काठमाडौं – पुरुष स्वास्थ्यबारे गरिएको पछिल्ला अध्ययनहरूले पुरुष प्रजनन प्रणालीमा गम्भीर संकट देखा परेको चेतावनी दिएका छन्। वैज्ञानिकहरूका अनुसार पुरुष विकासका लागि अत्यावश्यक मानिने वाइ क्रोमोसोम क्रमशः कमजोर हुँदै गएको छ भने शुक्राणुको संख्या र टेस्टोस्टेरोन स्तर समेत घट्दो क्रममा देखिएको छ।
वाइ क्रोमोजोम, जसले पुरुषलाई महिला भन्दा फरक पार्ने भूमिका खेल्दछ, विगत १६६ मिलियन वर्षदेखि क्रमिक रूपमा जीन गुमाउँदै आएको वैज्ञानिकहरूले जनाएका छन्। हाल वाइ क्रोमोजोममा मात्र ५५ वटा जीन बाँकी छन्, जब कि एक्स क्रोमोसोममा ९०० भन्दा बढी जीनहरू पाइन्छन्। वैज्ञानिकहरूको अनुमान अनुसार यिनै गतिको निरन्तरता रहेमा आगामी ११ मिलियन वर्षभित्र मानव वाइ क्रोमोजोम पूर्ण रूपमा हराउन सक्छ।
तर वैज्ञानिकहरूलाई अझ गहिरो चिन्ता अहिले देखिन थालेको स्वास्थ्य समस्याप्रति हो। अध्ययनहरू अनुसार ५० वर्षपछि धेरै पुरुषका रक्तकोशिकामा वाइ क्रोमोसोम हराउन थाल्छ – जसलाई ‘मोजेक लस अफ वाइ’ भनिन्छ। ८० वर्ष पार गरिसकेका ४०% पुरुषमा यो अवस्था देखिएको छ। स्वीडेनमा गरिएको एक अध्ययनमा वाइ हराएका पुरुषमा मुटुरोग, क्यान्सर र अल्जाइमरको जोखिम उल्लेखनीय रूपमा बढी पाइयो।
यसको पुष्टि मुसामा गरिएको प्रयोगले पनि गरेको छ। भर्जिनिया विश्वविद्यालयका वैज्ञानिकहरूले वाइ नभएका रक्त स्टेम सेल भएका मुसाहरूमा हृदयको असफलता र प्रारम्भिक मृत्यु भएको देखे। यसैबीच, वाइ क्रोमोसोममा रहेको यु.टी वाइ नामको जीन प्रतिरक्षा प्रणालीसँग जोडिएको पाइएको छ र यसको अभावमा क्यान्सर समेत द्रुत गतिमा विकास भएको देखिएको छ।
शुक्राणु संख्यामा तीव्र गिरावट
प्रजनन क्षमतासँग सिधा सम्बन्ध राख्ने शुक्राणुको संख्या पनि उल्लेखनीय रूपमा घटेको छ। २०१७ मा प्रकाशित अन्तर्राष्ट्रिय अध्ययन अनुसार १९७३ देखि २०११ सम्म उत्तर अमेरिका, यूरोप, अष्ट्रेलिया र न्यूजिल्याण्डका पुरुषहरूमा शुक्राणुको सान्द्रता ५२ प्रतिशत र कुल संख्या ५९ प्रतिशतले घटेको पाइयो।
अनुसन्धानकर्ता डा.हागाइ लेविनका अनुसार अहिले धेरै पुरुषको शुक्राणु सान्द्रता प्रति मिलिलिटर ४० मिलियन भन्दा कम रहेको छ, जुन स्तरमा गर्भधारणको सम्भावना अत्यन्तै न्यून हुन्छ। यद्यपि दक्षिण अमेरिका, एसिया वा अफ्रिकामा यस्तो गिरावट देखिएको छैन।
टेस्टोस्टेरोन स्तरमा पनि गिरावट
यससँगै, पुरुष हर्मोन टेस्टोस्टेरोनको स्तर पनि पछिल्ला दशकहरूमा स्थिर रूपमा घटिरहेको अध्ययनहरूले देखाएका छन्। म्यासाचुसेट्समा गरिएको अध्ययन अनुसार १९८७ देखि २००४ सम्म प्रत्येक वर्ष औसत १ प्रतिशतले गिरावट आएको थियो। यो गिरावट उमेर, स्वास्थ्य वा जीवनशैलीको कारण मात्र नभई वातावरणीय प्रदूषण, मोटोपना, रासायनिक पदार्थहरूसँगको सम्पर्क तथा व्यायामको कमीका कारण पनि हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ।
कारण र समाधान
अनुसन्धानकर्ताहरुले हर्मोन बिगार्ने रसायन (जस्तै बि,पि.ए, फथलेट्स, कीटनाशक), वातावरणीय तापक्रममा वृद्धिको असर, गर्भावस्थामा भएका प्रभाव र आधुनिक जीवनशैलीलाई प्रमुख कारण मानेका छन्।
डाक्टर ह्यारी फिशका अनुसार, ‘शुक्राणुको गिरावटको पछाडि ग्लोबल वार्मिङले समेत भूमिका रहेको हुनसक्छ।‘
यद्यपि यस्ता समस्याबाट जोगिन सकिने उपायहरू पनि छन्। विशेषज्ञहरूले धूम्रपान नगर्ने, रासायनिक तत्वहरूबाट बच्ने, स्वस्थ आहार, व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापनजस्ता उपायहरू अपनाउन सुझाव दिएका छन्।
वर्तमानमा मुटुमा वाइ क्रोमोसोमको अभावले पारेको असरलाई नियन्त्रण गर्न एण्टिफाइब्रोटिक औषधिको परीक्षण भइरहेको छ भने क्यान्सर उपचारमा वाइ क्रोमोसोमको स्थिति हेरेर उपचार विधि छनोट गरिन थालिएको छ।
भविष्यप्रतिको चिन्ता र आशा
वैज्ञानिकहरू भन्छन्– दीर्घकालीन रूपमा विकासक्रमले मानव जातिलाई वाइ क्रोमोसोम बिना पनि टिक्न सक्ने वैकल्पिक उपाय दिन सक्छ। जापानी स्पिनी र्याटको उदाहरणले यस्तो सम्भावना रहेको देखाएको छ, जसले वाइ क्रोमोसोम बिना नै प्रजनन गर्न सक्षम भएको प्रमाणित भएको छ।
तर, त्यो भविष्यको कुरा हो। अहिले भने पुरुषहरूको स्वास्थ्यका लागि वाइ क्रोमोसोम हराउँदै जानु, शुक्राणु र हर्मोन स्तरमा गिरावट हुनु जस्ता समस्या गम्भीर चुनौतीका रूपमा देखा परेका छन्।
‘आधुनिक वातावरण र जीवनशैलीले जनस्वास्थ्यमा पारेको असर व्यापक छ, तर अझै पूर्ण रूपमा बुझिएको छैन,’ डा.लेविनले चेतावनी दिएका छन्। ‘तर हरेक पुरुषले स्वास्थ्यकर जीवनशैली अपनाएर यो गिरावट कम गर्न सक्छन्।‘