काठमाडौं- कुनैपनि शारीरिक तथा मानसिक समस्या आएपछि उपचारका लागि अस्पताल जाने गरिन्छ। अस्पताल जाँदा धेरैले उचित तयारी अर्थात् जानकारी नराख्दा समस्याको सही निदान हुँदैन। चिकित्सक तथा स्वास्थ्यकर्मीसँग आफ्नो कुरा राम्ररी राख्नका लागि केही निश्चित तयारी जरुरी हुन्छ। जसले उनीहरुलाई तपाईंको समस्याको पहिचान गर्न सघाओस्।
मेडिकल स्टाफसँग भेट्दा उनीहरुसँग शान्त भएर आफूलाई भएको कुरा मीठो शैलीमा प्रस्तुत गर्नुपर्छ। तपाईंसँग अरुले जसरी बोलिदेओस् भन्ने चाहानुहुन्छ, त्यसरी नै उनीहरुसँग प्रस्तुत हुनुहोस्। जसले उनीहरुलाई तपाईंका कुरा ध्यान दिएर सुन्नुका साथै निदानका लाग उचित उपाय निकाल्ने उत्प्रेरणा मिलोस्।
परामर्श अघि
१ तपाईंको शरीरमा आइरहेका परिवर्तनहरुलाई खाली पानमा टिप्नुहोस् (जस्तैः लक्षणहरु देखिएको सुरुको समय, ठाउँ र लक्षणहरु: शरीरको तापक्रम, तौल, दिशा/ पिसाबको रंग र मात्रा, दुखाई, भोक, मानसिक अवस्था, शारीरिक शक्ति, मांशपेशीको दुखाइ वा प्यारालाइसिस, आदि)
२ यस्ता लक्षणहरु कहाँ र कत्तिको देखिएका छन् र केही कारण थाहा भए उल्लेख गर्नुहोस्
३ तपाईंले विगतमा जँचाउनु भएको भए ती विवरण, प्राप्त गरेको उपचार र लिएको औषधिबारे जानकारी राख्नुहोस्
३ कुनै औषधिबाट एलर्जी भएको छ भने त्यो लेख्नुहोस्
४ तपाईंका परिवारमा कुनै वंशाणुगत समस्या पहिचान भएको छ कि छैन जानकारी लिनुहोस्
५ तपाईंको जस्तै समस्या वा बिराम भएका र उपचार गरेका अन्य कोही बिरामीलाई चिनेको भए उनीहरुसँग उपचार प्रक्रिया बारे बुझ्नुहोस् ।
परामर्शको समयमा
१. तपाईंले कुनै औषधि सेवा गरिरहनु भएको भए ती औषधिहरु, प्रेस्क्रिप्सन, कुनै जाँच गरेको भए रिपोर्टहरु, एक्स-रे, मेडिकल रिपोर्ट आदि लिएर जानुहोस्
२. तपाईंले पहिले नै टिपेका समस्या, तपाईंलाई जागेका जिज्ञासाको टिपोट आफैंसँग लैजानुहोस् । जसले तपाईं र चिकित्सकको समय जोगिन्छ।
३. तपाईंले यसअघि टिपेका कुरा बताउनुहोस् र चिकित्सकको प्रश्नअनुसार उत्तर दिँदै जानुहोस् ।
४. तपाईंको परामर्शको उद्देश्य स्पष्ट रुपमा व्यक्त गर्नुहोस् । उपचार र परिक्षणको विस्तृत विवरणहरु बुझ्न कोशिस गर्नुहोस् ।
५. डाक्टरलाई तपाईंको लक्षणहरु भन्नुहोस् तर स्वयं उपचार गर्ने कोशिस नगर्नुहोस् ।
६. तपाईंलाई केही समस्याहरु छन् भने चिन्ता नगर्नुहोस्, प्रश्नहरु सोध्ने प्रयास गर्नुहोस् । यदि बुझ्नु भएन भने फेरि सोध्नुहोस् ।
७. तपाईं सकेसम्म परिवारको सदस्यहरुसँगै जानुहोस् र उनीहरुले तपाईंको सट्टामा प्रश्न सोध्न सक्छन् ।
९ . यदि तपाईंले पहिलोपटक उपचार गर्दै हुनुहुन्छ भने, निम्न प्रश्नहरु सोध्न सक्नुहुन्छ :
- मलाई कस्तो रोग लागेको छ? यसका लागि कस्ता उपचारहरु उपलब्ध छन् ?
- ती उपचार प्रक्रियालेले केही अन्य असरहरु पार्छ कि पार्दैन?
- उपचारले कहिलेसम्म काम गर्छ ? उपचारमा केही अवरोधहरु छन् कि?
- उपचारको लागि कति समय लाग्छ ?
- यदि मेरो अवस्थामा परिवर्तन भयो भने मैले के गर्नुपर्छ?
- मैले उपचार गरिरहँदा वा औषधि खाइरहँदा के-के खान हुन्छ?
- मैले शारीरिक व्यायाम कति गर्दा उपयुक्त हुन्छ ?
- फेरि फलोअपमा कहिले आउने?
- बिचमा असहज महशुस भयो भने के गर्ने ?
- यदि तपाई फलोअपको लागि जानुभएको हो भने निम्न कुरा सोध्न सक्नुहुन्छः
- म उपचारको कुन चरणमा छु?
- के मेरो समस्या नियन्त्रण आयो ?
- औषधिको प्रयोगले कुनै प्रतिकूल असरहरु भएको छ भने कसरी कम गर्ने ?
- लामो समयसम्म यस्ता औषधिहरु लिनाले केही प्रतिकूल असरहरु हुन्छ?
परामर्श पछि
१. तपाईंले औषधिहरु सिफारिस गरिएको समयमा र दिइएको मात्रा अनुसार खानुपर्दछ। तपाईंलाई कस्तो समस्या थियो र औषधि खाएपछि कतिको असर गरेको छ ? ख्याल गर्नुहोस्।
२ औषधिका कुनै प्रतिकूल असरहरु छन् तुरुन्तै सम्पर्क गर्नुहोस् ।
३. उचित हेरविचार र उपचार प्राप्त गर्नको लागि तपाईंको अवस्थाको बारेमा विस्तृत रुपमा घर परिवारसँग छलफल गर्नुहोस् ।