काठमाडौं- निजी मेडिकल कलेजको श्रम शोषणबिरुद्ध तीन दिनदेखि आवासीय चिकित्सक सडकमा ओर्लेका छन्। सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो। त्यसअघि उनीहरुले जम्मा १९ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका थिए।
न्युन निर्वाह भत्तालाई लिएर विद्यार्थीहरुले केही वर्षदेखि नै आवाज उठाउँदै आएका छन्। तर, आवाज उठाउने विद्यार्थीहरुलाई निजी मेडिकल कलेज सञ्चालकले धम्की र त्रास देखाएर रोक्दै आएका थिए।
यसपल्ट भने देशका १७ वटै मेडिकल कलेजका विद्यार्थीहरु वारपारको लडाइँमा उत्रिएका हुन्। देशभरिका करिब २ हजार भन्दा बढी आवासीय चिकित्सकले माइतीघर मण्डला, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज बाहिर धर्ना दिएर आन्दोलनमा शसक्त बनाउँदै लगेका छन्।
काठमाडौंको किष्ट र नेपाल कलेजका चिकित्सक माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन्। चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सका विद्यार्थीहरुले चितवनमा आन्दोलन गरिरहेका छन्। नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी लगायतका मेडिकल कलेजका चिकित्सकहरुले आफ्नै अस्पताल अगाडि धर्ना र र्याजली गरिरहेका छन्।
पूर्णकालिन दक्ष चिकित्सक भइसके पछिपनि आवासीय चिकित्सकको रुपमा श्रम शोषण गरिएको विद्यार्थीको भनाइ छ। काम गर्नका लागि समेत पैसा तिर्नु पर्ने र न्यायोचित पारिश्रमिक पनि नपाइने कुरालाई लिएर उनीहरुले यसअघि पनि दबाब दिएका छन्। उनीहरुले हप्तामा १२६ घण्टा सम्म काम गर्नुपरेको समेत बताएका छन्।









