गाजा सहर- इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ। गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ।
इजरायल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको बताए। उनले अभियानको उद्देश्य सर्वसाधारणलाई नोक्सान पुर्याउनुको सट्टा हमास लडाकुहरूसँग लड्नु रहेकामा जोड दिए।
“हमासका वरिष्ठ लडाकुहरू अल–शिफा अस्पतालभित्र पुनः भेला भएका छन् र अस्पतालको प्रयोग इजरायलविरुद्ध हमला गर्नका लागि भइरहेको छ भन्ने हामीलाई थाहा छ”, उनले भने।
उनले नागरिकको हताहती कम गर्नका लागि सटीकता र सावधानीका साथ कारबाही गरिने बताए। आइडिएफले अस्पताल परिसरमा बिरामीको सहायताका लागि अरबी भाषा बोल्नेहरू र चिकित्साकर्मीहरू परिचालन गरेको छ र नागरिकहरूलाई मानवीय सहायता प्रदान गरिरहेको छ।
“बिरामी र चिकित्साकर्मीहरूका लागि अस्पताल खाली गर्नुपर्ने कुनै बाध्यता नभए पनि त्यहाँबाट निस्कन इच्छुक नागरिकहरूका लागि एउटा मार्ग उपलब्ध छ”, उनले भने।
यसैबिच अल जजिराका अनुसार गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी इजरायली कारबाही सम्बन्धमा विज्ञप्तिमा भनेको छ, “हामी अल–शिफा मेडिकल कम्प्लेक्सभित्र मेडिकल स्टाफ, बिरामी र विस्थापित मानिसको जीवनका लागि इजरायली कब्जालाई जिम्मेवार मान्छौँ।”
“कब्जा गर्ने शक्तिले जे गरिरहेको छ, त्यो अन्तर्राष्ट्रिय मानवीय कानुनको घोर उल्लङ्घन हो, इजरायली कब्जाले अझै पनि विश्वलाई धोका दिन र अल–शिफा मेडिकल कम्प्लेक्समा हमलालाई सही ठहर गर्न आफ्नो बनावटी कथाहरू प्रयोग गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ। रासस