– सुझावमूलक पत्र संघीय स्वास्थ्य मन्त्रीज्यूलाई
हालै संघीय स्वास्थ्य मन्त्रीज्यूको सार्वजनिक रूपमा गरिएको गुनासो – "जिल्ला तथा पालिका तहमा MBBS डाक्टर पठाउन सकिएन" – एकदमै गम्भीर, चिसो तर सचेतनाले भरिएको अभिव्यक्ति थियो। यस्तो गुनासो एक आम नागरिक वा स्तानिय नगर प्रमुख वा स्वास्थ्यका प्रशासकले गर्दा त ठिकै हुन्थ्यो, तर देशको स्वास्थ्य नीति निर्माण गर्ने र मन्त्रलयको पनि मुख्य मन्त्रालयको नेतृत्वकर्ताले यस्तो भन्नु यो पिडा दायी विषय हो।
समस्या डाक्टरको संख्याको हैन भन्ने कुरा त हजुरकै अभिव्यक्ती बाट प्रस्ट हुन्छ, “डाक्टर पठाउन सकिएन” समस्या डाक्टरलाई कसरी उत्पादन गर्ने, कसरी उपयोग गर्ने, र राष्ट्रकै माटो सुहाउने जनशक्ति विकास कसरी गर्ने भन्ने सोंचको अभाव हो। अतः मन्त्रीज्यू, हजुर युवाहो म जस्ता युवाको सुझाव लिंदा फरक पर्दैन हजुर लाई राम्रै गरि चिनेका छौं हजुरमा केही गर्ने हुटहुटी छ। गुनासो गरेर होइन, गुनासो अन्त्य गर्ने नीति बनाएर देशलाई बाटो देखाउनुस्। त्यसका लागि केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु:
१. स्थानीय स्थायी जनशक्तिलाई एमबीबीएस पढाउने र सेवा बन्धनमा राख्ने नीति ल्याउनुस्
- स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्थायी हेल्थ असिस्टेन्टलाई सरकारले एमबीबीएस पढाउने व्यवस्था गरोस्।
- तर यो सेवा सर्तसहित होस् – कम्तीमा ६० वर्षको उमेर हदसम्म सेवा गरोस, सरकारले वृती विकासको भरपुर अवसर प्रदान गरोस, विदेश वा कतै जान नमिल्ने, र सेवा अवधिभर स्थानीय तहमै काम गर्नुपर्ने निति ल्याउनु होस।
- यस्तो नीति ल्याउन सक्नु भए डाक्टरको अभाव र दुर्गमको समस्या स्थायी रूपमा समाधान हुन्छ।
यस्ता डाक्टरहरूले समुदाय बुझ्ने, त्यही माटोमा हुर्केको हुनाले जनताको विश्वास जित्ने क्षमता राख्छन्।
२. स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने आधार हुन्छ
- स्थानीय तहमै डाक्टर उपलब्ध हुँदा बिरामीहरू फिल्टर भएर मात्र दोस्रो र तेस्रो तहका अस्पताल पुग्नेछन्।
- यसले टर्शरी लेवलका अस्पतालमा भीड कम गर्छ, र बीमा दाबी गर्नेहरू लाई पनि सहज रुपमा सेवा लिने वातावरण सिर्जना हुन्छ।
- यसले बीमा कार्यक्रमको दीर्घकालीन सफलतालाई सुनिश्चित गदर्छ।
३. डाक्टर मात्र होइन, समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न फाइदा पुग्दछ
- यस्ता डाक्टरहरूबाट अन्य स्तानिय स्वास्थ्यकर्मीहरूले पनि शिप सिक्ने मौका मिल्छ।
- स्थानीयस्तरमा जटिल केसहरू छानबिन गर्न सकिने हुँदा नर्सहरूको क्लिनिकल निर्णय क्षमता बढ्छद।
- अन्य जनस्वास्थ्यका गतिविधिहरु (खोप सेवा, सुरक्षित मातृत्व सेवा, पोषण, परिवार नियोजन, नसर्ने रोग व्यवस्थापन आदि कार्यक्रमहरुलाई सुदृढ बनाउने आधार तयार हुन्छ।
४. स्कलरशिपका डाक्टर विदेश पलायन हुनु: राष्ट्रघात होइन र?
- देशले आफ्नो नागरिकलाई जन्मेदेखि नै निःशुल्क सेवा दिइरहेको हुन्छ – गर्भ जाँच, सुरक्षित सुत्केरी, ५०औ हजारको खोप, पोषणलेखा जोखा , बालस्वास्थ्य, शिक्षा, सबथोक। त्यसपछि लाखौंको स्कलरशिपमा MBBS पढाउँछ, अनि ती जनशक्तिहरू केही वर्ष सेवा गरे जस्तो गर्ने अनि विदेश पलायन हुने – के यो न्यायोचित हो?
- स्कलरशिपमा पढेकाहरूले कम्तीमा आफु ६० वर्षको हुने बेला सम्म देशभित्र सेवा गर्नुपर्छ भन्ने नीति आवश्यक छ।
- अन्यथा, राष्ट्रले लगानी गरेर जनशक्ति उत्पादन गर्ने र विदेशलाई निःशुल्क निर्यात गर्ने नीतिमा मुलुकको अस्तित्व संकटमा पर्छ।
५. निजी लगानीमा पढेका जनशक्तिमा पनि दायित्वको भावना जगाउनुपर्छ।
- निजी मेडिकल कलेजबाट एमबीबीएस गरेका चिकित्सकहरू पनि राष्ट्रप्रति उत्तरदायी हुनुपर्छ।
- यो देशको संवेदनशील अवश्था र संक्रमणकालिन राजनैतिक अवश्थाको बिचमा राज्यको नीति यस्तो हुनुपर्छ, जसले निजी लगानीकर्तालाई पनि सामाजिक जिम्मेवारीमा बाँधोस्।
६. नीति बनाएर नेतृत्व गर्नुस्, गुनासो गरेर होइन
- मन्त्रीज्यू, तपाईंको हातमा नीति बनाउने शक्ति छ। अहिलेको आवश्यकता नीति, प्रतिबद्धता र कडाइ हो।
- स्थानीय तहबाटै राष्ट्रको स्वास्थ्य समृद्धि शुरू हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै स्थायी समाधानका लागि योजना बनाउनुहोस्।
अन्ततः, मन्त्रीज्यू,
देशले आफ्ना छोराछोरी उत्पादन गरेर विदेशमा श्रम गराउन होइन, आफ्नै नागरिकलाई आफ्नै देशमा राखेर स्वास्थ्य सेवा दिने राज्यको कर्तव्य तपाईंले सम्झनुपर्छ। हामीलाई डाक्टर, नर्स र दक्ष जनस्वास्थ्यकर्मी चाहिएको हो, जस्ले देशलाई प्रेम गरोस्, राष्ट्रभक्त जनशक्ति होस साथै आफ्नै माटोको सुगन्धमा सेवा गर्ने संकल्प लिएको होस्।
( एक निष्ठावान स्थानीय स्वास्थ्यकर्मीको आवाज, मन्त्रीज्यूलाई सुझाव स्वरूप)