नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तिय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो। समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको हो।
स्वास्थ्य सेवामा प्रभावकारी रुपमा सबैको पहुँच सुनिश्चित गर्नका लागि फार्मेसी विषयका दक्ष जनशक्ति मार्फत अस्पतालहरुबाट आफ्नै फार्मेसी सेवा संचालन गरि बिरामी एवं सेवाग्राहीलाई औषधि तथा औषधिजन्य पदार्थहरु उपलब्ध गराउन अस्पताल फार्मेसी निर्देशिका २०७२ जारि भएको थियो। उक्त निर्देशिका लागु भए पश्चात देश भित्रका सबै जसो अस्पतालहरुले आफ्नै फार्मेसी मार्फत सेवा प्रदान गर्ने कार्यको सुरुवात भयो।
अस्पतालमा स्वास्थोपचारका लागि आउने सेवाग्राहीहरु रोगको पहिचान पश्चात चिकित्सकबाट सिफारिस भएका औषधि लिनका लागि अस्पताल फार्मेसीमा पुग्दछन्। फार्मेसीमा सिमिति स्रोतसाधन, संरचना एवं जनशक्ति मार्फत उच्चतम सेवा प्रवाह गर्नुपर्ने अवस्था हामीमाझ रहेको छ। बीमा कार्यक्रमलाई आम नागरिकले सरल, सहज एवं प्रभावकारी रुपमा सेवा लिन सक्ने अवस्थाको निर्माण गर्नुपर्नेछ। जसका लागि अस्पताल फार्मेसीबाट प्रवाह हुने सेवालाई विभिन्न कोणबाट अध्ययन गरि देखापरेका समस्याहरु साथै चुनौतिलाई निश्चित गर्दै समाधानको वाटो पहिल्याई सेवालाई सवलिकरण गर्नुपर्ने देखिन्छ।
विभिन्न चुनौतीका विषयहरुलाई आधार मानी कार्य अनुभवका आधारमा समाधानका पाटाहरु यसप्रकार प्रस्तुत गरिएको छ।
वर्तमान चुनौती
सेवा प्रवाह तर्फ:
१. स्वास्थ्य बीमा कार्यक्रममा आवद्द नागरिकले अस्पताल फार्मेसीबाट पूर्ण रुपमा औषधि प्राप्त गर्न नसकेको गुनासो बारम्बार प्राप्त हुने गरेको।
२. स्वास्थ्य बीमाले निर्धारण गरेको सूची भन्दा बाहेकका औषधिहरु बिरामीको उपचारका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सिफारिस गर्नुपर्ने अवस्था हुने भएकाले साथै बीमा कार्यक्रमले निर्धारण गरेको औषधि सुचीले सम्पूर्ण प्रकारका औषधिहरुलाई समेट्न नसकेको हुनाले आमनागरिकले अस्पताल फार्मेसीले औषधि उपलब्ध गराउन नसकेको भन्ने धारणा बनिरहेको।
३. एकातिर स्वास्थ्य बीमा कार्यक्रममा आवद्द बिमितको संख्या बढ्दो क्रममा रहेको र अर्को तर्फ औषधिको भण्डारण बिक्रीवितरण एवं परामर्शका लागि पुरानो सिमित स्रोतसाधन, संरचना, एवं दक्ष जनशक्ति मार्फत सेवा प्रवाह गर्नुपर्ने भएकाले छिटो छरितो रुपमा कार्य सम्पादन गर्न नसकिएको अवस्था देखा परेको।
४. स्वास्थ्य बीमा लागु भएका इन्स्टिच्युस्न सप्लाई तर्फ उपलब्ध हुने औषधिको गुणस्तरीयता एवं विश्वसनियता सम्बन्धमा गुनासो आइरहनु।
५. प्रोत्साहनको कमी।
कानुन निर्माण तर्फ:
१. औषधि खरिदका लागि आवश्यक कानुन निर्माण नभएको हुँदा सार्वजनिक खरिद ऐन नियमावलीको अधिन भित्र रही सम्पूर्ण प्रकारका औषधिहरु उपलब्ध गराउनुपर्ने अवस्था छ।
२. उत्पादक, पैठारीकर्ता, टेन्डरका सप्लायर्स र खरिदकर्ताबीच औषधिको अटुट रुपमा उपलब्धता सुनिश्चित हुने अवस्थाको निर्माण गर्न आवश्यक नीति नबन्नु।
सफ्टवेयर विकास तर्फ:
१. हालसम्म पनि मन्त्रालयले तोके वमोजिमका कार्यहरुमा एकरुपता ल्याउने गरि फार्मेसी संचालनको सफ्टवेयर नतोकिनु।
समाधानको पाटो :
१. औषधि खरिदका लागि आवश्यक कानुन निर्माण नभएको हुँदा यथाशीघ्र औषधिजन्य, सर्जिकलजन्य, चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सिफारिस हुने पुर्जामा भएका वस्तुहरु लगायत उपलब्ध गराउनका लागि प्रचलित सार्वजनिक खरिद ऐन नियमावली, अस्पताल फार्मेसी निर्देशिकामा औषधि खरिद सम्बन्धी विशेष कानुनी प्रवन्ध मिलाउनुपर्ने देखिन्छ वा औषधि तथा औषधिजन्य वस्तु खरिद सम्बन्धी कानुन निर्माण गरि गुणस्तरीय औषधिको खरिद व्यवस्थापन सहज, सरल एवं आमनागरिकले अटुट रुपमा अस्पताल फार्मेसीवाट प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेछ।
