यार्सागुम्बा एक बहुमुल्य जडिबुटी हो। यसमा औषधिजन्य गुण हुने र यसको मुल्य पनि धेरै पर्ने भएकाले हिमाली भेगमा जेठ र असार महिनामा यसको खोजी हुने गर्दछ। त्यसैले यो जेठ महिनालाई यार्सागुम्बाको सिजन पनि भन्ने गरिन्छ। खास गरि हिमाली जिल्ला डोल्पा लगायत विभिन्न जिल्लाहरुमा यार्सागुम्बा टिप्न जाने चलन छ।
यतिबेला प्राय जसो स्कुल, कलेजहरु बन्द गरेर यार्सागुम्बा टिप्न जाने चलन रहेको छ। डोल्पा लगाएत छिमेकी विभिन्न जिल्लाहरुको प्रमुख आयश्रोतको रुपमा रहेको यो सिजन एउटा उत्सवको रुपमा आउने गर्दछ। यो समयमा डोल्पाका पाटनहरुमा डोल्पा, रुकुम, रोल्पा र जाजरकोट देखिका मानिसहरुको भिड हजारौं संख्यामा देख्न सकिन्छ।
पारीलो बिहानीमा सेताम्य हिमाल चम्किए पनि मान्छेका भविष्य भने चम्कन सारै दुख खेप्नुपर्छ। धेरै जसोका घर कुर्नलाई साना बालबालिका र बुढापाका हुने गर्दछ्न्। बाँकी मान्छेहरु पोको-पन्तुरो बोकेर पाटन अथवा लेकतिर लाग्दछन। पाटनमा चिसो हावा सँगै मान्छेका दुख झल्किएको देख्न सकिन्छ। कहिले हिउँले ढप्पकै ढाक्छ त कहिले कुहिरोले, कहिले घामले घमाइलो हुन्छ त, कहिले झरीले निथ्रुक्कै बनाउँछ। त्यही दुख सँगै केही आशा बोकि मान्छेहरु यो जेठ असार महिनाभरी पाटनमा डुल्ने गर्दछन्।
यार्सागुम्बा टिप्न जाँदा जङ्क फुड लिएर जाने प्रचलन धेरै छ। लेकतिर बोक्नलाई हलुका हुने, पाटनमा पकाउनलाई दाउरा पनि त्यति नपाइने भएकाले प्रायजसोले चाउचाउ, चिउरा, बिस्कुट लिने गर्दछन्। जसले गर्दा पेट गडबड हुने, झाडा पखाला तथा अन्य स्वास्थ्य समस्या हुने गर्दछ। त्यो भन्दा पनि एउटा प्रमुख स्वास्थ्य समस्या भनेको लेक लाग्ने हो, जसलाई मेडिकल भाषामा अल्टिच्यूड सिकनेस भनिन्छ। यार्सागुम्बा टिप्न जादा लेक लागेर कति जनाको त ज्यान समेत गएको छ। त्यसैले यो लेक लाग्नुको कारण र लेक लागे के गर्न सकिन्छ यसको बारेमा केहि चर्चा गरौं।
किन लाग्छ लेक?
