कामठाडौँ– हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। .एयर क्वालिटी इन्डेक्सको आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ छ।
वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार १९२, आइतबार १७६, सोमबार १५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ पुगेको हो। डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वनडढेलोको धुवाँका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी दिए।
वर्षा भइरहे अझै पनि वायु प्रदूषण न्यूनीकरण हुने वातावरण अभियानकर्मी वर्षा पराजुलीले बताए। मौसमविद्ले भने अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान भएको गरेका छन्।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोसी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए। उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो सङ्केतले चिनिन्छ। “५१ देखि एकसयसम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो सङ्केतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ ।” उनले भने, “१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ।
२०१ देखि ३०० लाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि ४०० लाई खतरनाक र ४०१ देखि ५०० लाई धरै खतरा मानिएको छ ।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ।
यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । रासस