२. स्वास्थ्य बीमा कार्यक्रममा आवद्द नागरिकले अस्पताल फार्मेसीबाट पूर्ण रुपमा औषधि प्राप्त गर्नका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सिफारिस गरिने पुर्जामा भएका सम्पूर्ण प्रकारका औषधिहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा समाविष्ट गर्नुपर्नेछ।
३. स्वास्थ्य बीमा कार्यक्रममा आवद्द बिमितको संख्या बढ्दो क्रममा रहेको र अर्को तर्फ औषधिको भण्डारण बिक्रीवितरण एवं परामर्शका लागि पुरानो सिमिति स्रोत, साधन, संरचना, एवं दक्ष जनशक्ति मार्फत सेवा प्रवाह गर्नुपर्ने भएकाले छिटो छरितो रुपमा कार्य सम्पादन गर्न नसकिएको अवस्था देखा परेको हुँदा उक्त समस्या समाधानका लागि अस्पतालहरुले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उल्लेख भए अनुसार अस्पताल फार्मेसीलाई विभागको रुपमा स्थापना गरि अस्पताल फार्मेसी विभाग अन्तर्गत मापदण्ड अनुरुपको पर्याप्त भण्डार कक्ष, अस्पताल फार्मेसीको कार्यकक्ष, ओपिडी सेवा /अन्तरंग सेवा /इमर्जेन्सी सेवा/निशुल्क सेवा साथै परामर्श सेवालाई समेत प्रथामिकतामा राखी बिक्रीवितरण कक्ष निर्माण गर्नुपर्ने छ। जसका लागि फार्मेसी विभागको छुटै ब्लक निर्माणको कार्य अघि बढाउनुपर्नेछ। वालवालिका/ज्येष्ठ नागरिक/अपाङ्गता भएका/गर्भवती महिला/स्वास्थ्य बीमा कार्यक्रम तर्फ मेडिसिन रिफिल सम्बन्धी सेवाको समेत सहज रुपमा सेवा लिन सकिने गरि भौतिक संरचना निर्माण गर्नुपर्नेछ। अस्पतालहरुले बिरामीको चापलाई आधार मानी चुस्त सेवा प्रवाहका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्था मिलाउनुपर्ने छ। नेपाल सरकारको हकमा जनशक्ति व्यवस्थापनका लागि ओएन्डएमको प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने देखिन्छ।
४. कुशल फार्मेसी अभ्यासलाई आत्मसात गरि प्रभावकारी सेवा प्रवाहको वातावरण निर्माण गर्दै गर्दा यससंग जोडिएका औषधिको सचेत प्रयोग सम्बन्धमा जानाकारी लिन सकिने गरि ड्रग इन्फरमेसन सेन्टर, बिरामीको सहजताका लागि वार्ड सप्लाइ सम्बन्धी सेवा, कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु (Continuous Pharmacy Education), अनुसन्धान सम्बन्धी कार्य (Research activities related to Prescription pattern,AMRs etc), औषधीय सतर्कता सम्बन्धी कार्य (Pharmacovigilance Programme), चिकित्सकको सिफारिस अनुसारका केहि औषधिहरु प्रोटोकल अनुसार तयार गर्नका लागि Compounding सेवा जस्ता क्षेत्रहरुलाई मध्यनजर राखी आवश्यक नीतिहरु निर्माण गरि गुणस्तरीय फार्मेसी सेवा प्रवाह गर्नुपर्नेछ।
५. अस्पताल फार्मेसी तथा स्वास्थ्य बीमा कार्यक्रमलाई सवलीकरण गर्न आवद्द कर्मचारीहरुको मनोवल उच्च राख्नका लागि पर्फर्मेन्स बेस्ड इन्डिकेटरका आधारमा प्रोत्साहित गर्नुपर्ने छ।
६. औषधि उत्पादक, पैठारीकर्ता, टेन्डरका सप्लायर्स र खरिदकर्ताबीच औषधिको अटुट रुपमा उपलब्धता सुनिश्चित हुने अवस्थाको निर्माण गर्न सम्बन्धित क्षेत्रका वीज्ञ एवं सरोकारवाला निकायहरु संग व्यापक छलफल गरि सप्लाइ चेन म्यानेजमेन्ट- उत्पादकदेखि खरिदकर्तुम्मको सम्बन्धमा आवश्यक नीति निर्माण गर्नुपर्नेछ।
७. अस्पताल फार्मेसीमा मन्त्रालयले तोके बमोजिमका कार्यहरुमा एकरुपता ल्याउने गरि फार्मेसी संचालनको सफ्टवेयर संचालनमा ल्याई स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्नुपर्ने छ।
(लेखक लामिछाने फर्मासिस्ट हुन्।)