जसरी मधुमेहको समस्या बढ्दैछ, उसैगरी त्यसको उपचारको बजार पनि उत्कर्षमा पुग्दैछ। त्यसमा सबैभन्दा बढी ‘सुगर मनिटर’ अर्थात् रगतमा चिनीको मात्रा जाँच गर्ने उपकरणको विज्ञापन धेरै देखिन्छ।
मधुमेह भएकालाई मात्र होइन, नभएकालाई पनि यो उपकरण सिफारिस गरिन्छ। जबकि मधुमेह नभएकालाई यस्तो उपकरण जरुरी नै नहुने चिकित्सकहरु बताउँछन्। कतिपय अवस्थामा त यसले खानपान विकार (इटिङ डिसअर्डर) पनि निम्त्याउन सक्छ।
खानपान विकार भनेको अस्वस्थ खानपानका कारण हुने एक मनोवैज्ञानिक अवस्था हो। कोही अत्यधिक खाने, कोही खानपान छाड्ने, मोटोपनको कारण कम खाने, शरीरलाई सुडौल बनाउने चक्करमा कम खाने जस्ता प्रवृत्तिले अरु स्वास्थ्य समस्या ल्याउन सक्छ। खानपानमा बढी सचेत हुनु वा लापरवाही हुनु पनि मानसिक रोगको एउटा कारण हो।
यसरी खानपानमा बढी नै सजग हुनेहरुले ‘सुगर मनिटर’ प्रयोग गरेको पाइन्छ। यस्ता उपकरण प्राय: सामाजिक सञ्जालमा प्रचार गरिन्छ। बेलायतमा जेडओइ जस्ता प्रतिष्ठित कम्पनीहरूले त्यस्ता मनिटरलाई बढावा दिइरहेका छन्।
यसै सन्दर्भमा बेलायतको नेसनल हेल्थ सर्भिसका मधुमेह सल्लाहकार प्रोफेसर पार्थले भनेका छन्, ‘मधुमेहको समस्या नभएकामा यो मेसिनको कुनै काम देखिएको छैन। यसले चिनी नियन्त्रणमा भूमिका खेल्छ भनेर ठोस प्रमाण छैन।’
जेडओइले यससम्बन्धी अनुसन्धान प्रारम्भिक चरणमा रहेको तर यो अत्याधुनिक प्रविधि भएको बताएको छ। मधुमेह भएकाहरूको रगतमा चिनीको स्तर खाना खाएको केही घण्टापछि पनि उच्च रहन्छ। यदि बढेको चिनीलाई नियन्त्रण गरिएन भने यसले अरु अंगलाई हानि पुर्याउन सक्छ।
जेडओइ पनि मधुमेह नभएका मानिसहरूलाई सुगर मोनिटर बेच्ने कम्पनीहरूमध्ये एक हो। यी ग्याजेटहरू तीन सय पाउण्डमा बेचिन्छ। यसका विज्ञापनहरू धेरै सामाजिक सञ्जाल प्लेटफर्महरूमा देखिन्छन्।
यसले कसरी काम गर्छ ?
शरीरमा चिनीको मात्रा कति छ भनेर जान्न यो ग्याजेट प्रयोग गर्ने मानिसहरूले यसलाई दुई हप्तासम्म लगाउँछन्। यसबाट खाना खाएपछि शरीरमा चिनीको मात्रा निगरानी गरिन्छ।
जेडआइ भन्छन्, ‘यो परीक्षणले दुई फरक व्यक्तिको शरीरले एउटै खानामा पूर्णतया फरक प्रतिक्रिया गर्न सक्छ भनेर पत्ता लगाउन मद्दत गर्छ।’
जस्तै, आहारमा कार्बोहाइड्रेट खाएपछि मानिसको रगतमा चिनीको स्तर अर्को व्यक्तिको भन्दा बढी हुन सक्छ। यस्तोमा यो उपकरणले व्यक्तिलाई खाना छनोट गर्न मद्दत गर्न सक्छ।
तर अनुसन्धानकर्ताहरुले शरीरमा चिनीको मात्रा अत्यधिक बढ्ने र घट्ने तथ्यांकहरु विश्लेषण गरेर पनि यसको घटबढबारे अझै राम्ररी बुझ्न नसकेको तर्क राख्छन्।
धेरै प्रमाणले डाइबेटिज र प्री–डाइबेटिज भएकाहरुमा मात्र शरीरमा रहेको ग्लुकोजको स्तर पत्ता लाग्ने अक्सफोर्ड युनिभर्सिटीका पोषण तथा मधुमेह अनुसन्धानकर्ता डा. निकोला गेस बताउँछन्। ‘हाई ब्लड सुगर मधुमेहको लक्षण हो। यो मधुमेहको प्रत्यक्ष कारण हुन सक्दैन,’ उनी भन्छन्।
मधुमेह दुई खालका हुन्छन्, टाइप वान र टाइप टु मधुमेह। ‘टाइप वान मधुमेह’ तब हुन्छ जब प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ। शरीरमा यसको स्तर निरन्तर कायम राख्न इन्सुलिन इन्जेक्सन चाहिन्छ।
यता, शरीरका कोषिकाहरू इन्सुलिन प्रतिरोधी भएपछि टाइप २ मधुमेह भएको बुझिन्छ। त्यसैले शरीरमा रगतमा ग्लुकोजको स्तर सामान्य राख्न थप इन्सुलिन आवश्यक हुन्छ। टाइप २ मधुमेहलाई खानपान, व्यायाम र नजिकको निगरानीले नियन्त्रण गर्न सकिन्छ।
जेडओइले मानव शरीरमा पेटको ब्याक्टेरिया, आहार र स्वास्थ्यबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेको समेत उल्लेख गरेको छ।
स्वास्थ्यमा कस्तो असर पर्छ ?
