डर : ‘म बेहोस हुन्छु।’
च्यालेन्ज : ‘म बेहोस हुँदिनँ किनकि मेरो परीक्षण सब ठीक छ। मलाई पहिले पनि यस्तो भएको थियो। म बेहोस भइनँ।’
डर : ‘शारीरिक रोग छ कि र ?’
च्यालेन्ज : ‘छैन, परीक्षण सबै ठीक छ।’
डर : ‘दिमाग बिग्रन्छ कि ?’
च्यालेन्ज : ‘बिग्रन्न, चिन्तारोगले दिमाग बिग्रन्न।’
डर : ‘सास रोकिन्छ कि र?’
च्यालेन्ज : ‘रोकिन्न, डराउँदा सास फेर्न अप्ठ्यारो हुने रहेछ। डर हराएपछि सास फेर्न सजिलो हुने रहेछ।’
यस्तै डर अनेकथरिका हुन सक्छन्। डरलाई च्यालेन्ज गर्न जानेपछि १०/१५ मिनेटमै आफूलाई नियन्त्रण गर्न सकिन्छ र केही महिनापछि चिन्तारोगबाट डराउने बानी हट्छ।
१९/२० वर्षका एक युवक चिन्तारोगले सताएर उपचार गर्न मकहाँ आएका थिए र मनोवैज्ञानिक उपचार विधि भए सिकाइदिनुस् भने। उनको शारीरिक परीक्षण गर्दा कुनै रोग थिएन। सल्लाह दिएँ– यो रोगले तपाईंलाई डराउन दिएर सताउने हो। मार्न सक्दैन। दिमाग बिग्रँदैन र बेहोस पनि भइँदैन। आफ्नो डरलाई च्यालेन्ज गर्नुहोस्। उनी डरलाई जित्ने प्रयासमा लागेछन्। एक महिनामै उनले डरलाई जिते र चिन्तारोगलाई पनि जिते।
जति छिटो र जति बलियो गरी डर र नकारात्मक सोचाइलाई च्यालेन्ज गर्न सक्यो, त्यति चिन्तारोग कम हुँदै जाने हो। धेरै जनालाई यो विधि अपनाउँदा पनि ३ देखि ६ महिना लाग्न सक्छ।
३५/४० वर्षका एक पुरुषलाई चिन्तारोग रहेछ। धेरै परीक्षण गर्दा पनि केही रोग वा कारण भेटिएनछ। डर लाग्यो भने उनी दगुर्दारहेछन्। पसिना निक्लेपछि डर कम हुने रहेछ। डर कम भएको कारण यहाँ शारीरिक व्यायाम हो। त्यसैले चिन्तारोगका बिरामीलाई नियमित शारीरिक व्यायाम गर्न भनिएको हो। पसिना निक्लने गरी जुनसुकै व्यायाम गरे पनि हुन्छ। त्यस्तै चिन्तारोग लागेकी एक महिला डर लाग्यो कि लुगा धुन सुरु गर्दिरहिछन्। यहाँ पनि शारीरिक परिश्रम गरेका कारण डर घटेको हो। शारीरिक व्यायामले त्यसबेला लागेको डरलाई कम गर्छ तर डर हराउँदैन। डर हराउनका लागि च्यालेन्ज गर्नु पर्छ।
– भारत बैङ्लोरका श्री श्री रविशंकरले सिकाउने ‘सुदर्शन क्रिया’ सिकेर नियमित घरमा प्राक्टिस गर्ने हो भने औषधि सेवन नगरीकन चिन्तारोग हटाउन सकिन्छ।
– शरीरलाई रिल्याक्स गरे मन रिल्याक्स हुन्छ र मन रिल्याक्स भएको बेलामा चिन्तारोगले दुःख दिँदैन भन्ने सिद्धान्तअनुसार शरीरलाई रिल्याक्स गर्ने तरिका सिकेर चिन्तारोगलाई कम गर्न सकिन्छ।
– मनलाई रिल्याक्स गर्ने तरिका जस्तै विभिन्न किसिमका ध्यान सिकेर चिन्तारोग कम गर्न सकिन्छ। यी सबै तरिका नियमित प्राक्टिस गर्नुपर्छ। कहिलेकाहीँ गरेर मात्र हुँदैन।
यी तरिका अपनाउन नचाहने, नभ्याउने वा अपनाएर फाइदा नभएकाले औषधिको प्रयोग गर्नु पर्छ। औषधि धेरैथरिका छन्। कति समय खानुपर्छ भन्ने कुरा पहिले भन्न सकिन्न। घटीमा ६ महिनादेखि बढीमा वर्षौं लाग्न सक्छ। औषधिका साथसाथै शरीर रिल्याक्स गर्ने तरिका र ध्यान नियमित गर्दा छिटो निको हुन सक्छ।