अछाम- अछामको बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन हुने भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ देखि २९ गतेसम्म ३ दिने दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ हुने भएको हो।
नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा मन्दिप पाठकले बताए।
निर्देशक डा पाठकका अनुसार ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुर्याउन र अहिले पाईरहेको सेवामा सुधार ल्याउने सम्मेलनको उद्देश्य रहेको छ। नेपालमा अर्थोपेडिक डाक्टर, शहर केन्द्रीत कार्यक्रम, सिकाई तथा सेमिनारहरु धेरै भएपनि दुर्गममा सेवाको पहुँच पुर्याउन र जनशक्तीको स्तर बृद्धी गर्न आयश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको उनले बताए।
यसका साथै बयालपाटा अस्पतालले बिगत ९ बर्ष देखि निशुल्क रुपमा दिईरहेको ट्रमा तथा अर्थोपेडिक सेवा सम्बन्धी भोगाई र सिकाईको अनुभव आदानप्रदान गर्नु सम्मेलनको अर्को उदेश्य रहेको डाक्टर पाठकको भनाइ छ।
यसका साथै नयाँ आएका अर्थोपेडिक सर्जनहरुलाई दुर्गममा यसको सेवा कसरी राम्रो र विस्तार गर्न सकिन्छ भनेर जानकारी आदान प्रदान गर्नु र नेपालको नीति निर्माणमा संलग्न व्यक्ती, स्वास्थ्य मन्त्रायल तथा प्रदेश निर्देशनालयलाई समेत कसरी सेवाका बारेमा जानकारी गराउन समेत सम्मेलनले टेवा पुग्ने बिश्वास गरिएको छ।
बैशाख २७ देखि २९ अर्थात मे ९ देखि ११ गरी ३ दिने सम्म सञ्चालन हुने सम्मेलनको पहिलो २ दिन प्रिवर्कसप सम्मेलन गरिनेछ। जसमा भिडियो एक्सरे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवा दिन सकिन्छ र बिरामीहरुको चोट भिडियो एक्सरे मार्फत कसरी पत्ता लगाउन सकिन्छ भनेर स्तर बृद्धि गर्न तथा हातखुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाइ कम कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेको ब्राउन विश्वबिद्यालयको प्राविधिक सहयोगमा २ दिनको वर्कसप आयोजना गरिनेछ।
तेश्रो दिन मे ११ अर्थात बैशाख २९ गते नेपाल अर्थोपेडिक एशोसियशनका अध्यक्ष सहित एनेस्थेसियामा काम गर्ने स्वास्थ्यकर्मी, अर्थोपेडिक्स तथा ट्रमा केयरमा संलग्न डाक्टरहरु र अन्य स्वास्थ्यकर्मीका बिचमा दुर्गममा के कस्ता समस्या छन्, कसरी र कुन आधारमा गुणस्तरियता दिन सकिन्छ, सुधारका लागि के के गर्ने र देशका अन्य भागमा सेवा विस्तार गर्न सकिन्छ भन्ने बिषयमा बृहत बहस तथा छलफल हुनेछ।
सम्मेलनमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले गरिरहेको अर्थोपेडिक शिविर, कणार्ली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत अस्पताल, एचआरडिसी र बाजुराका समेत अर्थोपेडिक डाक्टरहरुले दिइरहेको सेवाका अनुभव तथा सिकाइ साझा गर्ने कार्यक्रम रहेको छ।