काठमाडौं- जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ। अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले एक संयुक्त विज्ञप्तिमा गाजा पट्टीमा पोलियो खोप अभियानको दोस्रो चरण पूरा भएको पुष्टि गरेका छन्। अभियान अन्तर्गतमा दश वर्ष मुनिका पाँचलाख ५६ हजार ७७४बच्चाहरूलाई पोलियो खोपको दोस्रो मात्रा दिइएको छ।
अनुमानित सात हजारदेखि दश हजार बालबालिका दुर्गम क्षेत्रहरूमा खोप लगाउन बाँकी रहेको र उनीहरू पोलियो भाइरसको जोखिममा रहेको जनाइएको छ।
सेप्टेम्बर १–१२ सम्म लागू गरिएको खोपको पहिलो चरणमा पाँच लाख ५९ हजार १६१ वा ९५ प्रतिशत बालबालिकालाई खोप लगाइएको थियो। अक्टोबर १४ देखि गाजामा खोपको दोस्रो चरण निर्धारण गरिएपनि आक्रमणको तीव्रताका कारण सबै बच्चाहरूको पहुँचमा भने पुग्न नसकिएको युनिसेफले जनाएको छ।