समुन्द्री सतहदेखि २५०० मिटरभन्दा माथिको उचाइमा पुग्दा लेक लाग्ने गर्दछ। विशेषगरी नयाँ जो भर्खरै यर्चा खोज्न गएका हुन्छन् उनीहरुलाई लेक लाग्ने सम्भावना धेरै हुन्छ। यो अक्सिजनको कमीले हुने गर्दछ, जसलाई मेडिकल भाषामा हाइपोब्यारिक हाइपोक्जिया भनिन्छ। समुद्री सतहबाट उँचाइ बढ्दै गएपछि वायुमण्डलमा अक्सिजनको मात्रा कम हुँदै जान्छ र शरीरलाई त्यो वातावरणमा भिज्न समय लाग्छ। अग्लो ठाउँको वातावरणमा बानी पार्ने सिलसिलामा शरीरले छिटो छिटो सास लिने र अक्सिजनको मात्रा बढाउने कोसिश गर्दछ। तैपनि पुगेन भने अल्टिच्यूड सिकनेस अथवा लेक लाग्न सुरु हुन्छ। धेरैजसो मानिसलाई लेक लाग्ने समस्या, कमजोर र बूढाबूढीहरूलाई मात्र लाग्छ भन्ने लाग्छ तर त्यो सत्य भने होइन। प्राय युवा र बच्चाहरुमा, ५० बर्ष उमेर भन्दा माथीका व्यक्तिहरू भन्दा बढी हुनसक्ने विभिन्न अध्यनहरुले बताउँछ।
लेक लाग्नुका तिन अवस्था र लक्षणहरू
अल्टिच्यूड सिकनेसका तीनवटा अवस्था हुन्छन्। एकुट माउन्टेन सिक्नेस, फोक्सो सुनिने (हाइ अल्टिच्यूड पलमोनरी इडेमा) र मस्तिष्क सुनिने (हाइ अल्टिच्यूड सेरिब्रल इडेमा)। माउन्टेन सिक्नेस, यो पहिलो अवस्था हो जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोरी महसुस हुने जस्ता लक्षणहरू देखिन्छन्। दोस्रोमा फोक्सो सुनिने, जसले श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ। सास फेर्न गारो हुने, चाँडो-चाँडो सास फेर्ने, मुटुको चाल तीव्र हुने जस्ता लक्षणहरू देखिन्छन्। अर्को अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो। जसमा मस्तिष्क सम्बन्धि लक्षणहरू जस्तै: जोडले टाउको दुख्ने, बान्ता आउने, केही नगरी पल्टिरहन मन लाग्ने जस्ता लक्षणहरू देखा पर्दछन्। फोक्सो र मस्तिष्क सुनिने भनेको अलि गम्भीर अवस्था हुन्। समयमै उपचार नगरे मानिसको ज्यानै पनि जान सक्छ।
लेक लाग्नबाट कसरी बच्ने र लेक लागे के गर्ने?
लेक लाग्नै नदिन २५०० मिटरभन्दा माथि गएपछि बिस्तारै लेक चढ्ने र दिनमा तीन सय मिटर नबढाइ उक्लिने गर्नुपर्दछ। हिँड्दा पसिना आउने र शरीर सुक्खा हुने हुँदा प्रशस्त मात्रामा पानी पिउनु उत्तम मानिन्छ। राति सुत्ने ठाउँको उचाइ दिनभरि उक्लेको ठाउँभन्दा होचो हुनुपर्दछ। लेक लागेको थाहा पाएपछि शुरुको अवस्थामा माथि नचढी त्यहीँ बसेर आराम गर्ने। त्यसो गरेमा लक्षणहरू बिस्तारै हराउन सक्छन्। तर, त्यति गर्दा पनि ठीक नभएमा होचो ठाउँमा अथवा तल झर्नु पर्दछ।
लेक लागेको बेला आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु उपयोगी मानिन्छ। बिरामी अझै सिकिस्त भएर फोक्सो अथवा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अक्सिजन, एसिटाजोलामाइड, निफेडिपिन र डेक्सामेथासोन जस्ता औषधि बिरामीको अवस्था हेरेर दिनुपर्ने हुन्छ। उकालो चढेको ६ देखि १२ घण्टाभित्र हल्का टाउको दुख्ने वाकवाकि र बान्ता लाग्ने जस्ता सुरुवाति लक्षणहरू देखिन थाल्छन्। बेलैमा सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा एक दुई दिनमै ठीक हुने गर्दछ। तर उपचार नगरी उँचाइमै बसिरहेमा अथवा अझै माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निएर ज्यान समेत जान सक्छ।
पाटनमा बस्दा अरु के के कुरामा ध्यान दिने?
यार्साको सिजनमा पाटनमा मान्छेको बाक्लो भिड हुने, वायु प्रदुषण हुने अत्याधिक चिसो हुने, जङ्क फुड धेरै खाने र पानीका मुहानहरु फोहोर हुने भएकाले लेक लाग्ने मात्र नभएर अन्य रोगबाट पनि बच्न अत्यन्त आवश्यक छ। विशेष गरी खानपानमा ध्यान दिने, काँचो खाने कुरा प्राय नखाने, चिसोबाट बच्न न्यानो र बाक्लो कपडा लगाउने, पानीको मुहान सफा राख्ने, वनमा पाइने बिषालु च्याउ नखाने, बन्यजन्तु बस्ने वरिपरि, खोलाको किनार वा हिउँ पहिरो आउने जस्ता जोखिमयुक्त ठाउमा नबस्ने। इत्यादि कुरामा ध्यान दिन सकियो भने भैपरी आउने घटनाबाट सजिलै बच्न सकिन्छ।