काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय प्रति असहमति जनाउँदै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका छन्।
आवासीय चिकित्सकहरूले गत मंगलबार माइतीघर मण्डलामा धर्नासहित आन्दोलनको सुरुवात गरेका थिए । उनीहरुले आज ३ घन्टा देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाई हुँदै आएको आन्दोलनमा माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी बताइएको छ। उनीहरुले गत शुक्रबार पेन डाउन र एप्रोनसहित प्रदर्शन गरेका थिए ।
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु २५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
तर, उक्त निर्णय अस्वीकार गर्दै आन्दोलन अघि सारिएको हो। आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत उनीहरुले बताएका छन्। संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले सरकारी सरह सेवासुविधा पाउनुपर्ने लगायतका चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए।