काठमाडौं- वीर अस्पतालमा नेपालमा नै पहिलोपटक एक्लेजिया कार्डिया शल्यक्रिया सम्पन्न भएको छ। अस्पतालले बुधबार करिब दुई घन्टा समय लगाएर उक्त दुर्लभ प्रकृतिको शल्यक्रिया सम्पन्न गरेको हो।
उक्त शल्यक्रियाका लागि भारतको एम्स अस्पतालका चिकित्सक डा आशिष अग्रवालले नेपाली चिकित्सकहरुलाई प्राविधिक रुपमा सहयोग गरेका थिए। उक्त टिममा वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख मुकेश पौडेल तथा डा दिबस खड्का रहेका थिए।
उक्त शल्यक्रिया सप्तरी डाक्नेश्वरी बनौला निवासी २४ वर्षीया समीउल अन्सारी र सुर्खेत निवासी ५६ वर्षिया कृष्णप्रसाद कँडेललाई गरिएको डा मुकेश पौडेलले बताए।
सुर्खेतबाट रेफर भएर आएका ५६ वर्षीया कँडेललाई करिब ४० वर्ष अगाडि देखि नै खाना अड्किने तथा निल्न ग्राहो हुने समस्या थियो। धेरै समयदेखि त्यस्तो समस्या भएका उनको रोग वीर अस्पतालमा आएपछि मात्रै पत्ता लागेको थियो। त्यस्तै २४ वर्षीया सप्तरी निवासी अन्सारीलाई डा भुवनेश्वर यादवले विराटनगरबाट काठमाडौंको वीर अस्पताल रेफर गरेका थिए। उनलाई भने विगत ७ महिनादेखी यस प्रकारको समस्या थियो।
बुधबार सर्जरी सम्पन्न भएको एक दिन पश्चात् अर्थात् बिहीबार नै बिरामी डिस्चार्ज भएर घर फर्किसकेका छन्।
नेपालका सरकारी तथा निजी कुनै पनि अस्पतालमा यस प्रकारको सर्जरी नहुँदा यस्तो सर्जरी गराउन यसअघि विदेश नै धाउनुपर्ने बाध्यता थियो। उक्त सर्जरीका लागि भारतका अस्पतालमा २ देखि साढे २ लाखसम्म खर्च हुने गर्छ। नेपालमा पहिलो पटक गरिएको हुनाले वीर अस्पतालले नि:शुल्क शल्यक्रिया गरेको डा पौडेल बताउँछन्।
कसरी गरिन्छ एक्लेजिया कार्डिया सर्जरी?
इन्डोस्कोपीको माध्यमबाट बाहिर कही कतै दाग नदेखिने गरी गरिने यस प्रकारको शल्यक्रियामा माशंपेशीलाई काटिन्छ। यस प्रकारको सर्जरीमा बिरामीलाई पूर्णरुपमा बेहोस बनाइन्छ।
एक्लेजिया कार्डिया कस्तो समस्या हो?
एक्लोजिया कार्डिया समस्या आएको थाहा पाउने मुख्य लक्षण भनेकै खाना निल्न ग्राहो हुने तथा अड्किनु हो। जसमा खाना निल्ने पाइपको मांशपेशी मोटो हुँदै जान्छ। जसकारण खाना निल्दा खुल्दैंन।
के कारणले आउँछ यस्तो समस्या
यस प्रकारको समस्या के कारण आउँछ भन्ने हालसम्म पत्ता लगाउन सकिएको छैन। कतिपय भाइरसजन्य इन्फेक्सनका कारण पनि यस्तो आउन सक्छ। एकदमै न्यून मानिसहरुमा मात्रै देखिने गर्छ। करिब विभिन्न अनुसन्धान अनुसार करिब १ लाख मध्ये १ जना मानिसमा यस्तो समस्या देखिने गर्छ। दुर्लभ प्रकारको एकदमै थोरै मानिसहरुमा देखा परेपनि यसले धेरै ठूलो समस्या नित्याउन सक्छ। यस्तो समस्या भएपछि बिरामीलाई वान्ता हुने तथा विभिन्न प्रकारका इन्फेक्सन हुने गर्छ।