काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले सोमबार एक निर्देशक जारी गर्दै अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्नेमाथि कारबाही गर्ने जानकारी दिएका छन्।
'सरकारी सेवामा बिदा लिइ निजी स्वास्थ्य संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्ने र केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारी पूर्ण कार्य गरेकोले प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गरी स्वीकृत गरेको बिदा रद्द गरिदिनको लागि विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएकोले यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' निर्देशक पत्रमा भनिएको छ।
मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।
'केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुले जुन उद्देश्यको लागि बिदा लिएको हो सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थाहरुमा, बिदेशी स्वास्थ्य संस्था एवम् गैरसरकारी संघ संस्थाहरुमा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकोले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेशागत अनुशासनमा रही कार्य गर्नहुन यो निर्देशन जारी गरिएको छ,' पत्रमा भनिएको छ।
हेरौं पत्र
