काठमाडौं- सेभ द चिल्ड्रेनले नेपालमा ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत एचआईभी/एड्स नियन्त्रण, क्षयरोग नियन्त्रण र औलो रोग उन्मूलन गर्ने तर्फ प्राप्त हालसम्मका मुख्य उपलब्धि र सिकाइहरु सार्वजनिक गरेको छ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै सेभ द चिल्ड्रेनले उपलब्धि र सिकाइ सार्वजनिक गरेको हो। कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशस्तरीय मन्त्रालयका स्वास्थ्य सचिव एवं निर्देशकहरु, विकास साझेदार संस्थाहरु, नागरिक समाज संगठनहरु र मिडियाका प्रतिनिधिहरुको सहभागिता थियो।
सन् २०२१ को मार्च देखि ग्लोबल फण्डको न्यू फन्डिङ मोडल ३ अनुदान अन्तर्गत सेभ द चिल्ड्रेनले ग्लोबल फण्डको प्रिन्सिपल रिसिपियन्टको रुपमा नेपालमा एचआईभी, क्षयरोग र औलो उन्मूलनसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै सेभ द चिल्ड्रेन नेपालका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले ग्लोबल फण्ड कार्यक्रमहरुको माध्यमबाट ८० लाख भन्दा बढी एचआईभी, क्षयरोग र औलो रोग प्रभावित जनसंख्यामा पुग्न सकिएको बताइन्।
‘नेपाल सरकार एवं नागरिक समाज संगठनहरुको सहकार्यात्मक नेतृत्व तथा मार्गदर्शन र स्थानीय समुदाय र साझेदारहरुसँगको सहकार्यको गर्दा ग्लोबल फण्ड कार्यक्रमहरुको कार्यान्वयन सेभ द चिल्ड्रेनले निरन्तर रुपमा उत्कृष्ट रुपमा गर्दै आएको छ । सम्बन्धित राष्ट्रिय कार्यक्रमहरुसँगै मुलुकको ७७ वटै जिल्लामा सञ्चालित ग्लोबल फण्ड कार्यक्रमहरुको माध्यमबाट हामी ८० लाख भन्दा बढी एचआईभी, क्षयरोग र औलो रोग प्रभावित जनसंख्यामा पुग्न सफल भएका छौँ,’ उनले भनिन्।
सन् २०२३ सम्मको तथ्यांक हेर्दा औलो कार्यक्रम अन्तर्गतका रणनीतिक कार्यहरुको प्रभाव स्वरुप औलो अतिप्रभावित क्षेत्र ६४ प्रतिशतले न्यूनीकरण भएको छ, भने सक्रिय फोसी १५ मात्रै बाँकी छ । त्यस्तै, उक्त वर्ष औलोका १६ रैथाने बिरामीहरु पहिचान गरिए, जुन औलोका बिरामी शून्यमा झार्ने राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशातर्फको उल्लेखनीय उपलब्धि हो।
क्षयरोगको सम्बन्धमा सन् २०२२ को तुलनामा, सन् २०२३ मा क्षयरोगीको पहिचान ३५ प्रतिशतले बृद्धि भएको छ भने उपचार सफलता दर ८९ प्रतिशत बाट ९२ प्रतिशतले बढेको छ । एचआईभीको सवालमा, संक्रमित व्यक्तिहरुलाई उपचार, स्याहार र सहयोगमा जोड्ने काम गरी ९५–९५–९५का ेराष्ट्रिय लक्ष्यहरु हाँसिल गर्ने तर्फ कार्यक्रमले योगदान गरेको छ।
राष्ट्रिय कार्यक्रमले प्रक्षेपण गरेको जनसंख्याको ९४ प्रतिशत कूल एचआईभी संक्रमितको पहिचान गरी, ८७ प्रतिशतलाई एन्टी रेट्रोभाइरल उपचारमा भर्ना गरिएको छ र त्यसरी भर्ना गरिएका व्यक्तिहरुमध्ये ७४ प्रतिशतको भाइरल लोड दबिएको पाइएको छ । एचआईभी संक्रमित बालबालिकाको हकमा १०० प्रतिशत एन्टी रेट्रोभाइरल उपचारमा भर्ना गरीएको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बराकोटीले सिकाइको समीक्षा गर्दै हाल भइरहेका प्रभाव र प्रगातिलाई निरन्तरता दिनुपर्ने बताए।
‘हामीले यी सिकाईको समीक्षा गर्दै अहिले भइरहेको प्रभाव र प्रगतिलाई निरन्तरता दिनुपर्छ । एचआईभी, टिबी र मलेरियाविरूद्व सेभ द चिल्ड्रेनसँग सहकार्य गर्दा नेपाल सरकार गौरवान्वित छ,’ उनले भने।
ग्लोबल फण्ड, सेभ द चिल्ड्रेनका चिफ अफ पार्टी दिपक पौडेलले स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, नेतृत्व र शासकीय प्रणाली सुदृढ गरी १० वर्षीय राष्ट्रिय सप्लाई चेन रणनीति लगायत अन्य रणनीति र निर्देशिकाहरू निर्माण गर्न आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिएको जानकारी दिए।
‘हामीले स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, नेतृत्व र शासकीय प्रणाली सुदृढ गरी १० वर्षीय राष्ट्रिय सप्लाई चेन रणनीति लगायत अन्य रणनीति र निर्देशिकाहरू निर्माण गर्न आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेका छौँ’ उनले भने, ‘ग्लोबल फण्ड कार्यक्रमले कोशी र लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला, र बाग्मती र सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य सामाग्री भण्डार केन्द्रहरुको निर्माण गरेको छ, त्यस्तै भाइरल लोड र जिन एक्स्पर्ट जस्ता डायगोनिस्टिक संरचनाहरुको बृद्घी लगायतमा लगानी गरेको छ।’
ग्लोबल फण्डको अनुदान कार्यक्रम अन्तर्गत, सेभ द चिल्ड्रेनले अन्य कार्यहरु जस्तै उच्चस्तरीय सेवा प्रवाहको लागि स्वास्थ्यकर्मीहरुको क्षमता विकास कार्यक्रम, औलो रोग निगरानी प्रणाली र इलेक्ट्रोनीक लजिस्टीक व्यवस्थापन सूचना तथा प्रतिवेदन प्रणालीको सुदृढीकरणमा सहयोग गरेको छ ।
कार्यक्रम अन्तर्गत निर्मित एचआइभी हेरचाह र एन्टी भाइरल उपचार ट्रयाकरले मुख्य जनसंख्या समुहहरुको निम्ति एचआइभी रोकथामबारे साथै उनीहरुको उपचार, स्याहार, सहयोग, शिशुमा एचआईभी रोग पहिचान, र भाइरल लोड अनुगमनबारे विस्तृत विवरण पत्ता लगाउन र व्यवस्थित गर्न सहयोग गरेको छ ।
कार्यक्रमले एचआइभी, क्षयरोग र औलो स्वास्थ्य सेवाको पहुँचबारे मानवअधिकार र लैंगिकतासम्बन्धी अवरोधहरु सम्बोधन गर्न, एचआईभी विधेयकबारे पैरवी गर्न र बागमती प्रदेशमा यौनिक तथा लैंगिकता अल्पसंख्यकसम्बन्धी नीति अनुमोदन गर्न कृयाकलापहरुको कार्यान्वयन गरेको छ। यी सबै क्रियाकलापहरुले एचआइभी, औलो र क्षयरोगको नियन्त्रणको राष्ट्रिय रणनितिको लक्ष्य हासिल गर्न सहयोग पुर्याएको कार्यक्रममा जानकारी दिइएको छ।