाएपछि त्यो औषधिले काम गनुपर्दछ। त्यसैले हामीले गुणस्तरसंगै असरदार औषधि बनाएका छौ। नेपालका औषधि गुणस्तरिय, किन्ने सक्ने र अवसदार छन्। यी तिनैवटामा हामी रहेका छौ।
उद्योगहरु किन बन्द भएका होलान्?
हाम्रा आफ्नै पनि केही कमजोरी रहेका छन्। उद्योग बन्द हुनुमा विभिन्न अरु पनि आफ्नै कारण होलान्। तर मार्केट अहिले आर्थिक मन्दी रहेको छ। त्यसले गर्दा हामी प्रतिस्पर्धा गर्न सकेका छैनौ। कतिपय साथीहरु एकै किसिमका प्रडक्ट र नयाँ–नयाँ प्रविधि ल्याउन सकेका छैनौ। हामीले अरुले जे गर्यो त्यही गर्ने बानी रहेको छ। औषधि उद्योगमा पनि एकै खालका औषधि उत्पादनले पनि समस्या परेको छ। हामी अलि फरक ढंंगले उद्योगलाई लैजाने कोसिस गरिरहेका हुन्छौ तर केही कारण हुन सक्दैनौ। दोष हामी आफैमा छ अरुलाई दिनुहुँदैन।
अनि अर्को कुरा सरकारले पनि हामी उद्योगीलाई संरक्षण गर्ने खालका नीति ल्याउनु पर्दछ। सरकारले खरिद गर्ने औषधि स्वदेशी उत्पादनका औषधि खरिद गरिदिने हो भने हामीलाई उद्योग बचाउन सजिलो हुन्छ।
सरकारको सहयोग किन भइरहेको छैन?
सरकारले हामीलाई हेर्ने नजरमा परिवर्तन गरोस भनेर नै फर्मा एक्स्पो गर्न थालेका हौ। सरकारलाई हाम्रा कुरा सवै थाहा छैन। हामी आफैलाई पनि सवै थाहा छैन। विस्तारै बुझ्दै छौ। सरकार समक्ष हामीले हाम्रा कुरा पुर्याउन सकेनौ जस्तो लाग्छ। हामीले आफ्ना कुरा आफैले सरकार समक्ष राख्नुपर्यो। हो त्यही कुरा सरकारलाई पुर्याउनका लागि एक्स्पो गर्न थालेका हौ।
नयाँ औषधि ऐन आइरहेको छ। नेपाली औषधि उद्योगका लागि के कुरा नयाँ ऐनमा राख्नुपर्दछ?
नयाँ बन्न थालेको औषधि ऐनमा धेरै राम्रा कुरा रहेका छन्। मूल्य समिति गठन गरेर औषधिको मूल्य समायोजन गरिने कुरा राखेको सुनेको छु। त्यो एकदम राम्रो हो। विगत १६ बर्षदेखि औषधिको मूल्य समायोजन हुन सकेको थिएन। पुरानो औषधि ऐनमा कुनै वाधा अडचन छ भनेर नयाँ बन्न थालेको औषधि ऐनमा फुकाउनुपर्दछ।