काठमाडौं- भारतीय अभिनेता गोविन्दा घाइते भएर अस्पताल भर्ना भएका छन्। आफ्नै रिभल्वरबाट गोली लागेपछि उनलाई अस्पताल लगिएको हो।
बीबीसी हिन्दीका अनुसार उनी मुम्बइस्थित आफ्नै घरमा रिभल्वर सफा गरिरहेका थिए। दुर्घटनाबस गोली निस्केर खुट्टामा लागेको हो।
उक्त समय उनकी पत्नी सुनीता घरमा थिइनन् । जयपुरमा रहेकी उनी तुरुन्तै अस्पताल पुगेकी छिन्। गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उनी रिभल्वर कभरमा राखिरहेका थिए। त्यही समय रिभल्वर भुइँमा खस्यो र गोली खुट्टामा लाग्यो ।
डाक्टरले गोली निकालिदिएका छन्। उनी अझै केही समय अस्पतालमा रहने बताइएको छ।