वासिङ्टन – राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएआइडीमा विश्वभर कार्यरत १० हजार भन्दा बढी कर्मचारीमध्ये ३०० भन्दा कमलाई मात्र काममा राख्ने योजना बनाएको छ।
अमेरिकाको मुख्यगरी मानवीय सहायता निकाय सरकारी पुनःसंरचनाको लक्ष्यमा परेको छ, जसको नेतृत्व व्यापारी एलन मस्कले गरिरहेका छन्। मस्क राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी मानिन्छन् र ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि यो प्रक्रिया अगाडि बढाइएको हो।
योजनासँग परिचित चार स्रोतहरू अनुसार, केवल २९४ कर्मचारीलाई मात्र जागिरमा राखिनेछ, जसमा अफ्रिका ब्युरोमा मात्र १२ जना र एशिया ब्युरोमा ८ जना मात्र रहनेछन्।
'यो त अति नै भएको छ,' युएसएआइडीका पूर्वप्रमुख जे. ब्रायन एटवुडले भने, 'जो छ वर्षभन्दा बढी समयसम्म निकायको नेतृत्वमा थिए। उनले थपे, "कर्मचारीहरूको सामूहिक निष्कासनले यस्तो निकायलाई अन्त गर्नेछ, जसले विश्वभर लाखौँ मानिसहरूको जीवन बचाएको छ।'
'धेरै मानिसहरू बाँच्छन् जस्तो लाग्दैन,' अहिले ब्राउन विश्वविद्यालयको वाट्सन इन्स्टिच्युटका वरिष्ठ फेलो रहेका एटवुडले भने। अमेरिकी राज्य विभागले टिप्पणीका लागि गरिएको अनुरोधलाई प्रतिक्रिया दिएका छैनन्।
राष्ट्रपति ट्रम्प र अरबपति मस्कले युएसएआइडीका कर्मचारीहरूलाई झूटो रूपमा अपराधी भएको आरोप लगाइरहेका छन्। यसका कारण दर्जनौँ युएसएआइडी कर्मचारीहरूलाई निलम्बन गरिएको छ, सयौँ आन्तरिक ठेकेदारहरूलाई हटाइएको छ, र विश्वभरका जीवनरक्षक कार्यक्रमहरू अन्योलमा परेका छन्।
प्रशासनले मंगलबार घोषणा गरेको थियो कि विश्वभरका युएसएआइडीका नियुक्त कर्मचारीहरूलाई बिदामा राखिनेछ, साथै विदेशमा कार्यरत हजारौँ कर्मचारीहरूलाई फिर्ता बोलाइनेछ।
अमेरिकी राज्य सचिव मार्को रुबियोले भने, ' प्रशासनले केही विशेष कार्यक्रमहरूलाई यी आदेशहरूबाट छुट दिने प्रक्रिया अघि बढाइरहेको छ। तथापि, यी आदेशहरूले विश्वभर रोग फैलिन रोक्ने, भोकमरी नियन्त्रण गर्ने र गरिबी हटाउने प्रयासहरूमा ठूलो असर पार्ने खतरा बढेको छ। राज्य बिभागबाट 'स्टप-वर्क अर्डर' जारी गरिएको हुँदा युएसएआइडीका कार्यान्वयन साझेदारहरू आर्थिक समस्यामा परिरहेका छन्।'
युएसएआइडीलाई स्टेट विभागमा गाभ्ने योजना
यो परिवर्तनले हजारौँ कर्मचारी र उनीहरूको परिवारको जीवनलाई असर गर्नेछ। प्रशासनको लक्ष्य युएसएआइडीलाई स्टेट विभागसँग गाभ्ने रहेको छ, जसको नेतृत्व मार्को रुबियोले गर्दै छन्। तर, युएसएआइडीलाई स्टेट विभागमा गाभ्नका लागि अमेरिकी कंग्रेसको स्वीकृति आवश्यक पर्न सक्छ, किनभने युएसएआइडीलाई बनाउने र यसको बजेटको व्यवस्था गर्ने कानुनी संरचना अहिले पनि यथावत् छ।
कंग्रेसनल रिसर्च सर्भिसका अनुसार, युएसएआइडीले विश्वभर १०,००० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको थियो, जसको दुई-तिहाइ अमेरिकाबाहिर कार्यरत थिए। युएसएआइडीले वित्तीय वर्ष २०२३ मा ४० अर्ब डलरभन्दा बढी बजेटको व्यवस्थापन गरेको थियो, जुन हालसम्मको सबैभन्दा पूर्ण तथ्यांक हो।
एजेन्सीमा भएका घटनाहरूका जानकार स्रोतहरूले बिहीबार केही कर्मचारीहरूले हटाइने सूचनाहरू प्राप्त गर्न थालेको बताएका छन्।
सन् २०२३ मा युएसएआइडीले १३० भन्दा बढी देशहरूलाई सहायता प्रदान गरेको थियो, जसमा धेरैजसो द्वन्द्वग्रस्त र अत्यन्तै गरिब राष्ट्रहरु थिए। कंग्रेसनल रिसर्च सर्भिसको रिपोर्टअनुसार, सबैभन्दा धेरै सहायता प्राप्त गर्ने देशहरू युक्रेन, इथियोपिया, जोर्डन, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, सोमालिया, यमन र अफगानिस्तान थिए।