काठमाडौं- पोस्टर टाँसेर 'क्यामेल' नामक चुरोटको विज्ञापन गर्ने वितरक कम्पनीलाई काठमाडौं महानगरले कारबाही गरेको छ। सेभेन ओसियन नामक वितरकलाई २५ हजार जरिवानासहित कारबाही गरेको हो।
स्वास्थ्यखबरले 'सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप'को शिर्षकमा समाचार लेखेको थियो। काठमाडौंको चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिनुका साथै भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री टाँसिएको समाचारमा उल्लेख छ।
देशको चर्चित व्यवसायीक घराना चौधरी ग्रुपले कानुन विपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गरिरहेको हो। उक्त ग्रुप अन्तर्गत रहेको 'पर्फेक्ट ब्लेन्डस् नेपाल'ले उत्पादन गर्ने 'क्यामेल' ब्रान्डको चुरोटको कानुन विपरित प्रवर्द्धन गरिएको पाइएको हो। चौधरी ग्रुपका विनोद चौधरी सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट सांसद् छन्। उनकै छोरा निर्वाण चौधरी उक्त कम्पनीको म्यानेजिङ डाइरेक्टर हुन्।
सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थको प्रवर्द्धनमा रोक लगाएको छ। तर, उक्त कानुन विपरित कम्पनीले चुरोटको प्रवर्द्धनका लागि भित्ता रंग्याउने, प्रचार सामाग्री झुन्ड्याउने, लाइटर लगायत उपहार दिने, रेस्टुरेन्ट तथा चिया पसलमा उक्त चुरोट इंगित गर्ने लोगोहरु झुन्ड्याउने र कतिपय पसलेलाई नि:शुल्क चुरोट उपहार समेत दिएको पाइएको छ।
दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भन्दै लेखिएको छ, '... होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।'
सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप