बागलुङ- बागलुङस्थित धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अस्पतालका मेसु डा प्रधानले प्रहरीसमक्ष निवेदन दिएपछि प्रहरीले अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार आइतबार दिउँसो सोधपुछका लागि श्रेष्ठलाई बोलाइएको हो। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ।
श्रेष्ठले भने बिना पक्राउ पुर्जी आफूलाई जिल्ला प्रहरी कार्यालय ल्याएको प्रतिक्रिया दिएका छन्।
गत बिहिबार दिउँसो कार्यकक्षमै श्रेष्ठले आफूमाथि गालीबेइज्जत, दुर्व्यवहार, जोरजुलुम गर्ने, धम्काउने तथा कुटपीटको प्रयास गरेको भन्दै डा प्रधानले कारबाहीको माग गर्दै श्रेष्ठविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका थिए। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ तथा प्रचलित कानुन बमोजिम कानुनी कारबाही गर्न डा प्रधानले प्रशासनसमक्ष माग गरेका थिए।