काठमाडौँ- नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदैछ। निर्वाचनमा नेकपा एमाले र माओवादी निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटले पेसागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
संयुक्त नर्सिङ पेसागत समूहबाट मीनाकुमारी कार्कीले महासचिवको उम्मेदवारी दिएकी छिन्।
यस्तै संयुक्त प्रगतिशील समूहले डा देवकाकुमारी आचार्यलाई उम्मेदवार बनाएको छ। जानकी धामीले स्वतन्त्र रुपमा आफ्नो दाबी प्रस्तुत गरेकी छिन्।
नर्सिङ संघमा महासचिवको उम्मेदवारी दिएका सबै प्रत्यासीहरुले आफूले जित्ने दाबीसहित आआफ्ना तर्क अघि सारेका छन्।
संयुक्त प्रगतिशील समूहकी महासचिव उम्मेदवार डा देवकाकुमारी आचार्य आफ्नो समूहले नर्सका सम्पूर्ण समस्यालाई सम्बोधन हुने गरी आवाज उठाएको दाबी गर्छिन्। नर्सिङ क्षेत्रका प्राक्टिकल, शैक्षिक, अनुसन्धान तथा व्यवस्थापन पक्षलाई समेत समेट्ने खालका २८ बुँदे एजेन्डा संयुक्त प्रगतिशील समूहले उठाएको उनको भनाइ छ।
‘निजी संस्थाहरुका कार्यरत नर्सहरुमाथि भइरहेको श्रम शोषण, रात्रिकालीन सेवा दिनेलाई बढी सुविधा, जोखिम भत्ता, नर्सिङ क्याम्पसहरु विश्वविद्यालयको मापदण्ड अनुसार हुनुपर्ने तथा गुणस्तरीय नर्सिङ सेवाका लागि अस्पतालहरुले स्तरीयता पालना गर्नुपर्नेमा विशेष पहल गर्नेछौं,’ उनले भनिन्।
प्रत्येक ५ वर्षमा पाठ्यसामग्रीहरु परिमार्जन गराउन तथा नर्सहरुहरुलाई विशेष प्रकारका तालिमको व्यवस्था गराउनका लागि सधैं लागिपर्ने उनले बताइन्। समग्र नर्सिङ पेसालाई सुरक्षित बनाउँदै विगतका उपलब्धिहरुलाई संस्थागन गर्दै नयाँ सोच र अठोट सहित काम गर्ने उनको दाबी समेत छ।
संयुक्त नर्सिङ पेसागत समूहबाट महासचिवकी दाबेदार मीनाकुमारी कार्की विगतका नर्सिङ संघका नेतृत्वले नर्सका समस्याको हल नगरेको आरोप लगाउँछिन्। पेसागत विकास नभएसम्म कुनै व्यक्तिको व्यक्तिगत विकास समेत नहुने उनको दाबी छ।
‘नर्सका समस्याहरु दिनहुँ बढ्दै गइरहेका छन्, पेसागत समस्यालाई वकालत गर्नसक्ने नेतृत्वको आवश्यकता छ। पेसालाई मर्यादित बनाउन सशक्त युवाको खाँचो छ’, उनले भनिन्।
महासचिवकी स्वतन्त्र उम्मेदवार धामीले नर्सहरुको हकहितमा काम गर्ने पेसागत संगठनलाई राजनीति गर्ने औजार बनाउनु गलत भएको तर्क गरेकी छन्। विगतको दुई कार्यकालमा संघमा बढी राजनीति गरिएकोले पेसागत हकहितका काम अगाडि बढ्न नसकेको उनको आरोप छ।
‘त्यस कारण राजनीतिक हस्तक्षेपको विरोधमा मेरो उम्मेदवारी अर्थपूर्ण छ,’ उनले भनिन्। नर्सिङ संघका अधुरा कामहरु पूरा गराउनका लागि महासचिवको स्वतन्त्र उम्मेदवारी दिएको उनको दाबी छ।
‘संघमा राजनीतिक गुटबन्दी र हस्तक्षेप एकदमै बढी भयो, जहिले पनि राजनीतिक आस्थाको आधारमा संघमा काम गर्न धेरै सकस भएको छ। अब नर्सिङ संघले आमुल परिवर्तन परिवर्तन चाहेको छ,’ उनले भनिन्।
पेसागत सुधारका लागि आफूले विभिन्न १० बुँदे मागलाई अगाडि सारेको उनले बताइन्। नर्सहरु विदेश पलायनको अवस्थालाई रोक्न, योग्यता र क्षमता अनुसारको काम तथा पेसामा भएको बेथिति, विसंगति हटाउनका लागि स्वतन्त्र उम्मेदवारका रुपमा सधैं पैरवी गर्ने उनको प्रतिबद्धता छ।