जेडओईका प्रमुख वैज्ञानिक डा. साराह बेरीका अनुसार कम्पनीले दशकौंको पोषण अनुसन्धानको तथ्यांक, ब्लड सुगर र स्वास्थ्यबीचको सम्बन्धसँगबारे अनुसन्धान तथ्यांक पनि प्रयोग गरेका छन्। तर उनी आफूसँग पनि कुनै खास निष्कर्षमा पुग्न सक्ने सबै प्रमाण नभएको स्वीकार्छिन्।
खराब खानपानको जोखिमलाई ध्यानमा राख्दै अनुसन्धान गर्ने हो भने ब्लड सुगरको दीर्घकालीन प्रभावहरू बुझ्न दशकौं पर्खिनु आवश्यक रहेको उनी बताउँछिन्।
जनरल प्राक्टिसनर डा. रायन क्रुक रगतमा मधुमेहसँग सम्बन्धित प्रमाण कुरिरहने हो भने यस क्षेत्रमा हुने आविष्कारको अन्त्य हुने बताउँछन्।
क्रुक र जेडओईको विरोध गर्नेहरु पनि लगातार शरीरमा भइरहेको चिनीको स्तर थाहा पाउन गरिने मोनिटरले ब्लड सुगरलाई नियन्त्रण गर्ने र मोनिटरमा देखाइएको नतिजाले नै खानेकुरामा परिवर्तन गर्न मद्दत गर्ने कुरामा सहमत छन्।
यद्यपि, विज्ञहरुले दशकौंदेखि आहार–सम्बन्धित रोगहरूको बारेमा चेतावनी दिइरहेका छन्। तर बेलाबखतमा सयौं आहार कार्यक्रमहरू जसमा के खान हुन्छ वा के खानहुन्न भन्ने बताइएको हुन्छ। यस्ता कार्यक्रमहरु आहार परिवर्तनमा असफल भएका छन्।
यद्यपि, कुनै पनि सामान बनाउँदा आफनो कम्पनीले वैज्ञानिक परीक्षण नगरी सामान नबेचिने जेडओई कम्पनीको दाबी छ।
कम्पनीले वैज्ञानिक र पोषण विशेषज्ञहरूको टोलीमार्फत मानिसहरूलाई प्रमाण–आधारित स्वास्थ्य सल्लाह प्रदान गरिरहेको दाबी गरेको छ।
समाधानको उपाय ?
जेडआईको बजारमा निस्किएका यस्ता मोनिटर जस्ता उपकरणको प्रयोग गर्ने मानिसहरूले आफ्नो स्वास्थ्यका लागि फाइदाजनक खानेकुराहरू पनि कटौती गरिरहनु चिन्ताजनक रहेको डा. क्रुक बताउँछन्।
उनका अनुसार धेरैलाई त कार्बोहाइड्रेट खानेबित्तिकै रगतमा चिनी बढाउन सक्छ भन्ने भान भएको पाएको पाइन्छ। जसले अन्य स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छ।
‘कार्बोहाइड्रेटबाट बच्ने मानिसहरूले अर्को पटक यो लिंदा ग्लुकोजको मात्रा बढेको प्रतिक्रिया पाउन सक्छ। यो त सामान्य कुरा हो। तर यसो गर्नेहरूले आफूमा कार्बोहाइड्रेट पचाउने क्षमता नभएको महसुस गर्न सक्छन्,’ प्राध्यापक कार भन्छन्, ‘मधुमेहका बिरामीले विनाकारण यसको प्रयोग गर्दा अर्कै समस्या आउँछ।
नतिजा, उनीहरु ब्लड सुगरको स्तरको विवरणलाई लिएर धेरै जिद्दी हुन्छन्। यो अवस्था इटिङडिसअर्डर (खाना सम्बन्धी विकार)मा परिणत हुनसक्छ।
इटिङ डिसअर्डर च्यारिटी बीटका अनुसार खानासम्बन्धी डिसअर्डर भएकाहरूले प्रायः तथ्यांकमा ध्यान केन्द्रित गर्छन्। तसर्थ, उनीहरु पनि मधुमेह भएका खानासम्बन्धी डिसअर्डर हुनेहरुलाई यो उपकरण प्रयोग गर्न सिफारिस गर्दैनन्।
कम्पनीले मानिसको खानाको प्राथमिकता, भोक र रगत परीक्षणको नतिजासँग सम्बन्धित तथ्यांकमा आधारित अनुसन्धान प्रकाशित गरी त्यसमा ढाँचा खोज्ने प्रयास गरेको थियो। तर यीमध्ये कुन पक्षले मानिसको स्वास्थ्यमा फरक पारिरहेको छ र कुन संयोग मात्रै हो भनेर देखाउन सकेको छैन।
जेडओईले आफ्नो कार्यक्रमबाट आएको परिवर्तनको बारेमा अध्ययन गरेको छ। तर अहिलेसम्म सार्वजनिक भएको छैन।
यद्यपि, आलोचकहरू भन्छन्, ‘यो अध्ययनले यी सबै पक्षहरू बाहिर ल्याउन असफल भएको छ।’ यस अध्ययनका विभिन्न पक्ष प्रमाणित नभएकाले मानिसले मधुमेहबाट बच्न गलत खानपानमा जोड नदिई फलफूल, कम प्रशोधित खाना र तरकारीहरू बढी खान आवश्यक रहेको डा. गेस बताउँछन्। एजेन्सी