ब्यूनस आयर्स- अर्जेन्टिनामा यस वर्ष डेंगुका चार लाख २० हजार भन्दा बढी केस भेटिएपछि डेंगु लक्षित खोप अभियान घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप आयोग (कोनेन) को सिफारिसको आधारमा र महामारी विरुद्धको व्यापक रणनीतिको एक भागको रूपमा प्रभावित क्षेत्रलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
मन्त्रालयले डेंगु अति प्रभावित जिल्लाहरूमा १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई चरणबद्ध रूपमा खोप अभियानमा समेटिने बताएको छ।
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनामा यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ।
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेंगु भएपछि सामान्यतया टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने जस्ता लक्षण देखा पर्छ।