काठमाडौं- नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ। डा मल्लको शनिबार बिहान निधन भएको हो। ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी थिइन्।
उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको डा योगेन्द्र शाक्यले जानकारी दिए।
डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुन्।
०००
डा मल्ल सन् १९३४ सेप्टेम्बर १९ मा काठमाडौंमा जन्मिएकी थिइन्।
डा मल्लकी प्रथम गुरु भनेकै आमा हुन्। औपचारिक शिक्षा नभए पनि आमामा अनौपचारिक ज्ञान प्रशस्त थियो। २००४ सालमा आएर बल्ल उनलाई दरबार हाइस्कुलमा पठाइयो। उनलाई पाँच कक्षामा पढ्न पठाइएको थियो। तर, स्कुलले उनलाई कक्षा ६ मा भर्ना गरिदिएछ। कता कताबाट एक दिन त उनी जुलुसमा पुगिछन् झन्डा बोकेर। घरमा खबर पुगिहाल्यो। उनले चलाखी गरिछन्, ‘म जुलुसमा गएकी छैन। गएकी भए फोटो देखाउनुस् ।’ त्यो जमानामा उनको फोटो कसले खिच्ने, कसले देखाउने?
२००८ सालमा म्याट्रिक गरेपछि उनीसहित आठ छात्राले त्रिचन्द्र कलेजमा साइन्स पढ्ने इच्छा गरेछन्। त्रिचन्द्रमा त्यतिबेलासम्म छात्रालाई साइन्स पढ्ने अनुमति नै थिएन। त्यसैले थप अध्ययनका लागि देशबाहिर जानुपर्यो ।
त्यतिबेलासम्म उनले परदेश त परै जाओस्, काठमाडौँबाहिर समेत पाइला राखेकी थिइनन्।
उनले भारतको नयाँदिल्ली गएर साइन्स पढ्न चाहिन्। तर, उनी थिइन्, नन्–साइन्स स्टुडेन्ट। दरबार हाइस्कुलमा उनले म्याथमेटिक्स र साइन्स पढेकै थिइनन्। तर, म्याथमेटिक्समा चाख भने थियो।
नन्–साइन्स स्टुडेन्टका लागि कलेजले प्रवेश परीक्षा नै लिने भयो । प्रिन्सिपल मिस्टर बेगसहित तीन जनाले अन्तर्वार्ता लिए, ‘तिमी कसरी साइन्स पढ्छौ ?’
‘मलाई कोसिस गर्न दिनुस् । फेल भए पनि मै हुने हो ।’
उनको आत्मविश्वास देखेर प्रिन्सिपलले तत्काल आईएस्सीमा भर्ना गर्ने आदेश दिए । तर, उनीबाहेक अरु नन्–साइन्सवालाले भर्ना हुनै पाएनन् । उनी गएको एक महिनामै परीक्षा भयो । उनले राम्रो गर्न सकिनन् । पहिलो वर्ष जस्ट पास भइन्, दोस्रो वर्षमा अलिक राम्रो भयो ।
आईएस्सीपछि उनलाई मेडिसिनतिर जाने साहस पलाइसकेको थिएन । साथीहरुले ‘ल हामीसँग हिँड्’ घचेटेर लगे एमबीबीएस प्रवेश परीक्षामा । परीक्षा दिएको केही दिनपछि साथीहरुले नै खबर ल्याए, ‘तँ पास भइस् ।’
स्वास्थ्यखबरसँग केही वर्षअघि अनुभव साट्ने क्रममा उनले भनेकी थिइन् 'आफ्नोभन्दा पनि साथीहरुका कारण लेडी हार्डिङ मेडिकल कलेजबाट एमबीबीएस डिग्री लिएकी हुँ ।’
उनको विशेष सपना केही थिएनन् । उनको पालामा महिलाका निम्ति लायक पेसा पनि खासै थिएनन् । समाजले अलिकति जानेको, बुझेको पेसा त्यही डाक्टरी थियो । एमबीबीएस गरेर फर्केपछि वीर अस्पतालको महिला वार्ड तथा प्रसूति वार्डमा चार जना डाक्टरमध्ये उनी एक्ली महिला थिइन् । त्यतिखेर नेपाली महिला डाक्टर सावित्री गुरुङ, सेफालिका प्रधान, कान्ति गिरीलगायत थिए ।
दुई वर्षपछि पोस्ट ग्य्राजुएसनका लागि उनी बेलायतको सुप्रसिद्ध द रोयल कलेज अफ अब्स्टेट्रिसियन एन्ड गाइनेकोलोजिस्टस् (एमआरसिओजी) गइहालिन् । पोस्ट ग्य्राजुएसन त भइहाल्यो, त्यहाँ उनले ड्राइभिङ, स्विमिङ, हर्स राइडिङलगायत अतिरिक्त सोख पनि पूरा गरिन् ।
