काठमाडौं- अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ। यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
“सन् २०२४ मा १० हजार शङ्कास्पद दादुराका घटनामध्ये लगभग छ हजार मानिसमा दादुरा देखा परेको छ । यो सन् २०२३ को तुलनामा वृद्धि भएको हो”, मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले भने।
उक्त रोगको प्रकोप रोक्न मन्त्रालयले देशभर दादुरा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको अमरखिलले जानकारी दिए। दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो। दादुरा भाइरसबाट लाग्ने अत्यन्तै सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा यो सजिलै फैलिन्छ।
दादुराबाट सङ्क्रमित व्यक्तिले आफूसँग नजिकको सम्पर्कमा आएका १० जनामध्ये खोप नदिइएका नौ जनालाई सङ्क्रमण गर्न सक्छ।