काठमाडौं- नेपाल लिटरेचर फेस्टिवल नामक साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गर्न खोजिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्। एक्सन नेपाल, नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै ऐन र निर्देशिका विपरित काम गर्न खोजिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सुर्तिजन्य पदार्थ नियन्त्रण तथा कानुन कार्यान्वयनका विषयमा पैरवी गर्दै आएको संस्था एक्सन नेपालले विज्ञप्तिमा भनेको छ, 'सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनाइएको ऐन र निर्देशिका विपरित नेपाल लिट्रेचर फेस्टिभल २०२५ का आयोजकले सुर्ती उत्पादक सूर्य नेपाल प्रालिलाई कार्यक्रममा संलग्न गराउने समाचार प्रति एक्सन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।'
नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले 'साहित्य कार्यक्रम जस्तो पवित्र कार्यक्रममा समाजलाई पछि धकेल्ने कम्पनीलाई अघि सार्ने काम सुन्दर कार्यक्रममा असुन्दर फुली भएको बताएका छन्। उनीहरुले आयोजकले यसमा आत्मसमिक्षा गर्नुपर्ने समेत बताएका छन्.
नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट ३७ हजार भन्दा बढीले अकालमा ज्यान गुमाइरहेका छन्। सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकौंको अनुसन्धानहरूले देखाएका छन्।
नेपालमा पनि सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनाइएको ऐन २०६८ र सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले यस्तो कार्यमा प्रतिबन्ध गरेको छ।
पोखरामा हुन लागेको नेपाल लिट्रेचर फेस्टिभल २०२५ मा जनस्वास्थ्यका लागि हानिकाकर सुर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपाल सेसन स्पोन्सर गर्ने भएकोमा आफू हर्षित रहेको प्रतिक्रिया दिएर आयोजकले बौद्धिक दरिद्रताको परिचय पनि दिएको सरोकारवालको टिप्पणी छ। 'आफ्नो सामाजिक उत्तरदायित्वको समेत प्रवाह नगरी जनस्वास्थ्यलाई गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थ उत्पादकको ब्यानरमुनि बसेर वा बसाएर साहित्य, देश, समाज जस्ता बहुआमायिक विषयहरुमा छलफल गराउनु वा गरिनु बिडम्बनापूर्ण र हास्यास्पद छ,' एक्सन नेपालले भनेको छ।
आम नागरिक, चिकित्सक, पत्रकार, सामाजिक संस्था र विभिन्न सरोकारवालाहरुको ठूलो दबाब र लडाइँपछि बनेका कानुन र आफ्नो सामाजिक उत्तरदायित्व प्रति सचेत रहन र जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने उद्योगको ब्यानरका मुनि कुनै पनि प्रकारको कार्यक्रम आयोजना नगर्न वा त्यसमा सामेल नहुन एक्सन नेपाल आयोजक सार्वजनिक निकायका व्यक्तित्व, लेखक, पत्रकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले प्रश्न गरेका छन्, 'सुर्तीजन्य उत्पादन गर्ने कम्पनीहरूले कलासंस्कृति, स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रमा लगानी गरेर आफ्नो छवि सुधार्ने प्रयास गरिरहेका छन्। तर के समाजका सचेत वर्गले यसको सही मूल्यांकन गर्न सकेका छन् ? आयोजकहरूले कुन आधारमा प्रायोजक छनोट गर्छन् ? के साहित्यिक महोत्सवको उद्देश्य केवल कृतिहरूको अनावरण गर्नु मात्र हो ? यदि यसको मूल लक्ष्य समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो भने, यस्तो कम्पनीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नु गम्भीर अन्तरविरोध होइन ?'