काठमाडौं- त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीमा टोखाका ४१ वर्षीय दिनेश खड्का औषधि किन्ने लाइनमा थिए। पाँच मिनेट लाइन बसेपछि उनले औषधि पाए। युवा उमेरमै रक्तचापको समस्या देखिएपछि उनी चिकित्सकसँग परामर्श र औषधि खरिदका लागि सेन्टरमा आएका थिए।
युवा उमेरमा नै उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने अवस्था आफ्नै कारण आएको उनी स्वीकार्छन्। ‘शरीरको तौल ७५ केजी छ, खानपानको शैली नै निकै अस्वस्थकर भयो। व्यायाम तथा शारीरिक परिश्रम नहुँदा चाँडै रक्तचापको समस्या देखियो,’ स्वास्थ्य खबरपत्रिकासँग उनले भने।
सेन्टरको फार्मेसीबाट उनले नेपालकै देउराली जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको एम्लोडिपिन औषधि किनेका थिए। उनले नियमित रुपमा सोही औषधि सेवन गरिरहेको जानकारी दिए।
सेन्टरको फार्मेसीबाट नै ४७ वर्षीया निर्मला मगरले पनि उच्च रक्तचापकै औषधि खरिद गरिन्। उनले पनि सोही कम्पनीको औषधि किनेकी थिइन्। मगरलाई रक्तचापको समस्या देखिएको ६ वर्ष भइसकेको छ। श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा कतार गएपछि ७ वर्ष अगाडि उनी छोरा छोरीको उचित शिक्षाका लागि भन्दै मकवानपुरबाट काठमाडौं आइन्।
गाउँघरमा खेतीपाती तथा पशुपालनमा सक्रिय उनी काठमाडौं आएसँगै निष्क्रिय जीवन बिताउन थालिन्। काठमाडौंको खानपान तथा निष्क्रिय जीवनका कारण शरीरमा रोग फसेको उनी बताउँछिन्।
उच्च रक्तचापको समस्या आएपछि उनी नियमित रुपमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणका लागि आउने गरेकी छिन्। उनी नियमित रुपमा एम्लोडिपिन सेवन गर्छिन्।
गंगालाल अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि भेटिएका नुवाकोटका ५६ वर्षीय शिवहरी नेपालले उच्च रक्तचापको समस्या देखिएको पाँच वर्ष भएको जानकारी दिए। उनले पाँच वर्षदेखि क्वेष्ट फर्मास्यिुटिकल्सको औषधि खाइरहेको बताए। ‘डाक्टरको सिफारिस अनुसार औषधि खान थालेको हुँ,’ उनले भने, ‘नेपालकै क्वेष्ट नाम गरेको कम्पनीको औषधि खान थालेकै पाँच वर्ष भइसक्यो।’
नेपालमा पछिल्लो समय उच्च रक्तचापसहित मुटुका अन्य समस्याका बिरामीको संख्या बढ्दो क्रममा रहेको अस्पतालहरुको तथ्यांकले पनि देखाउँछ। बिरामीको संख्या बढेसँगै नेपाली औषधि उत्पादक कम्पनीहरुको औषधिको बजार पनि सोही अनुसार बढ्दै गएको फार्मेसी सञ्चालकहरु बताउँछन्।
औषधि उत्पादकहरु पनि दश वर्ष यताको तथ्यांक हेर्दा नेपाली कम्पनीबाट उत्पादित मुटु रोगका औषधिको बजार हिस्सा क्रमशः उकालो लाग्दै गइरहेको छ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान नेपालमा मुटु रोगको औषधि बजार कति रहेको भन्ने यकिन तथ्यांक नभएको बताउँछन्। उनका अनुसार बजार हिस्सा भने क्रमशः नेपाली कम्पनीको बढ्दो क्रममा रहेको उनी जानकारी दिन्छन्।
नेपाल औषधि व्यवसाय संघका उपाध्यक्ष टंकप्रसाद अधिकारी नेपालमा मुटुका औषधिको बजार हिस्सामध्ये नेपाली कम्पनीको हिस्सा आधाजस्तो रहेको बताउँछन्। ‘ठ्याक्कै तथ्यांक त छैन तर कार्डियाक औषधिमा करिब आधा हिस्सा स्वदेशी औषधि कम्पनीले ओगटेको छ,’ उनले भने। उनका अनुसार नेपाली बजारमा भारतीय कम्पनीहरुको बजार हिस्सा पनि बलियो छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कूल जनसंख्याको करिब २५ प्रतिशतलाई कुनै न कुनै मुटु सम्बन्धी समस्या हुने गरेको पाइएको छ।
नेपालमा करिब ३० प्रतिशतलाई मानिसहरुलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कोलेस्टोरेल र १ प्रतिशतलाई बाथ मुटु रोगको समस्या रहेको छ। चिकित्सकहरुका अनुसार पछिल्लो समय अस्वस्थकर जीवनशैली बढ्दै जाँदा मुटु रोगको समस्या बढ्दै गएको छ।
नेपालमा ३० वटाभन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ।
औषधि व्यवस्था विभागको पछिल्लो तथ्यांक अनुसार ६९ विदेशी कम्पनीहरुले उत्पादन गरेका कार्डियाक औषधिहरु नेपालमा आयात गरी बिक्री वितरण हुने गरेको छ। नेपालमा ८० वटा भन्दा बढी औषधि उद्योगहरु छन्। तीमध्ये मुटु रोगमा प्रयोग हुने औषधि उत्पादन गर्ने कम्पनीहरु यसप्रकार छन्ः
नेपाल फर्मास्यूटिकल ल्याबरोटरी प्रालि
भेगा फर्मास्यूटिकल प्रालि
म्याग्नस फर्माे प्रालि
सिद्वार्थ फर्मास्यूटिकल प्रालि
एसियन फर्मास्यूटिकल प्रालि
नेशनल हेल्थकेयर प्रालि
फ्लोरिड ल्याबरोटरी प्रा .लि
क्यूमेड फरमूलेसन प्रालि
टाइम फर्मास्यूटिकल प्रालि
अलाइभ फर्मास्यूटिकल प्रालि
ओम्निका ल्याबरोटरी प्रालि
पानस फर्मास्यूटिकल प्रालि
क्वेष्ट फर्मास्यूटिकल प्रालि
समर फर्माे कम्पनी प्रालि
लोमस फर्मास्यूटिकल प्रालि
देउराली जनता फर्मास्यूटिकल प्रालि
क्यूबिडी फर्मास्यूटिकल प्रालि
बायोगेन रिमेडिज प्रालि
कस्तुरी फर्मास्यूटिकल प्रालि
रोयल फर्मास्यूटिकल प्रालि
नेपाकेयर फर्मास्यूटिकल प्रालि
सुप्रिम हेल्थकेयर प्रालि
एकर्ड फर्मास्यूटिकल प्रालि
निभिक्स फर्मास्यूटिकल प्रालि
एलिक्जर लाइफ साइन्स प्रालि
मेडड्रिक फर्मास्यूटिकल प्रालि
सीटीएल फर्मास्यूटिकल प्रालि
ग्रेस फर्मास्यूटिकल प्रालि
एरो फर्मास्यूटिकल प्रालि
फारमोनिक लाइफ साइन्स प्रालि
ओम मेगाश्री फर्मास्यूटिकल लिमिटेड