काठमाडौं- जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको छ। अस्पतालमा गर्मीसँगै भाइरल ज्वरोका बिरामी धेरै आइरहेका छन्।
केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा सरदर २५ जना भाइरल ज्वरोको सक्रंमण भएका बिरामी आउने गरेका अस्पतालका निर्देशक डा युवानिधी बसौंलाले बताए ।त्यस्तै इर्मेजेन्सीमा आएका १५ जनामध्ये ५ जना भाइरल ज्वरोका बिरामी आउने गरेको छन् ।
‘फागुनको अन्तिमबाट बिरामी बढ्न थालेका छन्, आकस्मिक कक्षमा ज्वरोका बिरामी बढी छन्,’ डा बसौलाले भने ‘ओपिडीमा रुघाखोकी, निमोनियाका बिरामीको संख्या बढी छ।’ फाटफुट रुपमा झाडापखालाका बिरामी पनि रहेको उनले बताए।
उनका अनुसार साताको सूरुवातमा आइतबार ओपिडीमा १ हजारको हाराहारीमा बिरामी आउँछन् भने अन्य दिन भने ६,७ सयको हाराहारीमा बिरामी हुन्छन् ।
हाल वार्डमा भर्ना दर २० देखी २५ जनासम्म छ भने गर्मीसँगै छालाका रोगका बिरामी पनि उपचारका लागि आउने क्रम बढ्दै गएको उनले बताए।
शुक्रराज ट्रपिकल अस्पतालका रिसर्च युनिट प्रमुख डा शेरबहादुर पुनका अनुसार जाडो सकिएर गर्मी बढेकाले ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या बढेको छ। टाइफाइडका बिरामी पनि बढेका छन्।
भाइरल संक्रमणमा सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धि भएर शरीर कमजोर हुनुका साथै बालबालिका र वृद्धलाई यसले निकै सताउने डा पुनको भनाइ छ। भाइरल संक्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने, शरीरको दुखाइ, टाउको दुखाइ, कमजोरी, सिँगान बग्नु र खोकी आदि लक्षणहरू देखा पर्छन्। यस्ता लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुन सक्छ।
भाइरल ज्वरो सामान्यतया ३ देखि ४ दिनभित्र आफैँ निको हुन्छ। निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन्। यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरो कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सचेतना अपनाउनुपर्ने डा पुनको सुझाव छ।