ड्राइभिङ लाइसेन्स पाएको दिन उनले डीआरसीओजी गरेको दिनभन्दा ज्यादा बधाई पाइन् । थुप्रैले बधाईका साथै फूल, केक र चकलेट उपहार पठाए उनलाई ।
सन् १९६८ मा डा. मल्ल नेपाल आइन् ३१ महिनाको कोर्स सकेर । वास्तवमा उनी नेपालबाट एमआरसीओजी गर्न जाने पहिलो महिला डाक्टर थिइन् । उनीभन्दा पहिले एमआरसीओजी गर्ने डा. कान्ति गिरी भने भारतबाट गएकी थिइन् ।
डा. मल्ल वीर अस्पतालकै काममा फर्किइन् । तर, त्यतिबेलासम्म वीरको प्रसूति वार्ड प्रसूति गृहमा गाभिइसकेको थियो । डा. मल्ल प्रसूति गृहमा जाँदा जम्मा ४० बेड थियो भने छाड्दा दुई सयभन्दा बढी बेड भइसकेको थियो ।
प्रसूति गृह अस्पतालको पहिलो प्रमुख भइन्, डा. कान्ति गिरी। त्यसपछि त्यो जिम्मेवारी उनले सम्हालिन् । पछि प्रसूतिगृहमा डा. सावित्री गुरुङ आउँदा उनलाई अप्ठ्यारो प¥यो । आफूभन्दा सिनियरको हाकिम कसरी हुने ? मन्त्रालयलाई पनि कसरी देऊ भन्ने ? उनको भावनाअनुसार नै डा. गुरुङ डाइरेक्टर भइन् भने डा. मल्ल डेपुटी डाइरेक्टर । उनले एडमिनिस्ट्रेसन प्लस क्लिनिकल पाटो हेरिन् ।
प्रसूति गृह अस्पतालमा डा. मल्लले मेडिकल सुपरिटेन्डेन्ट, डेपुटी डाइरेक्टरदेखि डाइरेक्टर हुँदै अध्यक्षको जिम्मेवारी समेत सम्हालिन् । उनको अर्जुनदृष्टि महिला तथा बालबालिकाको स्वास्थ्यका साथै प्रसूति सेवामा कसरी अन्तर्राष्ट्रिय स्तर दिन सकिन्छ भन्ने नै रह्यो । उनले विश्व स्वास्थ्य संगठनको म्याटर्नल मोडालिटी पछ्याइन् ।
अवस्था कस्तो थियो भने अस्पतालमै पनि ज्यादातर बच्चाहरु निमोनिया भएर अर्थात् चिसिएर मर्थे । तिनका लागि थर्मल कन्ट्रोलको समेत व्यवस्था भयो । नयाँ नयाँ प्रविधि भित्र्याउन अर्थ मन्त्रालय पनि सहयोगी भइदियो र आमूल सुधार सम्भव भयो ।
पछि गएर डा. मल्ल प्राध्यापनतिर मोडिइन् । पोस्ट ग्य्राजुएट प्रोग्रामको कोअर्डिनेटर भएर काम गरिन् । सन् २००३ देखि २००६ सम्म नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (नाम्स)को डिन भइन् । वीर अस्पतालको डाइरेक्टर पनि भइन् । त्यसबीचमा अर्थात् १९९१ देखि १९९४ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी उपाध्यक्षको जिम्मेवारी पनि उनको काँधमा आइप¥यो । उनले सरकारी जागिरे जीवन छाडेको सन् २००८ सालमा हो ।
त्यसपछि नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेजमा अनुबन्ध भइन् डा. मल्ल । नेपाली सेनाको मेडिकल कलेजमा प्राध्यापन गर्ने भए पनि उनको मुकाम भने वीरेन्द्र अस्पताल छाउनी नै हुन्थ्यो । त्यहाँ पाँच वर्ष बिताएपछि बल्ल उनले औपचारिक रुपमा प्राध्यापनबाट विश्राम लिएकी हुन् ।
डा. मल्लको कार्यक्षेत्र प्राज्ञिक अध्ययन, अनुसन्धान पनि हो । उनका ‘रिसर्च रिपोर्ट अन पर्फमेन्स स्ट्यान्डर्ड एन्ड बेन्चमार्क स्टाबिलिस्मेन्ट एट म्याटर्निटी हस्पिटल’, ‘इसेन्सिएल अब्स्टेट्रिक फङसन्स’, ‘गाइडलाइन्स फर द डक्टर्स वर्किङ एट प्रसूति गृह हस्पिटल’ आदि उनका पुस्तक प्रकाशित छन् ।