काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले हाडजोर्नी तथा नसा रोगसहित पुनर्स्थापना आवश्यक पर्ने बिरामीका लागि पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ।
सेन्टरले पुनर्स्थापना केन्द्र निर्णमाण र सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ। केन्द्रका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्रि रिजालका अनुसार पुनर्स्थापना केन्द्र निर्माणका लागि जग्गाको खोजी समेत भइसकेको छ।
उनका अनुसार गोदावरी नगरपालिकाले पुनर्स्थापना केन्द्र निर्माण र सञ्चालनका लागि भन्दै एक सय रोपनी जग्गा समेत दिने निर्णय गरिसकेको छ। गत ८ पुसमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले ट्रमा सेन्टरको पुनर्स्थापना केन्द्रका लागि आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।
डा रिजालका अनुसार नगरपालिकाको वडा नं १० र ६ को सिमामा पर्ने झ्यालुङटार सामुदायिक बन र फैडोल सामुदायिक बन क्षेत्रभित्र बन्द अवस्थामा रहेको पुरानो ढुंगा खानी क्षेत्रमा पुनर्स्थापना केन्द्रका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।
जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको डा रिजालले जानकारी दिए।
‘ट्रमा केशमा झण्डै ७० प्रतिशतलाई फिजियोथेरापी तथा अन्य आवश्यक थेरापीका लागि पुनर्स्थापना केन्द्र (रिहाव सेन्टर)मा बस्नैपर्ने हुन्छ। तर, सरकारी तवरमा केन्द्रीय तहको यस्तो रिहाव सेन्टर छैन। त्यसैले हामीले केही समयदेखि यसमा जोडबल गरेका थियौँ,' उनले भने, 'गोदावरी नगरपालिकाले करीब १०० रोपनी जग्गा हामीलाई उपलब्ध गराउने निर्णय गरेको छ,’ डा रिजालले भने।
डा रिजालका अनुसार अस्पतालमा उपचारका लागि आएकामध्ये एक वर्षमा पाँच सय जना जतिलाई पुनर्स्थापना केन्द्रमा पठाउनु पर्ने हुन्छ। हाल सरकारी स्तरको पुनर्स्थापना केन्द्र नहुँदा गैरसरकारी र निजी संस्थाका केन्द्रमा पठाउनु पर्ने बाध्यता रहेको उनले बताए।
'केन्द्रीय स्तरमा सरकारी पुनर्स्थापना केन्द्र हालसम्म पनि नहुँदा निजी र एनजिओले चलाएका संस्थामा बिरामीलाई पठाउनु पर्ने बाध्यता रहेको छ,' उनले भने, 'ट्रमाले नै पुनर्स्थापना सञ्चालनमा ल्याउँदा बिरामीले सहज रुपमा सेवा पाउन सक्ने छन्।'
डा रिजालले ट्रमा सेन्टरमा बिरामीले सहज रुपमा सेवा पाउन भनेर अन्य सेवाहरु समेत विस्तार र सुधार गर्दै लगिरहेको जानकारी दिए।
उनका अनुसार ट्रमामा भर्ना भई उपचार सेवा लिइरहेका बिरामीका लागि निःशुल्क वितरण गरिने खाना/खाजाको लागि भान्छा संचालनमा ल्याइएको, अस्पतालबाट समेत औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरु (न्यूट्रास्युटिकल) सिफारिस नगर्ने व्यवस्था गरिएको, चोटपटक लागेका बिरामीहरुको उपचारको क्रममा आकस्मिक रुपले डायलाइसिस गर्नुपर्ने भएमा उपयोग गर्ने गरी डायलाइसिस मेसिसनको व्यवस्था, आकस्मिक कक्षमा एमडीजीपी र एनेस्थेलियोजिष्ट सहित ट्रमा रिससिटेसन कक्षको स्थापना लगायतका काम भएको छ।
यसैगरी, अस्पतालले हाल सञ्चालनमा रहेका पाँच वटा शल्यक्रिया कक्षलाई मोडुलरमा स्तरोन्नतरी गर्ने काम गरिरहेको, अनुसन्धानमूलक कार्य अभिबृद्धि गर्न अनुसन्धान र तालिम एकाईको स्थापना, आइसीयू सेवा विस्तार एवं सुदृढिकरणको काम समेत भएको डा रिजालले जानकारी दिए।