काठमाडौं- ब्लुक्रस अस्पतालले महिलामा हुने एडिनोमायोसिस लगायतका समस्याको उपचारका लागि माइक्रोवेव एब्लेशन प्रविधि भित्र्याएको छ। अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रंगिना लाइकमबमको नेतृत्वमा ब्लु क्रस हस्पिटलले माइक्रोवेव एब्लेशन उपचार प्रविधि सुरु गरेको हो।
सोमबार अस्पतालमा एक कार्यक्रम आयोजना गरी उक्त प्रविधिबारे जानकारी दिइएको छ। कार्यक्रममा डा लाइकमबमले भनिन्, 'माइक्रोवेव एब्लेशन एक अत्याधुनिक, मिनिमल इन्वेसिभ उपचार प्रविधि हो। जसले गर्भाशयको विभिन्न समस्याहरु, जस्तै इन्डोमेट्रियोसिस एडिनोमाइसिस र अन्य गाइनाकोलोजीकल विकारहरूमा प्रभावकारी समाधान प्रदान गर्न मद्दत गर्दछ।'
आफ्नो ओपीडीमा आउनेमध्ये ३० देखि ४० प्रतिशत बिरामी एडिनोमायोसिका हुने समेत उनले जानकारी दिइन्। चिकित्सकहरुका अनुसार एडेनोमायोसिस त्यस्तो चिकित्सकिय अवस्था हो, जसले गर्भाशयको भित्री तह (एन्डोमेट्रियम टिस्यु), जो सामान्यतया गर्भाशयको आन्तरिक पत्र बनाउँछ। गर्भाशयको मांसपेशी बढ्न थाल्छ। जसलाई एडेनोमायोटिक गर्भाशय भनिन्छ। जसले गर्भाशयको आकार बढाएर धेरै र लामो समयसम्मको रजस्वला, अत्याधिक पेट दुखाइ र यौनसम्पर्कको समयमा असजिलो जस्ता लक्षणहरू देखिन सक्छन्। विशेषगरी ३०–५० वर्षको उमेर समूह तथा धेरै गर्भधारण गरिसकेका महिलाहरूमा बढी देखिने अध्ययनहरुले देखाएका छन्।

नेपालमा उक्त प्रविधि पहिलोपटक भित्रिएको बताउँदै त्यसका लागि आफूले बिगत ६-७ महिनादेखि प्रयास गरेको डा लाइकबमले बताइन्। चिनका चर्चित चिकित्सक आफैंले निर्माण गरेको प्रबिधि भएकाले त्यसको प्रयोगका लागि चिकित्सकको योग्यता समेत जाँच हुने उनको भनाइ छ।
उपचारमा शरीरमा कुनै ठूलो चीरा नपारी मात्र सानो छिद्र मार्फत रेडियो तरंग प्रयोग गरी उपचारको प्रक्रिया सम्पन्न गरिने डा लाइकबम बताउँछिन्। 'यसले कम पीडा, छोटो समयमै रिकभरी र अस्पताल बसाइको समय घटाउनेछ। उच्च गुणस्तरको, सुरक्षित र प्रभावकारी उपचार विकल्प हो। यस प्रविधिको माध्यमबाट हामी महिलाहरूलाई असहज र लामो उपचार प्रक्रियाबाट बचाउन सक्दछौं,' उनले थपिन्।

अहिले धेरै नेपालीहरु पछिल्लो समय विश्वबजारमा उपलब्ध प्रविधि नेपालमा नभित्रिएका कारण विदेशमा उपचार गर्न जाने गरेका छन्। यो उपचार विधिले महिला स्वास्थ्य उपचारमा सहजता ल्याउने विश्वास अस्पतालले गरेको उनको भनाइ छ। अस्पतालका निर्देशक डा प्रज्वलमान श्रेष्ठ भन्छन्, 'यस्ता प्रविधिबाट उपचारका लागि विदेशमा गएर महंगो खर्च बेहोर्नेपर्ने अवस्थाको अन्त्य गर्न पनि यो प्रविधि भित्र्याइएको हो।'
ब्लु क्रस डाइग्नोष्टिक सेन्टरबाट ब्लू क्रस नर्सिङ होम हुँदै अहिले ५० शैयाको ब्लू क्रस हस्पिटलको रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। बिगत करिब ३ दशकदेखि सेवा दिइरहेको अस्पतालले नयाँ उपचार पद्धति र प्रविधिमा सधैं जोड दिँदै आएको अस्पतालका वित्तिय तथा प्रशासन निर्देशक सति गौतम सिंहल बताइन्। उनले भनिन्, 'नयाँ उपचार प्रविधिको प्रयोग गरेर बिरामीलाई सहज सहज उपचार सेवा दिन सक्रिय डाक्टरहरुको टिमप्रति हार्दिक आभार प्रकट गर्दछौं। उहाँहरुले आफ्नो सीपज्ञानमा निखारता ल्याउँदै नयाँ प्रविधि भित्र्याउन राख्नुभएको प्रस्तावलाई हामीले सधैं सकारात्मक रुपमा लिएका छौं। नयाँ उपचार प्रविधि र पद्धतिमा विश्वास गर्ने गरेकै कारण अस्पतालप्रति बिरामीहरुको भरोसा बढेको छ।'